२०७८ जेठ ३० गते | 13th of June 2021

रंगाशाला होईन, धर्मशालाहरु बनाऊ धुर्मुस

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २५ गते २३:०३

-मणी भट्टराई

३ अर्ब = ३०० करोड
३०० करोडको १०% ले बर्षको ब्याज = ३० करोड
अथवा ३ अर्बको १०% ले प्रतिमहिनाको ब्याज = २ करोड ५० लाख
यति पैसा दिन दु:खी र गरीबको लागि हरेक महिना खर्च गर्नु हो भने ? तीस अरबको ब्याज बर्षको ३० करोड धुर्मुससुन्तली फाउन्डेसनले हरेक बर्ष असहाय बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्च गर्नु हो भने ? यो पैसा दार्चुला जानु हो भने ? रूकुम जानु गो भने ? संखुवासभा जानु हो भने ?

हेर्नुहोस् । मेरो कुरा तपाईंलाई मन नपर्ला । तर हामी मध्यमबर्गमा गनिन्थ्यौं । गुलिडन्डा खेल्ने फुर्सद हामीलाई भएन । कि त घाँस काट्यौं, कि त किताब समायौं । दाउरा घाँस र पानी गर्दै मुस्किलैले स्कूल जान सक्यौं हामी । हामी माथिका दिदीहरूले पढ्न पाउनु भएन । हामीलाई त खानलाऊन पुग्ने भन्थे । खान नपुग्नेले मुस्किलैले खान पुर्याऊनेलाई धनी भन्थे । यसर्थ हामी धनी थियौं धेरैका नजरमा । माओवादीले त क बर्ग मै राख्यो । तर हामीलाई खेल्ने फुर्सद थिएन । अब विचार गर्नुहोस् हामी भन्दा तलको स्थिति हुनेको अवस्था कस्तो थियो ? कस्तो छ होला ? अनि कसरी धुर्मुससुन्तली देशको नाम राख्ने नाममा एक्कासी इलियट बर्गको मनोरन्जनको निम्ति तिनै पढ्न नपाएर, उचित शिक्षाबाट बन्चित सोझासिधाका छोराछोरीहरूले दुख गरिरहेको ठाऊँमा गएर ऊनिहरूको दुख माथि नै व्यंग्य गरेर ऊनिहरूसँग नै तीन अरब उठाएर रंगशाला बनाउने सपना देखिरहेछन् ?

सुन्तली सहरबाट भए पनि धूर्मुस त गाऊँबाटै आएका हुन् नि ! धूर्मुसले कसरी गाऊँ विर्से यति चाँडै ? मुसहर बस्ती बनाएपछि देशबाट गरीब दीनदुखीका समस्याहरू खोजे पनि नभेटिने भएका हुन् ? यो महिनाको दुई करोड पचास लाख अर्थात् बर्षको तीस करोड ब्याजले बरू त त्यो ऊनले रंग्याएको वीर अस्पतालमै गरीबको उपचार गर्नु हो भने पनि कति असहायहरूको मृत्युको कालो छायाँ पोतिएको अनुहारमा जीवनको चमक भरिंदो हो ? पहिला जीवन अनि मनोरन्जन ।

मलाई तपाई जति कन्भिन्स गर्नुहोस् म हुनेछैन । म जहाँ भए पनि म गाऊँको धुलोमाटो हुँ । म गाऊँ सम्झँदै सहरका भवनहरू हेरेर आँसु खसाऊँदै हिंडेको युवक हुँ । मलाई थाहा छ – रंगशाला बनाऊन सहयोग दिने बेला अलि भएको छैन । दिऊँला तर पहिले गरीबका आँशु पुछौं । राम्रो विधालयको व्यवस्था गरौं । रंगशाला बनाउने पैसाले प्रत्येक महिना दुई करोड पचास लाखका कम्प्यूटर किनेर गाऊँका स्कूलमा बाँड्नुहुन्छ धुर्मूससुन्तली ? तीस करोडमा लाख रूपयाँ प्रतिगोटाका कम्प्युटरहरू पनि तीन हजार आऊने रहेछन् । त्यो पनि प्रत्येक बर्ष तीन हजार कम्प्यूटर गाऊँका स्कूलहरूमा । विश्वसँग प्रतिस्पर्धा गर्ने तरीका यो हो कि गुलिडन्डा हो ? त्यतिको शिक्षित देशको हाँस्य कलाकार भएर छातीमा हात राखेर भन्नुहोस् त कुन बाटो अघि बढे देशलाई संसारमा चाँडो चिनाऊन सकिन्छ ? मलाई खेल खेल्न नपाएर म तल परें भन्ने अझै पनि छैन । मेरा बाआमा र मेरो देशले मलाई खेल खेल्न नदिएर मेरो हालत यस्तो भएको हो भन्ने पनि छैन । तर अझै पनि मलाई गुणस्तरीय शिक्षा हाँसिल गर्न नसकेकोमा अफ़सोस छ । म यसर्थ यो बोलिरहेको छु । पुस्तकालय खोल्नुहुन्छ ? त्यसो भयो भने मेरो पूर्ण समर्थन साथ र सहयोग हुनेछ ।

१. गाऊँहरू कति धेरै आइपुग्छन् भरतपुर ?
२.भरतपूर आएर स्टेडियम कति गाऊँलेले चिहाऊँछन् ?
३. कतिले खेल्ने अबसर पाऊँछन् ? कतिले हेर्ने मौका पाऊँछन् ?
४.कुन टिमले जित्दा कस्को कसौंडीमा भात छड्किन्छ ? कस्का छोराछोरीलाई ट्युसन खर्च लाग्दैन ?
५. खेल हेर्न आऊँदा भाडा कुन सरकारले तिरिदिन्छ ? भोक लाग्दा खाजा कुन फाउन्डेसनले खुवाऊँछ ? चिया कस्ले दिन्छ ? सबै नेपालीको गौरबको बिषय भनेको होइन ? सबैको रहेछ त ?
६. बरू त्यो पैसाले काठमाडौमा माइक्रो र बसमा पैसा उठाएर जीविकोपार्जन गर्ने स्कूल नगइरहेका कयौं नाबालक धूर्मुसहरूको उद्गार गरेको भए पनि राम्रो हुँदैन थियो त ?

यस्ता कुरा कति छन् कति ! सहयोग मागेर क्रिकेट मैदान बनाऊने कुरामा चाहिं मेरो सदैव तीब्र असहमति छ । यो मेरो धारणा हो । रंगशाला बनाउनै परे बरू सेयर बेचेर बनाएको भए के फरक पर्थ्यो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *