२०७८ साउन १८ गते | 2nd of August 2021

म किन प्रेममा परिन ?

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १७ गते १०:४३

– लक्ष्मण सिटौला

मैले जिन्दगीमा आफुले आफैलाइ सबैभन्दा धेरै सोधेको एउटा प्रश्न -” म किन प्रेममा परिन” ?

अरुले पनि मैले जस्तै आफुलाइ यस्तो प्रश्न सोध्लानत? आखिर ममा के छैन त्यस्तो जस्का कारण तरुण केटीहरुले मलाई हेर्दैनन? मेरो कम्जोरी के हो ? म किन माया पाँउदिन ? प्रेममा पर्नु आफैमा खुसी प्राप्त गर्नु हो । प्रेममा पर्नु आफैमा सुखानुभुति हुनु हो । प्रेममा पर्नु आफू भित्रको दीयालो बल्नु हो जस्ले कसैलाई अपनत्वको सिरानी दिन्छ।

तपाईं लाई पनि अचम्म लाग्यो होला है यो एउटा अनौठो प्रश्न।
म किन प्रेम बाट बन्चित भए ? म कसैको मायाको योग्य किन भैन ? मायाको लागि योग्यता के हो ? आखिर के भयो भने माया हुन्छ? किन मैले कुनै नारीको माया पाइन? मेरो कुन शारीरिक अवयवले काम गरेको छैन? मेरो कुन इन्द्रेणीले काम गरेको छैन? जस्को रंगमा एउटा कलेवर कम छ ! म सग सम्पुस्ट शरीर छ । म सग बल छ । म सग बाहु छ । म सग बीर्य छ । म सग यौनको उत्फुल्लता छ । म सग भोक छ । म सग उल्लास छ । म सग बैशाख छ । म सग माधुर्यता छ । म सग मधुमास छ । तर ! मेरो सानिध्य सन्सारमा आउदिनन कुनै नारी किन ? किन म एक्लो कैलाश भएर बाचिरहेछु अनादी देखि । प्रकृतिलाई फगत यही रह्यो मेरो प्रश्न कि – म किन प्रेममा परिन ?

यो सन्सारमा केही त्यस्ता भाग्यमानी मानिसहरू मात्रै प्रेममा पर्छन जस्को भाग्यमा हिजोको दिनमै प्रेम लेखिएर आएको थियो।

यदि तपाईं प्रेममा हुनुहुन्छ भने सन्सारका बहुत कम भाग्यमानी मान्छे मध्य तपाईं एक हुनुहुन्छ । तपाईंलाई ईश्वरको त्यो दिब्य सत्ता मिलेको छ । तपाईं आनन्दमा हुनुहुन्छ । तपाईं सुरक्षीत हुनुहुन्छ । प्रेममा हुन्हुन्छ भने तपाईं सग सबथोक छ ।
प्रेममा हुनुहुन्छ भने तपाईंको हतियार त्यही हो कि तपाईलाई सन्कटको त्यो आधी बाट बचाउने ।

प्रेममा हुनुहुन्छ भने जीवनको त्यो दिब्य आनन्द आलोकलाइ कहिले बरबाद नगर्नुस है बिन्ती ! । प्रेम त त्यो अनुकम्पा हो जस्को काखमा हिमालयको सारा उज्यालो बलेको हुन्छ । प्रेम त गोपीहरुको त्यो घर हो जहाँ गए पनि केवल त्यो मुरली मनोहर कृष्ण मात्रै देखिन्छन ।

भलै म प्रेममा नपरेर के भो त ! कमसेकम तपाईं त प्रेममा हुनुहुन्छ नि है ! तपाईंको त्यो प्रेम दीगन्त बाचोस । तपाईंको प्रेमको डोरी कहिले नचुडियोस । प्रेम मुटुको तिर्खा हो । प्रेम तृप्ती हो । प्रेम सर्वेश्वर हो । बिन्ती प्रेम नभत्काउनुस है !! म अहिलेसम्म प्रेममा परिन । कुनै दुखेसो छैन कसैप्रती । किनकि प्रेम जो कोहिलाइ मिल्दैन । जस्लाइ प्रेम मिल्छ उ पुज्यनीय हुन्छ यो धरोधाममा ।

भनिन्छ प्रेममा जे पनि जायज हुन्छ । समाजले प्रेमलाइ कहिले चाहेन र पनि प्रेमको बिरुवा ढुंगाको काप छिचोल्दै उम्रीरह्यो ।

जिन्दगीमा सबै प्रश्नहरुको उत्तर हुदैनन् । प्रेम प्रश्न होइन । प्रेम त उत्तर हो । प्रेम कहिले प्रश्न हुदैन । यदि प्रेम प्रश्न भएर आउने हो भने कोहि पनि प्रेममा पर्दैनथे । प्रेम आफै हुन्छ । प्रेम गरिदैन । प्रेम गरेर हुने भए म पनि गर्थे नि । प्रेम नदी हो । हिम नदी । नसुक्ने धारा । प्रेम धराको त्यो बाटो हो जहाँ केही भाग्यमानी मनुष्यहरु हिंड्न् पाउँछन् । तिमी हिड । तिमीलाई त्यो बर बाटो प्राप्त भएको छ । कैलाशमा परेको त्यो छायां आहा कति शीतल छ त्यो परमता त्यो परमानुभुती त्यो कमनीयता बारम्बार मिलिरहि

खुसी छौ तिमी आफ्नो प्रेममा । तिम्रो पुरुषले तिमीलाई उस्को बलिस्ठ हातले कस्दा तिमी कति धेरै मदोन्मादीत हुन्छ्यौ । पुरुषहरूको खस्रो हातले तिम्रो हातलाइ समाउदा तिमी कति धेरै पुलकित हुन्छ्यौ शायद त्यस्को अनुमान लगाउन अरुले के सक्ला ? प्रेम आनन्द हो ,आन्दोलन होइन । प्रेम बाटो हो । प्रेम मझधार होइन किनारा हो । प्रेम समर्पण हो समर्थन होइन ।..

म असुरोको फूल जस्तै कहिले कतै कुनै भगवान लाई चढ्न सकिन । खोइ के छ ममा कमजोरी ? म हेर्न सक्तिन सिदा परेलीले कुनै स्त्री नजरमा । म आखामा आँखा जुदाउन सक्तिन । म स्वरमा स्वर मिलाउन सक्तिन । बोलाउने हिम्मत हुदैन । म भित्र जवानीको ज्वरो छ । तातो छु म । यो बैशाखको उभार उर्वर उर्जा म रोप्नु चाहन्छु र उम्रोस टुसा मायालु धरामा । जवानीको ज्वरोले धेरै पोल्दोरहेछ । एउटा बैँस जो म भित्र फुलेको छ गुल्जार छ बन हरियो छ पात पत्र फुलारु । प्रेमको यो बाटो कहिले अन्त नहोस ।
जीवन अन्त हुन्छ । जिन्दगी अन्त हुन्छ । भौतिक प्रपन्च सारा अन्त हुन्छ । तर अन्त हुदैन प्रेम। प्रेमत त्यो चौतारी हो जो हिजो कसैले चिन्हेको थियो आजकाले छायां लिदैछन ।

म निर्जर एकान्तको बर भएर उभिएको धेरै भो । उभिरहने सामार्थ्य थाहा छैन कहिलेसम्म रहला । म सगै पिपलु भएर उभिने सामर्थ्य कस्ले राख्छ ? खोजिरहेको छु त्यो पवित पावन झन्कार झुमझुम स्पर्श सम्बोधिता म प्रती । आउ सपना भएर आउ । आउ गीत भएर आउ । आउ जित भएर आउ । मेरो तातोमा मिसिन आउ । पग्लिन आउ । मातमा मात्तिएर आउ। उभार थमाउन आउ । तिम्रो कलकल कलेवर कल्लोल कुमुदिता म थाम्छु आउ एक फेर आउ । आखामा कैलाश र मुटुमा गोसाइँकुण्ड लिएर आउ ।
आउ एक बिहान भएर आउ । आउ जुनेली रात भएर आउ ।
हराभरा सल्ला सतिसाल र धुपी भएर आउ ।

प्रेम त्यो दौलत हो जस्को प्राप्तिका लागि यहाँ अनन्त दौलत खर्चिनेहरु धेरै हुन्छन तर प्रेम बिना दौलत मुटुको आगनीमा र आखाको ढकनीमा आइदिन्छ । यसै आइदिन्छ । लेकमा बिहानै शीत परेजस्तै । प्रेम त त्यो सिद्दी हो जहाँ सबै कुरा प्राप्ती हुन्छ ।
प्रेम देवस्थल देवालय हो । जहाँको एक झोक्का हावा पनि पवित्र हुन्छ ।प्रेम आरती हो । प्रेम मुटुको चिराग हो । प्रेम प्रार्थना हो ।
प्रेमत पुजा हो । कैलाश बाट उठेको बादल जो नीर्मल आकाश छुन जादै

ममा शीत परेन । म मा जुनकीरी उज्यालो लागेन । म प्रेममा परिन । प्रेम केहो प्रेम कस्तो हो मैले महसुस गरिन । मलाई लुक्लाको फागदिनमा बहने चिसो बतासले छोयो , मलाई पाँचथरको बनभित्ताहरुमा हासेको गुराँसले छोयो , मलाई दरौदीको कन्चन पानीले भिजायो । मलाई भोजपुरको हेलौछामा परेको इन्द्रधनुले बोलायो। मलाई डाेल्पाको जुफालले हसायो तर मलाई सोलुखुम्बुकि सोताङ्गे नानीले फर्केर हेरिनन्।

मैले दुख मानेको छैन किनकि मेरो भाग्यमा प्रेम लेखिएको छैन । पथ्थरले यहाँ देउता बनेर मन्दिरमा बस्न पाँउदा म मान्छे एउटा खुला कटेरामा चिसोले जमेर बसेको छु । मेरो गरिबी मेरो प्रेमको बाधक । मानिसहरू मानिसलाई होइन पैसालाई प्रेम गर्छन । मानिसहरू नीर्मल हिर्दयलाइ होइन तातो जवानीलाइ प्रेम गर्छन । मानिसहरू इज्जतले उभिएको फूलको बोटलाई होइन फूललाइ मात्रै हेर्छन ।

फूलको बोटले सहेको सुर्यको जलन र हिउदे शीत लहरलाई मानिसहरू बुझ्दैनन । उनीहरूको दृस्टी केवल फूलको शौन्दर्यमा केन्द्रीत हुन्छ । तर म त्यस्तो फूल हु जस्मा शौन्दर्यत छ तर सुगन्ध छैन । मानिसहरू सुगन्ध खोज्छन । आजको मानिस वासना खोज्छ । म बासना होइन । म सुवासना हु । मलाई चाहिन्न भो कोहि मान्छे । मलाई सन्खुवासभाको मादी र आखीभुइ भए पुग्छ । मलाई दुहबीको सोनापुर र रामेछापको हिमगङ्गा भए पुग्छ
मलाई अब प्रकृतिको त्यो रसना भए पुग्छ । मलाई केटीको परेली होइन गोरखा आजिरकोटको हम्शपुर र बिरिन्चोक भए पुग्छ । मलाई अब कोहि सुन्दरी चाहिन्न सधैं कलकल बगिरहने बुढीगन्डकी र दरौदी भए पुग्छ । मलाई प्रकृति फूल जो सधैं हिमाल वरिपरि फुल्छ त्यही भए पुग्छ ।

प्रेममा जव जित छ भने हार पनि छ । म पनि प्रेममा छु प्रकृति प्रेममा । यो उल्लास उत्फुल्लता मैले हिमालय बाट बगि आएको हिउँ शीतमा मात्रै पाए । मैले आनन्द बिहानी किरणमा मात्रै पाए । मैले आनन्द लम्पसार सुतिरहेकी पहाडको छातीमा पाए । मैले आनन्द झर्नाको झरझरमा पाए । मैले आनन्द कुनै देवीको मन्दिरमा सबेरै बज्ने घण्टीको प्रध्वनीमा पाए । मैले आनन्द सबेरै पहाडको झ्याल बाट फाल हाल्ने कल्लोल किरणमा पाए ।

म अलिकति पागल छु । शायद रारा तालमा कराउँदै हिड्ने हिउँ चरी पनि म जस्तै पागल छे । शायद जुनेली आकाश पागल छ होला ।

सबै पागलहरु एक्लै एक्लै हुन्छन । म पागल र पो त म पनि कसैको प्रेममा परिन । म उफ्रदै हिंड्छु पहाडी तरेलीमा । उदासी रुख भएर बाच्दिन म कहिले पनि । म स्थिर छैन । बादलले छोप्ने जुन जस्तै एक जुन हु म आफ्नै आकाशको ।

म उदास जुन पनि होइन । म हरेक प्रहरमा देउरालीबाट बहने चिसो हावा जो संखुवासभाको चैनपुर हुँदै खादबारी तिर धावा बोल्छु । म सोलुको खुम्जुङ्गमा मारुनी नाची हिड्ने मनुष्य हु । म मुन्धुममा रमाउने कुनै यलम्बर हु । सुम्निमाहरु रमाइरहुन हिमाल हेरेर यो सुम्निमाको देश हो , यो पारुहाङ्गको पहाड हो । भैगो पारु भलै मलाई माया नगरे नगर तर अवश्य तिमी सगै बिहान ब्युझिने यी पहाडहरुलाइ सधैं सधैं माया गर है !!

( २०७५/०३/१६ होटेल कोर्टयार्ड ,म्यारीट । मौसाबिन नुसाइर रियाद )

Leave a Reply

Your email address will not be published. Required fields are marked *