२०७८ वैशाख ८ गते | 21st of April 2021

एनआरएनए उमेद्वारी समाचार होईन, प्रचारको पैसा लाग्छ

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १४ गते १५:३८

गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।

आगामी जुलाईमा हुने आंकलन गरिएको एनआरएनए अमेरिकाको निर्वाचनको लागि आकांक्षी उमेद्वारहरुको चर्चा र प्रचार फागुका रंगसरी रंगीन र छरपष्ट छन, बजारभरी । समाजसेवा गर्ने महान अभिलाषा लिएर गर्न सकिने नसकिने महत्वाकांक्षाहरु लिएर बजार निस्केका वा निस्कने उमेद्वारहरु केही न केही बाहानामा आफ्ना ब्यानरहरु भने फ्यांकिरहेका छन । जे होस्, नतिजा पाउने के हो, तर एनआरएनए अमेरिकामा उमेदवारहरु कम से कम आफ्ना फ्लाएरहरु अनलाईनमा प्रकाशित होस् भन्ने चाहना भने राख्छन ।

फ्लायर वा ब्यानर :
प्रवासी नेपाली समुदायको सेवाका लागि भनेर सामाजिक भुमिकामा रहेको देखाउन अनलाईनमा चाहिने सबैभन्दा आकर्षक चिज हो, फ्लायर वा ब्यानर । सिद्धहस्त डिजाईनरलाई पनि आकांक्षी उमेद्वारको फ्लायर बनाउन न्युनतम तीन घण्टा लाग्छ । पसिना बनाएर खर्छेको तीन घण्टामा तयार ब्यानर आकांक्षीहरुलाई देखाउंदा ‘मेरो ओठ यता पर्‍यो, गाजल मिलेन’ भन्छन । ‘मेरो गगल्स परेछ, नेपाली पोशाक लगाएको फोटो पठाउंछु, मिलाईदिनुस् है’ भन्छन । गाजल, गगल्स र कोट मिलाउन अर्को एक घण्टा समय खर्च लाग्छ । अहिलेसम्म चार घण्टा भयो ।

ईमेल, फोन नम्बर, उमेद्वारी घोषणा गरिएको पद, स्लोगन (नारा)हरु मिलाउन अर्को एक घण्टा । अमेरिकामा कामदारले प्राप्त गर्ने चलनचल्तीको न्युनतम दर १५ डलरले हिसाब गर्दा पनि ७५ डलर त फ्लायर वा ब्यानरकै भयो ।

सामाजिक संस्थामा रहेर काम गरेका फेहरिस्तका लागि अन्तर्वार्ता लिनुपर्‍यो । अन्तर्वार्ता नभए उनीहरुका सामाजिक संलग्नताहरुका विवरणहरु मागेर मिलाउनपर्‍यो । कपी पेस्टले लेखाईको भावार्थ नआउला । मिलाएर नलेखे उनीहरुका भावी योजनाहरुमा तुषारापात लाग्ला । उनका नाराहरु पनि आफैं बनाईदिनुपर्ने ! नाराहरु बिना पाराका होलान ।

हिसाब गरौं, सात घण्टा भयो ।

उम्मेदवारका चिनारी :
जीवनका रफ्तारमा सामाजिक संस्थामा लाग्दा उनीहरुले प्राप्त गरेको ‘खोपीमा धमिराले खाईसकेको’ प्रमाण-पत्रहरुका बारेमा लेखिदिनुपर्‍यो । यति सालमा यसो गर्दा पाएको, उती सालमा उसो गर्दा आईलागेको ।

अजह हामी नेपाली भन्ने संस्थाहरुले थाहै नपाई दिएको ‘हिरो अवार्ड’ हरुका बखानै छुट्टै । कोभिडको डरले घर मै बस्दा पनि प्राप्त गरेका रंगिन प्रमाण-पत्रहरु । रगत दान गरेका प्रमाण-पत्रहरु । कहाँं कहाँ हो, ठुलाहरुसंग खिचेका तस्वीरहरु । ठालुहरुसंग ब्यतित क्षणका सम्झनाहरु । स्वस्थानी किताबजस्तो ठेलीलाई मिलाएर लेखिदिनुपर्ने बाध्यता ।

कपी पेस्ट गरेर हालिदिए नि पढ्न त पढ्छन, पढ्लान । तर मिलाएर लेखिदिंदा दुई घण्टा अर्को खर्च !

उमेदवारी समाचार होईन, प्रचार हो :
एनआरएनए अमेरिकाको निर्वाचनको संघारमा जुर्मुराउने उमेद्वारहरुको रगतको गती झनै वेगिलो हुन्छ । उनीहरुले फेहरिस्त पठाएको ३ घण्टामा अनलाईनमा समाचार चाहन्छन । अरुले छापिसक्यो रे, शेयर गर्न ढिला भयो रे ।

यता नै घन्टा खर्च भईसक्यो ।

एनआरएनए निर्वाचनमा मात्रै चल्ने उनीहरुको धड्कन एउटा रहर हो । बिशेषत: एनआरएनए अमेरिकाको निर्वाचनमा उमेद्वारहरुले चाहने यस्ता खुराकहरु समाचार होईनन । दिनदुखीको सेवामा लगाउनुपर्ने विवेक होईनन । भोली निर्वाचन जितेर उमेद्वारहरुले गर्ने काम र कर्तब्यहरु संस्थागत रुपमा अर्कै होलान ।

एनआरएनए अमेरिकाको निर्वाचनको उमेद्वारी प्रचार हो । उमेद्वारहरुले सेवा भनेर फत्ते गरेका हामीले बनाईदिने ‘दस्तावेज’ उनीहरुको चुनावी प्रचार हो, मन्दिर र दुतावासका समाचार होईनन ।

प्रचारको पैसा लाग्छ, लिईन्छ र लिनुपर्छ :
अपवाद बाहेक अमेरिकामा पत्रकारिता नै गरेर जीवन धान्ने कोही छैनन । पत्रकारिता कसैका रहर होलान, कसैका आफ्नै पत्रकारिताकै प्रचार होलान, कसैका मेन्स्ट्रिम भुत होलान । तर, अनलाईन पोर्टलहरु भने त्यो भन्दा माथी उठेर ‘समुदायको आवाज’ कै लागि खोलिएका भने हुन । निरन्तरता दिने, बढी पढिने वा चलेका, मन नपरिने बस्तुहरु अनलाईनका संचालकहरुका ईमान्दारिता, सकृयता र निरन्तरताका उपजले सिर्जना गर्ने परिणाम हुन ।

आफ्नो सन्तानलाई जस्तै अनलाईन संचालकलाई आफ्नो पसिनाको माया हुन्छ । भलै, स्तरियता दर्शकले मापन गर्ने बस्तु त हुंदै हो । रातदिन मेहनत गरेर हामीले बनाएको अनलाईनको हामीलाई अगाध माया लाग्छ । जसरी प्रवासमा सबैलाई आ-आफ्ना ब्यवसाय र रोजगारीका माया लाग्छन । बर्तन धुने हाम्रो रोजगारी भए पनि कम से कम अनलाईन संचालकहरुले दिनको ३ घण्टा आफ्नो पत्रिकालाई खर्चेको हुन्छ ।

सबैलाई रहर हुन्छ, आफ्ना सन्तान राम्रा बनुन । अनलाईनमा संचालक र समुहले १० घण्टा लागाएर बनाउने उमेद्वारहरुको समाचार प्रचार हो । त्यसैले त्यसको पैसा लाग्छ ।

अनलाईनमा छापिने उमेद्वारहरुको प्रचारको पैसा लाग्छ, लिईन्छ र लिनुपर्दछ । बकाईदा आफ्ना कम्पनीका बिल पेश गरिन्छ र पसिनाको मोल मागिन्छ । चर्चित बन्ने तपाईंंहरुका रहर, हामीले तपाईंका आग्रहमा बनाउने प्रचार सामग्री र प्रकाशित गर्ने चिजको पैसा छाती पिटेर लिईन्छ । सित्तैमा केही हुंदैन ।

यो हाम्रो पेशा हो । सबैजस्तो सुन्दर भविश्य बनाउने सपना लिएर प्रवासमा हामीले बगाएको पसिनाको मोल अबश्य लिईन्छ ।
अरुले के गर्छन्, उन लोगोका वात है, हाम तो जरुर लेलिंगे, जी ।

अहिलेलाई यति नै !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *