२०७८ वैशाख ८ गते | 21st of April 2021

असोजमा राजधानीमा आर्थिक विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २२ गते २:१७

काठमान्डौं – डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा राजधानीमा असोज तेस्रो साता अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी असोज १८ र १९ गत इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक डेभलपमेन्ट विषयक २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत सहकार्य रहनेछ ।

सम्मेलनले टीभीईटी क्षेत्रमा भइरहेका कार्यका बारेमा छलफल गर्नुका साथै इन्जिनियरिङ क्षेत्रका उत्कृष्ठ उपलब्धीको अवलम्बन, सफल मोडलहरुको आदानप्रदान गर्ने डिनका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कामेश्वर प्रसाद सिंहले बताए । यसले राष्ट्रिय, क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै गुणस्तरीय विकासका लागि सम्बन्ध विस्तार गर्ने सिंहको भनाइ छ । सम्मेलनले विश्वका पछिल्ला प्रविधि र प्राविधिक उत्पादन विकास र विकास निर्माणको शैलीप्रति जागरुकता फैलाउनुका साथै सकारात्मक प्रतिस्पर्धा निम्त्याउने आयोजकको विश्वास छ ।

सम्मेलन मार्फत विभिन्न मुलुकमा सिटिईभिटीको माध्यमबाट भइरहेको सामाजिक आर्थिक विकासका बारेमा जानकारी गराउने तथा एक आपसमा सहयोग र ज्ञानको आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनले सामाजिक, आर्थिक क्षेत्रमा गुणस्तरीय विकासको मापदण्ड निर्माण गर्ने डिनका महासचिव जीवन घिमिरेले पत्रकार सम्मेलनमा बताए । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० मुलुकका ५० जना, र नेपालका गरी ५ सय जनाको सहभागिता रहनेछ । सम्मेलनमा टेक्निकल भोकेसनल एजुकेशन एन्ड टे«निङ विषयमा २० देशका अनुभव आदानप्रदान सहित २५ भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन् । छलफल तथा प्यानल डिस्कसनबाट निस्केका निचोडहरु समेटेर घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न हुने अध्यक्ष सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *