२०७८ जेठ ३१ गते | 14th of June 2021

चिनियाँ खोपको प्रभावकारीता कम ,प्रभावकारिता बढाउन अरू खोप सँग मिसाउने चीनको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ३० गते ११:१२

काठमाडौं  – चीनका एक जना उच्च सरकारी अधिकारीले आफ्नो देशमा उत्पादन भएका कोरोनाभाइरसविरूद्धका खोपको प्रभावकारिता कम भएको स्वीकारेका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूले शनिबार दक्षिण पश्चिमी सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित एउटा कार्यक्रममा बोल्दै खोपको प्रभावकारिता कम भएकाले प्रभावकारिता बढाउन अरू खोप सँग मिसाउनेबारे सोचिरहेको बताए। संसारभरि खोपको प्रभावकारिता कम-बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै निर्देशक फूले  फरक-फरक प्रविधिका खोप लगाउने र एक-अर्को डोजबीचको समय बढाउने हो भने खोपको प्रभावकारिता बढाउन सकिने बताए।

केही समयअघि ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको कोरोना खोपको प्रभावकारिता ५०.४ प्रतिशतमात्रै देखिएको थियो। सिनोफार्म कम्पनीले बनाएका दुई भ्याक्सिनको प्रभावकारिता ७९.४ र ७२.५ प्रतिशत रहेको चिनियाँ अधिकारीहरूले दाबी गरेका थिए। गत महिना संयुक्त अरब इमिरेट्समा केही मानिसहरूलाई सिनोफार्म कम्पनीले बनाएको खोपको तेस्रो डोज लगाउन भनिएको थियो। उक्त खोपको दुई डोज लगाउँदा पनि उनीहरूको शरिरमा पर्याप्त एन्टिबडी नभेटिएपछि तेस्रो डोज लगाउन भनिएको हो। चीनमा चार वटा कम्पनीहरूले कोरोनाभाइरसविरूद्धका खोप बनाएका छन्। बेइजिङले अहिलेसम्म विदेशी कम्पनीले बनाएका खोपलाई आफ्नो देशमा प्रयोग अनुमति दिएको छैन। स्वदेशमा उत्पादित खोप अहिलेसम्म १६ करोड बढी चिनियाँहरूले लगाइसकेका छन्। चीनले संसारका विभिन्न मुलुकमा लाखौं डोज खोप निर्यात गरिरहेको छ। कतिपय देशलाई उसले आफ्नो देशमा उत्पादित खोप अनुदानमा पनि दिइरहेको छ। नेपाललाई चीनले ८ लाख डोज खोप अनुदानमा दिएको छ। जुन अहिले लगाउने क्रम जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *