२०८१ वैशाख ७ गते | 19th of April 2024

सन्यासको तयारीमा मेस्सी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २४ गते ११:१३

ब्युनस एयर्स  – अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रुस विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्न्यास लिने सोच बनाएका थिए। सन्यासलाई गोप्य नै राख्न चाहेका मेसीले अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि सन्यास लिने सोच बनाएको समाचार अर्जेन्टिनी टोलीका अन्तरिम प्रशिक्षक लियोनल स्कालोनीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले प्रकाशित गरेका हुन्।

विश्वकपलगत्तै टोलीका प्रशिक्षक जर्ज साम्पाओलीले राजीनामा दिएपछि स्कालोनीले अर्जेन्टिनी टोली सम्हाल्दै आएका छन्। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने वा नलिने भन्ने बारेमा छिट्टै टुंगो लाग्ने प्रशिक्षक स्कालोलीले बताएका छन्। मेसीले अर्जेन्टिनी फुटबल महासंघसँग छलफल गरेपछि मात्र सन्न्यासको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने समाचारमा उल्लेख छ।

यसअघि सन् २०१६ को कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनी टोली चिलीसँग पराजित भएपछि पनि मेसीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेका थिए। त्यसको केही महिनापछि नै मेसीले समर्थक र देशका राष्ट्रपति माउरिसियो माकरीको आग्रमा सन्न्यास फिर्ता लिएका थिए। ३१ वर्षीय मेसीले यसअघि अप्रत्याशित रूपमा सन्न्यासको घोषणा गरेकोले संघ फेरि झस्किएको छ।

दुई वर्षअघि नै मेसीको अप्रत्याशित सन्न्यासलाई रोक्न संघ र सिंगो राष्ट्रले प्रयास गरेको थियो। त्यतिबेला मेसीको अप्रत्याशित सन्न्यासको विषयले विश्व फुटबललाई पनि निकै तताएको थियो। त्यतिबेला विश्वभरका थुप्रै समर्थकले मेसीले लगाउने १० नम्बरको जर्सी लगाएर सडकमा ओर्लंदै उनलाई सन्न्यास फिर्ता लिन अनुरोध गरेका थिए।

यसैबीच, महान् फुटबलर डिएगो म्याराडोनाले पनि मेसीलाई सन्न्यास लिने निर्णयको विषयमा पुनर्विचार गर्न सुझाव दिएका छन्। स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेसीको नामसँग क्लब फुटबलका थुप्रै कीर्तिमान जोडिएका छन्। तर, राष्ट्रका लागि कम्तीमा एउटा ठूलो उपाधि जित्ने मेसीको चाहना भने हालसम्म पूरा हुन सकेको छैन। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा मेसीको टोली अर्जेन्टिना जर्मनीसँग १–० गोलले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *