२०७८ असोज १० गते | 26th of September 2021

जनताको काँधमा जिम्मेवारी आएको छ :पूर्वराष्ट्रपति यादव

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १६ गते १४:१०

काठमाडौँ –   पूर्वराष्ट्रपति डा.रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताउनुभएको छ । विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आ-आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सबैले आ-आफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उहाँको भनाइ थियो । “अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उहाँले आ-आफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्नुभयो ।

“सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा.यादवले भन्नुभयो । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा.यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उहाँको भनाइ थियो । अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उहाँले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गर्नुभयो । “अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भन्नुभयो, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उहाँले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताउनुभयो ।

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गर्नुभयो । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *