२०७९ साउन २६ गते | 11th of August 2022

पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १३ गते १५:१०

काठमाडौं- कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत सदस्य रहेको कार्यदल बनाउने बताएका हुन्।

यस कार्यदलले सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने उनले जानकारी दिए।  उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउन पर्ने बताए। ‘व्यवसायको सम्मान राष्ट्रको सम्मान हो। रात्रीकालिन व्यवसायलाई सम्मानित बनाऔं,’ मन्त्री खाणले भने, ‘सरकार पर्यटन व्यवसाय मैत्री छ । हामी स्वतन्त्र रूपमा व्यवसाय चलाउन दिने पक्षमा छौं । तर नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो । त्यसमा व्यवसायी र सरकार गम्भीर बन्नुपर्छ ।’उनले पर्यटन व्यवसायीले भोगेको पिडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीको पिडामा सरकार संवेदनशील रहेको बताए। कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीहरूलाई आग्रहसमेत उनले गरे।