२०७८ जेठ ३० गते | 13th of June 2021

कृषिमा रोजगारीका सम्भावित योजना नहुँदा युवा किसान विदेशिदै

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २३ गते ७:१६

अनलाइनगएको वैशाखको अन्तिमतिर घर फर्किएका बैतडीको सिगास गाउँपालिका(९ का लोकेन्द्रबहादुर धामी रोजगारीका लागि पुनःभारत नै फर्कँदै हुनुहुन्छ ।

चार महिनासम्म गाउँमा बस्दा कुनै काम नपाएपछि गुजारा गर्नै धौधौ भएको र फेरि भारत नै फर्किन बाध्य भएको उहाँ बताउनुहुन्छ । ‘गाउँमा चार महिनासम्म केही काम पाइएन’ उहाँले भन्नुभयो– ‘बेरोजगार बस्दा परिवार पाल्न समस्या हुन थाल्यो । त्यही भएर पुरानै काममा जान लागेको हुँ ।’

उहाँ पाँच वर्षदेखि भारतको दिल्लीमा सुरक्षागार्डको रुपमा काम गर्दै आउनुभएको छ । कैलालीका डबलबहादुर दमाईलाई भारत जान मन छैन । तर नेपालमा नै बसेर काम गर्ने उहाँसँग विकल्प पनि छैन । कोरोनाको जोखिम बढेपछि गाउँमै केही गर्ने लक्ष्यसहित उहाँ गएको फागुनमा स्वदेश फर्कनुभएको थियो ।

तर घर फर्किएको ६ महिना बितिसक्दा पनि उहाँले रोजगारीको कुनै विकल्प भेट्नु भएन । र पुरानै कामका लागि भारत जाने सोच बनाउनुभयो । डबलबहादुरको परिवारमा १० जना सदस्य हुनुहुन्छ । १० जनाको परिवार धान्न खेतीपातीले सम्भव नभएपछि उहाँ कामका लागि फेरि भारत नै फर्कन लाग्नुभएको हो ।

डोटीको घाङलका वीरबहादुर साउद र बझाङको केदारस्युँ गाउँपालिकाका भरत विष्टको बाध्यता पनि यस्तै छ । कोरोनाको त्रासले गाउँ फर्किएका उहाँहरु अहिले बेरोजगार हुनुहुन्छ । गाउँ बसेको ५, ६ महिनापछि पनि केही विकल्प नभेटिँदा उहाँहरुलाई बिहान बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता बढेको छ । छाक टार्नै समस्या हुने थालेपछि उहाँहरुले पनि रोजगारीका लागि भारत नै फर्किने निधो गर्नुभयो ।

स्थानीय सरकार बलियो नबन्दा कामका लागि भारत नै जानुपर्ने बाध्यता

कोरोना भाइरसको जोखिम बढेपछि कामका लागि भारत गएका धेरै युवा धमाधम घर फर्किए । युवाहरु धमाधम गाउँ फर्किन थालेपछि सरकारले पनि अब कृषिमा क्रान्ति गर्न सकिने भन्दै आशा लाग्दा सपना देखायो ।

केही होला कि भनेर अरु युवा पनि गाउँ फर्किए । तर सरकारले भनेजस्तो गर्न सकेन । यस्तो बेला स्थानीय सरकार बलियो नबन्दा कृषिमा देखिएको सम्भावना बिस्तारै सेलाउँदै गएको छ ।

कृषि अर्थविद् डाक्टर देवेन्द्र गौचन महामारीको यस्तो बेला कृषिमा धेरै सम्भावना नै सम्भावना रहेको बताउनुहुन्छ । तर स्थानीय सरकारले यतिबेला युवा लक्षित योजना र कार्यक्रम नल्याउँदा उनीहरु बेरोजगार बन्नु परेको छ ।

कोभिडको डरसँगै स्वदेश फर्किएकाहरुको तथ्याङ्क संकलन गरी पालिकाहरुले योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ ।

धेरैजसोको पर्याप्त खेतबारी नहुनु, भएका खेताबारीमा पनि सिँचाइ सुविधा नहुनु, व्यवसायिक खेती गर्नका लागि आवश्यक पर्ने रकम नहुनु जस्ता कारण धेरै युवा विदेश जान बाध्य छन् ।

यस्तो बेला युवालाई लक्षित गरी सहुलियत ऋण, वैकल्पिक पेशा र व्यवसायिक कृषि तथा पशुपालनका लागि सम्बन्धित पालिकाले सहयोग गरेको भए युवा बाध्य भएर भारत जानु नपर्ने र उनीहरु गाउँमा नै टिक्ने कृषि अर्थविद् डाक्टर गौचन बताउनुहुन्छ ।

कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको यस्तो बेला टिकाइरहने र टिकिरहने एक मात्र विकल्प कृषि नै हो । तर यसबारे न सङ्घीय सरकारले चासो देखायो न त स्थानीय सरकारले नै । न त पालिकाले सीप र तालिम दिन चासो राखे न अवश्यकताअनुसार कृषि प्राविधिकको व्यवस्था गर्न नै । यी सबै कारण कृषि क्षेत्र उठ्न सकेन ।

बाँझो रहेका धेरै जग्गा जमिनमा खनजोत भए पनि व्यवसायिक खेती हुन सकेको छैन । पुँजीको अभाव र बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋणको व्यवस्था नहुँदा गाउँ फर्किएका युवा पनि परम्परागत खेती प्रणालीमा नै अल्झिए । अनि यस्तो निर्वाहमुखी खेती प्रणालीले परिवार पाल्न नै समस्या परेपछि कमाइका लागि युवा धमाधम भारत फर्किन थाले । चाड पर्व सुरु हुँदैछ, गरे अझै सम्भावना छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै देशका धेरै ठाउँमा निषेधाज्ञा छ । यस्तो अवस्था कहिलेसम्म रहला भनेर अनुमान नै गर्न सकिने अवस्था छैन । मुख्य चाडपर्व दशैँ तिहार नजिकिँदै गरेकाले स्थानीयस्तरमा नै उत्पादन बढाउन सके आयको राम्रो अवसर हुने कृषि अर्थविद् डाक्टर देवेन्द्र गौचनको भनाइ छ ।

उहाँ भन्नुहुन्छ( ‘सबैतिर बन्द भएको यस्तो अवस्थामा ३र४ महिनामा नै उत्पादन लिन सकिने खालका कृषिबाली र पशुपालन गर्न सकिन्छ ।’ कृषि अर्थविज्ञ डाक्टर गौचनका अनुसार बाख्रापालन, लोकल कुखुरा, हावापानी अनुसारका तरकारी बाली, च्याउ खेती, बेमौसमी तरकारी लगायतका कृषि बालीबाट राम्रै कमाइ गर्न सकिन्छ ।

यस्ता खेतीका लागि लगानी पनि धेरै नचाहिने हुँदा ढुक्क भएर व्यवसाय गर्न सकिने उहाँले बताउनुभयो । ‘सबै क्षेत्र ठप्प हुँदा स्थानीयस्तरमा उत्पादन भएका यस्ता बाली त्यहीँ खपत हुन्छ’, गौचन भन्नुहुन्छ, ‘सानो लगानीमा पनि कमाइ गर्ने राम्रो अवसर भएकाले युवा आफैँ पनि यस विषयमा चनाखो बन्नुपर्छ ।’

युवा आफैँ पनि सक्रिय बन्नु पर्छ

कामका लागि भारतलगायतका देश जाने धेरैजसो युवालाई देशमा पनि केही गर्न सकिन्छ भन्ने सोच नै छैन । नेपालमा पनि सम्भावना छ भनेर सोच बनाएर काम गरे यहाँ सुनौलो भविष्य रहेको विज्ञ बताउँछन् । परम्परागत तरिकाले कामलाई निरन्तरता दिनु भन्दा त्यसलाई व्यवसायिक रुपमा अगाडि बढाएर आम्दानी बढाउन सकिन्छ ।

गाउँघरमा सजिलै पाइने बाँस, निगालोबाट डोको, मुढा, सुकुल बनाउन सकिन्छ । यस्तै, पराल, मकैको खोस्टालगायतबाट चकटी, सुकुल, गुन्द्री, सजाउने सामान लगायत बनाउन सकिन्छ । तर, यसका लागि सीप र तालिम भने सिक्न कृषि अर्थविद् डाक्टर देवेन्द्र गौचनको सुझाव छ ।

यस्तै, गाउँ घरमा पाकेका फलफूलको चाना काटेर सुकाएर राम्ररी प्याकिङ गर्न र अचार बनाउन सकिन्छ । बजारको माग बुझ्ने र त्यही अनुसारको योजना बनाएर व्यवसाय थाल्न सकिन्छ । जस्तै, जडिबुटी संकलन गर्ने, सुकाउने र त्यसलाई धुलो बनाएर बिक्री गर्नेलगायत घरेलु उद्योगका काम गर्न सकिन्छ ।

तर यसका लागि युवा आफैँ पनि सक्रिय र सचेत हुनुपर्नेमा उहाँको जोड छ । सरकारले निःशुल्क कृषिका तालिम, सीप तथा विभिन्न शीर्षकमा सहुलियत दिएकोबारे पालिकामा गएर बुझ्नुपर्छ ।

ठूलो पूँजी लाग्ने खेती लगाउन नसकिए पनि सागपात लगाएर गुन्द्रुक बनाएर बेच्न सके पनि राम्रो कमाइ हुने उहाँ बताउनुहुन्छ । नेपालसहित बाहिरी देशमा अहिले गुन्द्रुकको माग धेरै रहेकाले यसलाई पनि कमाइको बाटो बनाउन सकिने कृषि अर्थविद् बताउँछन् ।

यस्तै, हरेक गाउँपालिकामा जनसम्पर्क अधिकृतले निःशुल्क जानकारी तथा सूचना र सल्लाह सुझाव दिने गरेकाले उनीहरुसँग भेटी सल्लाह सुझाव लिन विज्ञको आग्रह छ । सानो लगानीमा नै कृषि व्यवसाय गर्न सके गाउँ घरमा नै परिवारसँग रमाई रमाई कमाइ गर्न सकिने हुँदा बेलैमा यसबारे सोच्न कृषि अर्थविद् डाक्टर देवेन्द्र गौचनको सुझाव छ । उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *