२०७९ साउन २६ गते | 11th of August 2022

तत्काल सत्ता नछाड्ने ओलीको संकेत, व्यंग्य गर्दै ओलीले भने – ‘मेरा केही भाईहरुले लड्डु खुवाइखुवाइ गर्या रैछन्’

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १२ गते १३:४९

काठमाडौ-  प्रधानमन्त्री केपी शर्मा ओलीले  तत्काल सत्ता नछाड्ने संकेत गरेका छन्। बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले तत्काल बालुवाटार नछाड्ने स्पष्ट संकेत दिएका हुन्। ‘हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं।  यो संकल्प निरन्तर अगाडि बढ्छ। अहिले धेरै कुरा भनेर मान्छे फेरि तर्साउने कुरा गर्नु पनि ठिक छैन,’ ओलीले भने,‘अहिले यो सरकार छ। सरकार रहन्छ ।

प्रचण्ड र नेपाललाई ‘भाइहरु’को संज्ञा दिँदै ओलीले लड्डु खाँदैमा उनीहरुले केही नपाउने बताए । उनले भोलि पर्सादेखि प्रचण्ड–नेपालले आफ्नो राजीनामा माग्न सक्ने पनि बताए ।  ‘मेरा केही भाइहरूले लड्डु खुवाइखुवाइ गर्या रैछन् । लड्डु खाएछन् जित्यौँ हामीले भनेर । के जित्यौ भन्ने चाहिँ थाहा छैन’ व्यंग्य मिश्रित कटाक्ष गर्दै ओलीले भने, ‘उनीहरुलाई लड्डु खाएर के पाउँछौँ भन्ने थाहा छैन । के पाउँछन् त्यो चाहिँ मैले हेर्नु छ । मेरो विचारमा भोलि पर्सीदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’  उनले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक  समेत नरहेको बताए । पदमा रहेसम्म आफूले इमान्दार भएर देश र जनताको पक्षमा निरन्तर उही रफ्तारमा काम गर्ने ओलीको भनाइ छ ।  विकासको क्रम अघि बढिराख्या छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस्।’ उनले आफू भ्रमहरूबाट मुक्त मान्छे भएको दाबी गर्दै  सर्वोच्च अदालतको  फैसलापछि पनि दुखित नभएको आशय व्यक्त गरे। यसअघि ओली समूहका प्रवक्ता एंव परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने संकेत गरेका थिए।