२०७८ असोज २ गते | 18th of September 2021

कार्की परिवारको हत्यामा संलग्न अभियुक्त पक्राउ, अरु सदस्यहरु पनि आएपछि सवैको हत्या गरेको स्वीकार

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २६ गते १६:०९

काठमाडौं – सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङका कार्की परिवारको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छिमेकी २६ बर्षीय लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको हत्या गरेको पुष्टि गर्दै पक्राउ गरेको हो ।
पक्राउ पर्ने कार्कीले आफैले ६ जनाको हत्या गरेको स्वीकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिनुभयो । कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मारेको स्वीकारेको प्रहरीले जनाएको छ । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हेपेर बोली ब्यावहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेको बताईएको छ । तेजबहादुरको हत्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको हत्या गरेको उनले स्वीकारेका हुन् ।
को हुन लोकबहादुर कार्की ?
२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।
६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताउनुभयो । ‘मरेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहि पारा हो भने त मेरो पनि ज्यान जोखिममा रहेछ’, थापाले भन्नुभयो ।
गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । हत्या गरिएको तेजबहादुरको घरमा उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो । उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् ।
लोकबहादुरले उनका हजुरआमा ८४ वर्षीय पार्वता, ५८ वर्षी ठुलो बुवा तेजबहादुर, ५२ वर्षी ठुली आमा कमला, भाउजु ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ बर्षीय भतिजेनी गोमा कार्कीको हत्या गरेको थियो । हत्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएको जस्तो देखिने हतियारहरु प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो । घटनाको बिवरण र संलग्नलाई भोली (आईतबार) प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने बताएको छ ।

गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *