२०७९ साउन २६ गते | 11th of August 2022

प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा थपे सात मन्त्री र एक राज्यमन्त्री, गृहमन्त्री बने अधिकारी

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २७ गते १३:१८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा सात मन्त्री र एक राज्यमन्त्री थपेका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधान अनुसार बिहीवार मन्त्रिरिषद् विस्तार भएको हो। गत साता ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा संलग्न गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। विस्तारित मन्त्रिपरिषद्‌मा निकै चासोपूर्वक हेरिएको गृह मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता खगराज अधिकारी पाएका छन्।यसअघि ओली नेतृत्वमा रहेको एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता रामबहादुर थापा गृहमन्त्री थिए।गैरसांसदलाई मन्त्री नियुक्त गर्नु संविधानविपरीत भएको सर्वोच्चको आदेशपछि जेठ पहिलो साता थापा गृहमन्त्रीबाट मुक्त हुन पुगेका थिए।

यसअघि ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा तीन जनालाई उपप्रधानमन्त्री बनाएका थिए  ।  बिहीवार मन्त्रिपरिषद् विस्तार गर्दा थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै पूर्वमाओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, पहिले एमालेको माधव नेपाल समूहमा रहेका र पछिल्ला दिनमा मौन देखिएका गणेश पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन, एमालेकै मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेगरी, नारदमुनि राना वन तथा वातावरण र जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन्। एमालेकै आशा विकले वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।