२०७८ माघ ९ गते | 23rd of January 2022

नेकपाको अचल सम्पत्ति तीन अर्ब, कहाँ कति ?

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १८ गते ८:२९

काठमाडौं – सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ।

तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो।

नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल-अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल-अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्र्णबहादुर थापाले बताए।

‘दुवै पार्टीका चल-अचल सम्पत्ति नेकपाको नाममा ल्याउने केन्द्रीय समितिको निर्णयका आधारमा अहिले त्यस्तो सम्पत्तिको लगत संकलनको काम प्रदेशस्तरमा पार्टी एकीकरण गर्न गठित कार्यदलले गरिरहेको छ,’ थापाले भने, ‘त्यस्तो सम्पत्तिको लगत हामीले हाम्रो प्रदेशमा भने करिब सकेका छौं।’

चलअचल सम्पत्तिको अहिले लगत संकलन गर्ने र तल्लो तहसम्म पार्टी एकता भएसँगै त्यसलाई नेकपाको नाममा स्थानान्तरणको काम हुने उनले बताए।

काठमाडौं उपत्यकाभित्रै नेकपाका ठूला भवन, कार्यालय र जग्गा रहेका छन्। पेरिसडाँडामा पूर्वमाओवादीको मजदुर संगठनको नाममा रहेको २ रोपनी जग्गामा बनेको दुईवटा भवन, पूर्वएमालेको बल्खुमा नौ रोपनी एक आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौं रानीबारीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छन्।