२०७८ साउन १४ गते | 29th of July 2021

एनआरएनए अमेरिका निर्वाचन : सरगर्मी बढ्दो, विश्वसनियता र प्रभावकारितामा प्रश्न कायमै

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते १७:२०

कृष्ण सादगी
भर्जिनिया, अमेरिका ।

राष्ट्रीय समन्वय परिषद् निर्वाचित गर्न हुन गईरहेको आसन्न एनआरएन अमेरिकाको चुनावले अमेरिकी नेपाली डायस्पोराको माहौल निक्कै तातेको देखिन्छ । यद्यपी अझै पनि यहाँ बसोबास गरिरहेका अमेरिकी नेपालीहरुको संख्याको तुलनामा धेरै सिमित संख्या र समुहमा मात्रै यसको चर्चा परिचर्चा हुने गरेको भन्ने आरोप लाग्दै आएको छ । कारण प्रष्टै छ, अमेरिकामा बसोबास गर्ने भनिएको ३ लाखभन्दा बढी नेपालीको साझा संस्थाको अपनत्व, विश्वास र हैसियत प्राप्त गर्न पुर्ण सफलता हाँसिल गरेको देखिदैन । असिमित सम्भावना बोकेको नेपालीहरुको छाता संस्था भएता पनि यस संस्थाको चुनाव र यसका गतिविधिहरुले किन यसरी बहुसंख्यक अमेरिकी नेपालीहरुको मन छुन सकेको छैन त? यस आलेखमा यसका केही कारणहरु केलाउने प्रयत्न गरिनेछ ।

अमेरिकी एनआरएनका हालसम्म सम्पन्न भएका कुनै पनि चुनावी प्रकृयाहरु विवाद रहित बन्न सकेको देखिदैन । पछिल्ला ६ वर्षका दौरानमा भएका ३ वटै चुनावमा सिर्जना भएको विवादले अमेरिकी अदालतको ढोका डकडक्याउने सम्मको कोर्ष लिन पुग्नु विडम्बनापूर्ण अवस्था हो । सदस्यताको प्रमाणिकरण र निर्वाचन पद्धतीमा पारदर्शीता र विश्वसनीयता कायम नभएसम्म विवादहरु उठ्नुलाई स्वभाविक मान्न पर्ने हुन्छ । त्यसरी उठेका विवादहरुको अदालत पुग्न अघि समाधान खोज्न चुनाव जितेकाहरु उत्तरदायी हुन नसक्नु र हारेकाहरुमा सम्बादबाट समस्याको समाधान खोज्ने धैर्यता कायम नहुनु दुवै उत्तिकै जिम्मेवार पक्ष हुन् भन्नुमा कुनै द्धुविदा छैन भन्ने मत जाहेर गर्नेहरुको जमात पनि सानो छैन ।

अमेरिका भन्ने वित्तीकै एउटा निश्चित विधिको शासनमा निर्धारित पद्दतीअनुसा चलेको मुलुकका रुपमा लिने गरिन्छ । आखिर, एउटा निर्धारित पद्दतीमा चलेको मुलुकमा रहेका नेपालीहरुले चै किन यत्रो असिमिति सम्भावना बोकेको संस्थालाई निश्चित मापदण्ड र पद्दतीमा चलाउन नसकेर विवादरहित बनाउन सकिरहेका छैनन् त ? यस पछिका मुलभुत कारणहरु के के रहेछन् भन्ने विषयमा घोत्लीनु यस आलेखको एउटा पाटो हो भने यस संस्थाको असिमित सम्भावनाहरुको आलोकमा गरिने डिस्कोर्ष र विचार विमर्षलाई ओपण्ड माइण्डबाट हेर्ने बातावरण बनाउन सकिन्छ कि भनेर एउटा नवीन बहस र छलफलको शुरुआत किन नगर्ने भन्ने तर्क स्थापित गर्नु अर्काे ।

यी तमाम विषयवस्तु भित्र प्रवेश गर्नु पुर्व यो संस्था कहाँबाट कहिले किन र कसरी शुरु गरिएको भन्ने थाहा पाउनु आवश्यक हुन्छ । रसियाबाट सन् २००३ को अक्टुबरमा शुरु भएको नेपालीहरुको यो साझा संस्था निर्माण अभियान हालसम्म आइपुग्दा संसारभरका करिब ८८ मुलुकहरुमा विस्तारित भैसकेको देखिन्छ । फैलावटको दृष्टिले हेर्ने हो भने यसको विकासक्रमलाई सन्तोषजनक मान्न सकिन्छ । तर के यो संख्यात्मक विकासक्रमसँगसँगै यस संस्थाको परिकल्पना गर्दैगर्दाका उद्देश्यहरुको पूर्तिमा खरो उत्रिएको पाइन्छ त भन्ने प्रश्नको उत्तर खोज्न भने अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपर्ने बेला भईसकेको छ ।

यस्तो प्रकृतिको अन्तराष्ट्रिय संघ स्थापना पछिको करिब १८ वर्ष भनेको एउटा अन्तराष्ट्रिय संस्थाको जिवनमा धेरै लामो समय हो । यति लामो समयमा संस्थाले गर्न सकेका कामहरु पनि धेरै छन् तर स्थापना कालको लक्ष र आम सदस्यहरु र डायस्पोराका आम नेपालीहरुको अपेक्षाअनुरुप के कति काम भएका होलान् भनेर अब थर्ड पार्टीको अनुगमन र मुल्यांकन (स्वतन्त्र हैसियतको तेश्रो पक्षको समीक्षा) गर्न ढिला भैसकेको छ । त्यसैगरी अमेरिकी एनआरएनको पनि अब विगतका हरेका घटना र परिवेशहरुको निर्मम समिक्षा गर्न सकियो भने मात्रै यसलाई भविष्यमा सही दिशा उन्मुख बनाउन मद्दत पुग्नेछ ।

यसरी ७ दर्जन बढी राष्ट्रिय समन्वय परिषद्हरु मध्ये पनि अमेरिकी एनआरएनको कुरा गर्दा यो अलिक फरक आवस्थामा छ भन्ने स्वीकार गर्नु पर्ने हुन्छ । यद्यपी युरोप तिरका कैयौ मुलुकहरु भन्दा यो संघ अलिक पछि नै शुरु भएको देखिन्छ । फेरी पनि हामी पुरानै प्रंसगमा जाऔं । के अमेरिकी एनआरएनको विकासक्रम र उपलब्धीको पनि अब निर्मम समीक्षा गर्ने बेला भइसकेन त ? के साँच्चै यसलाई नेतृत्व दिने व्यक्तित्वहरुले अत्यन्तै सफलतापूर्वक संचालन गर्न सकेको भए अमेरिकी एनआरएनको सदस्य संख्या २० हजारमा मात्रै सिमित हुनु पर्ने अवस्था बन्दथ्यो होला ? के अमेरिकी एनआरएन जस्तो शक्तिशाली हुनसक्ने असिमित सम्भावना भएको एनआरएनले अब आइसीसीको नेतृत्वमा आफ्नो दाबीलाई सफल बनाउन सक्दैनथ्यो ? के अमेरिकी एनआरएनले आफ्ना सदस्यहरुको अपेक्षालाई सम्बोधन गर्न सकिरहेको छ ? अनि सदस्य बन्न नसकेको वा भनौं सदस्य बन्न नरुचाएको अझ यसरी बुझौ कि सदस्य बनाउन नसकिएको एउटा ठूलो जमात र प्रोफेशनलहरुको उन्लेख्य संख्यालाई कसरी सम्बोधन गर्न सकिरहेको छ? यी सवालहरुको समाधान कहिले कस्ले खोजिदेला त ? हालसम्मको नेतृत्व पंग्ती के यी तमाम प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन सक्षम छ त? या भनौ यो सवै प्रश्नहरुको तथ्यपरक जवाफ खोज्नु नेतृत्वको प्राथमिकता हो कि हैन ?

त्यसैगरी, यहाँ अमेररिकी एनआरएनका चुनावहरु किन विवाद रहित बन्न सकिरहेका छैनन्? सदस्यता प्रमाणिकरण र निर्वाचन प्रकृयामा उठेका कैयन् सवालहरुको चित्तबुझ्दो जवाफ प्रश्न सोध्नेहरु समक्ष आखिर किन नेतृत्व र संस्थाले दिन चाहदैन वा दिन सक्दैन? किन विवादमा परेका इस्युहरुलाई बेलैमा द्धन्द्ध व्यवस्थापन समयमै गर्न निर्वाचित नेतृत्व तत्पर देखिदैन? झट्ट सुन्दा यी सवालहरु नेतृत्वमा पुगेका वा निर्वाचन जितेकाहरुका लागि सामान्य लाग्न सक्छन् । तर, यी प्रश्नहरुको चित्तबुझ्दो तथ्य असन्तुष्ट पक्षले नपाएमा अदालत जाने प्रकृया मानवाधिकारकै एक आधारभुत निसृत पक्ष हो भनेर किन लिन सिकिदैंन? वा भनौं, डेमोक्रेसीमा विश्वास गर्ने हो भने अल्पमतमा परेकाहरुको आवाजको सुनवाई हुन जरुरी छैन र ? यी तमाम प्रश्नहरुको जवाफ के कसरी आइरहेको छ भन्ने कुरा सत्य, तथ्यमा आधारित भएर विश्लेषण गर्न सक्ने समुहले नजिकबाट यसलाई नियाली रहेकै हुन्छ । र, त्यसैले, हजारौ हजार प्रोफेशनल मानिसहरु यो सवै नानाथरीका विवादमा तानिन नचाहनु पनि केही हदसम्म सही तर्क हो भन्ने लाग्दछ ।

एनआरएनले सम्बोधन गर्न सक्ने तर गर्न नसकिरहेका तमाम विषय सवालहरुको बस्तुनिष्ठ खोजी गर्ने र अभियानमा जोडिन नआइपुगेका स्वतन्त्र व्यक्तित्व र उनीहरुका तर्कसंगत आवाजहरुको सुनवाई गर्ने गरी संस्थागत क्षमताको विकास कहिले बाट गर्न सकिएला र ? अखित यो जिम्मेवारी कस्को हो ?

यी माथिका तमाम प्रश्नहरुको जवाफ दिने काम विभिन्न समयमा सवैभन्दा उच्च नेतृत्वमा रहेका प्रमुख नेतृत्वकर्ताहरुको हो । त्यसको एउटा अत्यन्तै सानो हिस्सामा म पनि करिब केही वर्षहरु सक्रिय रुपमा सहभागी थिएँ । यसरी यस अभियानमा करिब ६ वर्षदेखि प्रत्यक्ष जोडिएको एक साधारण व्यक्ति, एक आजिवन सदस्य एवं धेरै राज्यहरुमध्ये एक राज्यको २ वर्षे अवधिको नेतृत्वमा रहेको एक अभियन्ताको हैसियतले विभिन्न कोणबाट यस अभियानको बस्तुनिष्ठ भई विश्लेषण गर्ने हैसियत राख्दछु भन्ने लाग्दछ ।

संस्थासँग लिन जाने हो कि दिन ?
एनआरएन अमेरिकाका सन्दर्भमा विविध पक्षहरुमा अब खुलेर बहस र छलफल चलाउनु पर्ने अवस्था आइसकेको देखिन्छ । उम्मेदवारहरुले सिर्जना गरेका चुनावी रौनक, होहल्ला, इलेक्ट्रोनिक पोस्टर्स पम्लेट्स, स्पोन्सरमा आएका समाचारहरु लगायत कार्यक्रमहरु गर्दैगर्दा स्टेट र ठूला शहरै पिच्छे हुने खर्चको सामुहीक बाँडफाँड जस्ता कुराहरुले पनि अबका दिनमा चुनावी खर्चको सहज आँकलन लगाउन सकिन्छ । एउटा नन फर प्रफिट (अर्थात् भनौं गैर नाफामुखी सामाजिक संस्थाको नेतृत्वमा जान यो स्तरको खर्च गर्र्नेै पर्ने बाध्यता बन्दै जानुले के कस्ता कुराहरुको संकेत गर्दैछ त अब सोच्ने बेला आइसकेको छ भन्ने लाग्दछ । नत्र, नेपालमा डन, माफिया र भ्रष्टहरुले राजनीति कब्जा गरेपछिको अवस्था आइलागे जस्तै, यहाँ एनआरएनमा पनि अकुत पैसा कमाउन सफल व्यपारीहरु मात्रै सधै नेतृत्वमा पुग्ने र संस्थाको मिशन, भिजन, गोल, अब्जेक्टिभ लगायतको परिपूर्तिमा योग्य, क्षमतावान प्रोफेशनलहरुले पर्याप्त धन सम्पत्ती नभएकै कारण नीति निर्माण र निर्णयको तहमा पुग्नै नसक्ने अवस्था नबन्ला भन्न सकिन्न ।

अध्यक्षको त कुरै छाडौं अन्य उम्मेदवारहरुले पनि चुनाव लड्न हजारौ हजार डलर खर्च नगरी नहुने अवस्था बन्दै गएको देखिन्छ । यो परिस्थीति निर्माण हुनु संस्थाको अर्काे ठूलो बाध्यात्मक कमजोरी या विफलताको सुचक मान्नु पर्ने हुन्छ । एक दुई लाख डलर खर्चेर २ वर्षको लागि अध्यक्ष हुन पर्ने, उपाध्यक्षका लागि चुनावमा जाँदै गर्दा ५० हजार डलरभन्दा माथि करिब १ लाख सम्म खर्च हुने अवस्था र बोर्डअफ डिरेक्टरमा पनि हजारौहजार डलर खर्च गर्न सक्नेले मात्रै चुनाव लड्न सक्ने परिस्थिती बन्नु दुखदायी अवस्था हो भन्नुहुन्छ एनआरएन अभियान लगायतका सामाजिक जिवनमा सक्रिय इन्जिनियर एवं डा. देशराज संयोक ।

चुनावका सन्दर्भमा हुने अनुत्पादक खर्चहरुलाई नियन्त्रण गर्न सक्ने हो भने त्यसलाई बरु नेपाल देशका दुर दराज विकट गाउँमा के कति रचनात्मक, अत्यावश्यक र जरुरी सामाजिक काममा सहयोगी बन्न बनाउन, गर्न गराउन सकिन्थ्यो होला भन्ने पाटोबाट पनि हेरिनु पर्दछ भन्ने लाग्नुलाई अस्वभाविक तर्क मान्न सकिन्न ।

अमेरिकी एनआरएनको संस्थागत गतिबिधी शुरु भएयता संस्थागत विकासक्रमका लागि केही उपलब्धीमुलक काम नभएका पनि हैनन् । तर यसले गरेका काम र उपलब्धीहरुको तुलनामा यसमा आएका बिकृती, विसंगती र चुनावी प्रकृयामा देखिएका विबादित घटनाक्रमहरुले यसको सकारात्मक पक्ष र संस्थागत सबल पक्षहरु सबैलाई ओझेलमा पारिदिएका छन् । कोभिडको महामारीमा अमेरिकी एनआरएनले नेपाली डायस्पोरामा सक्दो सहयोग पुग्नेगरी केही प्रभावकारी गतिविधिहरु सन्चालन गर्न सफल भएको थियो । तर ती सवै गतिबिधीहरुको प्रचार प्रसार सदस्यहरुसम्म मात्रै पुग्ने गरेबाट सदस्यभन्दा बाहिरको एउटा ठूलो जमात ती सवै सकारात्मक कार्यहरुको जानकारीबाट बेखबर रहन पुगेको देखिन्छ ।

यता अमेरिकी एनआरएनको प्राविधिक क्षमता विस्तार लगायत वेवसाईट व्यवस्थापनको टेक्निकालिटी तर्फ आशातित ढंगले प्राविधिक पक्षमा भने सुधार हुँदै गएको देखिएको छ । तर फेरी पनि कन्टेन्ट अर्थात त्यसले पस्कने विषयवस्तुलाई ध्यानमा राखेर हेर्ने हो भने वेवसाइटमा उपलब्ध सामाग्रीहरु बिलकुलै अपर्याप्त भएको सहजै अनुमान लगाउन सकिन्छ । भर्जिनिया अमेरिकामा बसोबास गर्र्दै आउनु भएका अमृत भण्डारीले सदस्यता लिनु अघि र लिएपछि वेबसाइटको भिजट गरे लगत्तै मलाई फोन गरेर यसको कन्टेन्टमा आमुल सुधार ल्याउन जरुरी देखिएको बताउनु भएको सम्झन्छु । साथै सकेसम्म चाँडै यो काम गरौं भन्ने वहाँको आशयलाई पनि सम्मान गन चाहन्छु । अमेरिकी एनआरएन स्थापनाको उद्देश्य, भिजन, मिशन जस्ता कुराहरु र यसको विकासक्रमको बारेमा त्यहाँ केही पनि सामाग्री पाइँदैन । यस तर्फ कसैको पनि त्यति ध्यान जान सकेको देखिदैन । प्राविधिक मित्रहरुले अहोरात्र खटेर यसलाई सकेसम्म राम्रो र भरपर्दाे बनाउन मिहेनत गरिरहनु भएको तथ्य मेरो पनि जानकारीमा छ । तर यो लेखकले त्यहाँ पस्कीएका सामाग्रिहरुको पूर्णताका लागि आवश्यक काम गर्न जरुरी भैरसकेको महसुस गरिरहेको छु ।

आज यत्ति मात्रै । चुनावी माहौल पुरै तातेको बेला यस अभियानमा जोडिएकाहरु समक्ष आफ्ना धारणाहरु लिएर फेरी पनि आउने नै छु । एनआरएन आखिर हामी सम्पूर्ण अमेरिकाबासी नेपाली भाषीहरुको साझा अभियान हो । यसमा अवश्य पनि निरन्तर सुधारको खाँचो रहिरहने छ । यस आलेखमा गरिएका टिका टिप्पणीहरु कुनै व्यक्ती प्रति लक्षीत हैनन् । र, कहिल्यै व्यक्ती विशेषलाई मात्रै दोषारोपण गरेर अभियान अगाडि बढ्न सक्दैन । आखिर संस्थाको समग्र क्षमतामा विस्तार गर्न सके मात्रै हामी सवैको हित हुने हो । हामी सवै मिलेर हाम्रो साझा घरलाई कसरी बलियो, चुस्त, दुरुस्त, परिणाममुखी बनाउन सकिन्छ भनेर लागि पर्नु हामी सवैको कर्तब्य नै हुन जान्छ ।

क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *