२०७८ असोज १० गते | 26th of September 2021

आप्रबासीका संघर्ष : आप्रवास वा शरणार्थीका रुपमा युरोप प्रवेशको चाहना राखेर भूमध्यसागरमा जोखिमपूर्ण यात्रा गर्नेहरुमध्ये ७ वर्षमा २० हजार बढीको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २४ गते १४:४०

कायरो- एकसय जनाभन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल गरे । यी यात्रीहरु लिबियाबाट युरोप प्रवेश गर्ने लालसामा भूमध्यसागरका छालमा हेलिँदै थिए । अलार्म फोन हटलाइनमा पटकपटक फोन गरेका यी यात्रुहरुले भूमध्यसागर पार गर्ने क्रममा डुङ्गाको इन्धन सकिएको र डुङ्गाभित्र पानी छिर्न थालेपछि यात्रुहरुमाझ तनावको वातावरण सिर्जना भएको बताएका थिए ।
अलार्म फोनको हटलाइनमा रहेका कार्यकर्ताहरुले आप्रवासीहरुलाई केही समय धैर्य गर्न भनिरहेका थिए । डुङ्गा रहेको स्थानको जिपिएसकोअर्डिनेट्सका बारेमा आफूहरुले इटाली, माल्टा र लिबियाका सम्बद्ध अधिकारीहरुलाई पटकपटक जानकारी गराइरहेको बताएका थिए । उनीहरुले युरोपेली युनियनको सीमा तथा तटीय सुरक्षा निकाय फ्रोन्टेक्सलाई पनि जानकारी गराए । अन्तर्राष्ट्रिय समुद्री कानुन बमोजिम उद्धार कार्य शुरु होला भन्ने उनीहरुको आशा थियो ।
अलार्म फोन र गैरसरकारी संस्था एसओएस मेडिटेरियानीका इमेल र विवरणको सूचीका साथै लिबियाली तटरक्षकको प्रतिवेदनले के देखाएका छन् भने सम्पर्क गरिएका सबै निकायले कारबाहीमा ढिलासुस्ती गरेको, सहायताका लागि अपर्याप्त वा कुनै सुनुवाइ नै नगरेको प्रस्टै देखिएको छ । समग्रमा, कोही उद्धारका लागि आउला कि भन्ने आशामा रहेका झण्डै १३० जनाको अप्रिल २१ र २२ का दुई दिनभित्रै समुद्रमा डुबेर ज्यान गएको छ । यो ठाउँ लिबियाली तटबाट मुश्किलले ४५ किलोमिटर भित्र जलक्षेत्रमा थियो ।

भूमध्यसागरमा भएको यो दुर्घटना यस वर्षकै सबैभन्दा भयानक थियो । आप्रवास वा शरणार्थीका रुपमा युरोप प्रवेशको चाहना राखेर भूमध्यसागरमा जोखिमपूर्ण यात्रा गर्नेहरुमध्ये सन् २०१४ यता मात्र २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । आपतमा फसेका आप्रवासी चढेका डुङ्गामा रहेकाहरुले जतिसुकै गुहार मागे पनि त्यसलाई सम्बोधन गर्न युरोपेली मुलुकहरु असफल भएको पछिल्लो घटनाले फेरि पुष्टि गरेको छ । बरु, मानव अधिकारवादी समूहहरु, राष्ट्रसङ्घीय आप्रवासन तथा शरणार्थी निकायहरु तथा अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको भनाइमा युरोपेली देशहरुले पनि प्रायः समुद्रमा अलपत्र परेका आप्रवासीहरुको उद्धार गर्ने अन्तर्राष्ट्रिय दायित्वबाट पनि पन्छिने गरेका छन् । अथवा सीमित क्षमता भएको लिबियाली तट रक्षकहरुलाई स्रोतसाधन उपलब्ध गराउन युरोपेली निकायहरु हच्किने गरेका छन् । युरोप प्रवेश गर्ने चाहनामा रहेका बालबालिका समेतका कैयौं आप्रवासी र शरणार्थीलाई लिबियामा पक्राउ गरेर हिरासतमा राखिएको छ । निकै भिडभाड हुने यी हिरासतमा आप्रवासीहरुले दुर्व्यवहार, यातना, बलात्कार र मृत्युवरण समेत गर्नुपरेको छ ।

हो, युरोपेली मुलुकहरुले नियमित रुपमा सङ्कटमा परेकाहरुलाई उद्धार गरिरहेका हुन्छन् । अप्रिल २१ देखि इटालीका तट क्षक र नौसैनिकले आफ्नो जलक्षेत्रबाट कम्तीमा १४९ जनाको उद्धार गरेका छन् । यसैबीच, स्पेनी अधिकारीले तीन व्यक्तिलाई बचाउन सैनिक बिमान र हेलिकप्टरका साथै उद्धार जहाज भूमध्य सागरमा पठाएका छन् । यस उद्धार अभियानबाट अप्रिल २६ मा डुबेको डुङ्गामा सवार २४ जनाको शव बरामद गरिएको थियो । यो घटनास्थल केनरी आइल्यान्डबाट करिब ५०० किलोमिटर टाढा समुद्रमा थियो । तर अप्रिल २१ मा कुनै उद्धार कार्य गरिएन । अर्को दिन, एउटा व्यापारिक जहाज र मानवीय उद्धार जहाज ओसन भाइकिङले डुङ्गाको अवशेष फेला पारेका थिए । उनीहरुले समुद्रमा कम्तीमा १० वटा शव तैरिरहेको देखेका थिए ।

“समुद्रमा डुबेकामध्ये म पनि एक हुने थिएँ,” लिबियाका २७ वर्षीय मुतावाकेल अलिले हालै मात्र बताएका थिए । उनी र अरु पाँच जना सुडानीहरुले अप्रिल २० मा त्यो डुङ्गा अल–खुम्सबाट चढ्न पाएका थिएनन् । रमजानको एक कार्यक्रममा सहभागी भएका कारण उनीहरुको डुङ्गा केही मिनेटले छुटेको थियो । तर उनका २३ वर्षीय भतिज मुबारक जाबेर भने उम्कन पाएनन् । सात भाइमध्येका जाबेरले विश्वविद्यालयको शिक्षा बीचमै त्यागेर कामको खोजीमा डेढ वर्षअघि लिबियातर्फ लागेका थिए । उनी निर्माणमा काम गर्थे, र सुडानमा आफ्नो परिवारलाई पैसा पठाइरहन्थे । तर यो निकै कम थियो । त्यसैले उनले मानव तस्करसँग सम्पर्क गरे र आप्रवासीको डुङ्गामा चढे ।
लिबिया, इटाली, माल्टामा रहेका उद्धार तथा समन्वय केन्द्रहरुले डुङ्गामा समस्या परेकाले सहयोग चाहिने बारेमा बिहान ९ बजेर ५२ मिनेटमै अधिकारीहरुलाई जानकारी गराएका थिए ।
अलार्म फोन र एसओएस मेडिटेरियानाको भनाइमा उनीहरुले माल्टाका अधिकारीहरुबाट कुनै प्रतिक्रिया पाएनन् । सामुद्रिक खोज तथा उद्धारका लागि जिम्मेवारी पाएको माल्टाको सेनाले उक्त घटनाका बारेमा एपीले पटकपटक अनुरोध गर्दा पनि जवाफ दिएन । चार घण्टाभन्दा बढी समय व्यतित भइसकेको थियो, अर्थात् दिउँसोको २।११ मिनेट गइसकेको थियो । अलार्म फोनलाई इटालीका अधिकारीहरुले सम्पर्क गरे, र त्यसका लागि जिम्मेवार निकायसँग सम्पर्क गर्न अनुरोध गरे ।
झण्डै पाँच घण्टापछि अर्थात् २।४४ मिनेटमा लिबियाली अधिकारीहरुले अलार्म फोनसँग सम्पर्क गरे । उनीहरुले लिबियाली तटीय क्षेत्रमा हराइरहेका तीन वटा डुङ्गाको खोजी गरिरहेको जानकारी गराए, तर उनीहरुले एउटा मात्र जहाज खोजी कार्यमा लगाएका थिए ।
डुङ्गा दुर्घटना भएको एक दिनपछि लिबियाली तट रक्षकका प्रवक्ता मसुद इब्राहिम मसुदले आफूहरुले १०६ जना आप्रवासी फेला पारेको जानकारी दिए । खराब मौसमका बीच आफूहरुले सक्दो प्रयास गरे पनि युरोपेली युनियनबाट प्राप्त सहयोग अपर्याप्त रहेको मसुदले बताउनुभयो । भूमध्यसागरको हवाई अनुगमन मात्र गर्ने फ्रोन्टेक्सले आफूहरुले इटालीको अनुरोधमा दुई वटा हवाईजहाज पठाएको जनाएको छ । यी विमानहरुले अप्रिल २१ र अप्रिल २२ दिन समुद्रमा डुङ्गाको अवशेष देखिएको बताएका थिए ।
फ्रोन्टेक्सका प्रवक्ता क्रिस बोरोस्कीले अप्रिल २४ मा आफूहरुलाई प्राप्त जिम्मेवारी पूरा गरेको दाबी गर्नुभयो । तर एसओएसको भनाइमा उद्धारका लागि तत्काल प्रयास र कदम कतैबाट पनि चालिएको देखिएन, सबैले बेवास्ता गरेका थिए ।

फ्रोन्टेक्सले दुर्घटनाका लागि मानव तस्कर र खराब मौसम मुख्य रुपमा जिम्मेवार रहेको बताएको छ । अप्रिल २१ को रात समुद्रको छाल २ देखि ३ मिटर माथिसम्म उठेका थिए । इटालीका तट रक्षकहरुले उक्त दुर्घटनामा उद्धारको मुख्य जिम्मेवारी लिबियाको हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुले समुद्रमा आपत परेको डुङ्गाको उद्धारका लागि कुनै पनि देशले पहल गर्न सक्ने बताएका छन् । क्वीन मेरी विश्वविद्यालय, लन्डनका प्राध्यापक भायोलेटा ल्याक्स मोरेनोले युरोपेली मुलुकका जिम्मेवार निकायहरुले उद्धारमा भयानक बेवास्ता गरेको बताउनुभयो । ( साभार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *