२०७९ असार १३ गते | 27th of June 2022

यस्तो छ तीनमुखे झोलुङ्गे पुल

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन ७ गते १३:१३

काठमाडौं –  विकास निर्माणका काम गरिँदा समयसापेक्ष नवीन प्रविधिको प्रयोग गरिनुका साथै आकर्षक संरचनातर्फ पनि ध्यान दिन थालिएको छ । मितव्ययी हुनुका साथै बहुउपयोगी पनि हुनेगरी विकास कार्य अघि बढिरहेको एउटा उदाहरण ‘तीनमुखे पुल’ भएको छ । लामो समयदेखि निर्माण प्रारम्भ भएर चर्चामा रहेको तीन जिल्ला जोड्ने देशकै नमुना पुलको रूपमा रहेको तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य अब भने अन्तिम चरणमा पुगेको छ ।
२०७१ सालमा तत्कालीन नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल र गुल्मी क्षेत्र नम्बर ३ का सांसद चन्द्र भण्डारीले शिलान्यास गर्नुभएको यो भोलुङ्गे पुलले गुल्मी, स्याङ्जा र पाल्पा जिल्लालाई जोडेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडी क्षेत्रको कालीगण्डकीमा निर्माणाधीन तीनमुखे पुलले निकै ठूलो चर्चा पाएको छ । २०७१ साल असार १० गते तीन वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो, रुबिना, मना जेभी र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबीच सम्झौता भएको थियो । तीन पटकसम्म म्याद थप गरेर काम गराउँदा बल्ल निर्माण कार्य अन्तिम चरणमा पुगेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।

तोकिएको समयमा कोरोना सङ्क्रमणका कारण कार्य सम्पन्न गर्न नसक्नु मुख्य समस्या भएको कार्यालयका प्रमुख भरत अर्यालको भनाइ रहेको छ । कोरोनासँगै निर्माण सामग्रीको मूल्यमा उतारचडाव हुनु र केही प्राविधिक समस्याका कारण पनि निर्माणमा ढिलाइ भएको अर्यालले बताउनुभयो । चैत मसान्तसम्म निर्माण कार्य सकिने र लामो समयपछि नमुना कामको परिणाम देखिने अर्यालले बताउनुभयो । पहिले के भयो भन्दा पनि अब तोकिएकै समयमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  निर्माण व्यवसायीका प्रतिनिधिका अनुसार लठ्ठाको साइडमा जाली भर्ने, लाइटिङ, सोलार जडान, रेलिङ निर्माणलगायतका काम बाँकी रहेकाले एकदेखि दुई महिनाभित्रमा यी काम सम्पन्न गरिसकिने छन् । नयाँ डिजाइनको काम भएको केही अलमल र कोरोनाका कारण काम गर्न नसकिएकोले समयमै निर्माण कार्य सम्पन्न गर्न अवरोध भएको ठेकेदार पक्षको भनाइ रहेको छ ।

नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले उद्घाटनका समयमा तीनमुखे पुल आफैँमा पर्यटकीय स्थल भएको बताउनुभएको थियो । पुल भन्नेबित्तिकै आवागमन गर्ने भन्ने सामान्य बुझाई मात्र नभई यो पुल विशिष्ट खालको भएकाले नेपालभरिबाट यस पुलको अवलोकन गर्न आन्तरिक पर्यटक आउने हुँदा यसको ठूलो महìव रहेको उल्लेख गर्नुभएको थियो । रुरुक्षेत्र नेपालका प्रमुख चार धाममध्येको एक धाम पनि भएकाले यस क्षेत्रको विशिष्ट पहिचान बनेको छ । यही पुलकै विषयलाई लिएर उहाँसँग पौडेलसँग कुराकानी गर्दा उहाँले २०३३ सालमा पाल्पाबाट अध्यनन गरेर घर फर्किदा रिडीखोलाले बगाएको स्मरण गर्नुभयो । त्यही समयदेखि नै रिडीखोलामा पुलको आवश्यकता भएको उहाँको मस्तिष्कमा रहिरहेको र शिलान्यास गर्न पाउँदा हर्षविभोर भएको उहाँले बताउनुभयो । ढिलै भए पनि निर्माण सम्पन्न हुन लागेकोमा उहाँले आफ्नो बाल्यकालको सपना पूरा भएको उल्लेख गर्नुभयो । रिडीपारि स्याङ्जाको कारीकोटमा हनुमानको मूर्ति भए पनि त्यो मूर्ति हेर्न जान पुल नभएकै कारणले ओझेलमा परेको स्याङ्जासँगको सम्बन्ध अब भने स्थापित हुने भएको छ । ‘पुलको आवश्यकता उहिल्यै थियो तर के कति कारणले हो अघि बढ्न सकेको थिएन, २०६९ सालदेखि तीनमुखे पुलको अवधारणा ल्याएको’, पौडेलले बताउनुभयो । रुरुक्षेत्र छुट्टै पहिचान भएको क्षेत्र भन्दै तीनवटै जिल्लाको सम्बन्धलाई थप विस्तार गर्न र पर्यटकीय स्थल बनाउनका लागि तीनमुखे पुलको अवधारण ल्याइएको बताउनुभयो । उहाँको भनाइ रहेको छ ।

यसखालको डिजाइन नयाँ भएकाले तत्कालीन इन्जिनियरहरूले जोखिम मोलेर काम गर्न सकिँदैन भनेर डराएका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको पौडेलले स्पष्ट पार्नुभयो । सो पुल निर्माण गर्नका लागि पटक–पटक इन्जिनियरहरूसहित तीन वटै जिल्लाका स्थानीय विकास अधिकारीसँग रिडीमा छलफल र चरण–चरणका बैठक गरेको पौडेलले स्मरण गर्नुभयो । तत्कालीन मुख्यसचिवसँगै शिलान्यासमा सहभागी हुनुभएका तत्कालीन सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले तत्कालीन मुख्यसचिव र आफ्नो सपना पूरा हुन लागेको बताउनुभयो । रिडी क्षेत्रमा बन्ने तीनमुखे पुलले आन्तरिक पर्यटनमा वृद्धि हुने र चार धाममध्येको एक धाम रुरुक्षेत्रको समृद्धिमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले गुल्मी र बागलुङ जोड्नका लागि वामीमा पनि यस्तै अर्को पुलको आवश्यकता रहेको बताउनुभयो । गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीपकुमार ज्ञवालीले तीनमुखे पुलले धार्मिक र पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने बताउनुभयो । रुरु क्षेत्रको रिडीमा निर्माणको अन्तिम चरणमा पुगेको तीनमुखे पुलले धार्मिक क्षेत्रसँगै ग्रामीण क्षेत्रको समृद्धिमा कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्थ रहेको स्पष्ट पार्नुभयो । सडक मार्गको पनि सहज पहुँच हुनु र सँगै कालीगण्डकी करिडोर पनि भएकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसको महìव रहने बताउनुभयो ।
नेपालकै आकर्षक र नमुना पुल निर्माण कार्यले पहिले गति लिन नसके पनि हाल आएर निर्माणको अन्तिम चरणमा पुगेको देख्दा छिट्टै सम्पन्न हुनेमा आशा पलाएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । सो पुलको निर्माणपश्चात् तीन जिल्लाबीच थप सम्बन्ध बढ्ने र आन्तरिक पर्यटनमा समेत वृद्धि हुने उहाँको भनाइ छ । यता रुरु क्षेत्रका स्थानीय चुडामणि तिमिल्सेनाको विचारमा तीनमुखे पुल बनेपछि पर्यटकको मुख्य केन्द्रबिन्दु यही पुल बन्ने छ । अन्यत्र कतै पनि यस्तो पुल नभएकाले अवलोकन गर्न धेरै आउने भएकाले पर्यटनसँगै धार्मिक क्षेत्रको पनि थप प्रचार–प्रसार हुने बताउनुभयो । यहाँका होटल व्यवसायी पनि उत्साहित भएका छन् । अहिले पनि पुलमा फोटो खिच्न र टिकटक बनाउन आउँनेको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।
पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को रिडी, स्याङ्जाको कालीगण्डकी–१ को कारीकोट चण्डीभञ्ज्याङ र पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीलाई आपसमा जोड्ने छ । कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७ दशमलव ४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दूरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लातर्फ पुग्न समान दूरी रहेको छ । मुख्य पिलरको जमिनमुनि १६ मिटर ‘वेल फाउन्डेन’ गरी थप १२ मिटरमा वाक–वे निर्माण गरिएको छ भने वाक–वेबाट २५ दशमलव २३ मिटरको उचाइको टावरमा लठ्ठा कसिएको छ । एक मिटर १५० सेन्टिमिटरमा ठलान गरी रेलिङ राखिएको छ ।