२०८१ वैशाख ७ गते | 19th of April 2024

विदेशी लिगमा चम्किरहेका नेपाली शान सागर र सन्दिप

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २६ गते ११:४८

काठमाडौं – क्रिकेटर सागर पुन अहिले नेपालको राष्ट्रिय टोलीबाट बाहिरै छन्। पछिल्ला केही महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको कमजोर प्रदर्शनसँगै सागर टोलीमा पर्न असफल भएका हुन्। यद्यपी हाल मलेसियन प्रिमियर लिगमा सहभागी भइरहेका सागरले आफू पुनः लयमा फर्किएको संकेत गरेका छन्। सागरले आफ्नै प्रदर्शनमा क्वालालम्पुरलाई प्रतियोगिताको फाइनलमा पुर्‍याएका छन्। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सेलाङ्गोरलाई दुई सय चार रनको भारी अन्तरले पराजित गर्दै सागरको टोली क्वालालम्पुर प्रतियोगिताको उपाधि नजिक पुगेको हो।

आफ्नो टोलीलाई प्रतियोगिताको अन्तिम दुईमा पुर्‍याउन प्रारम्भिक ब्याट्सम्यान सागरले एक सय नौ रनको शतकीय पाली खेले। उनकै प्रदर्शनमा क्वालालम्पुरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा आएको सेलाङगोर २४.२ ओभरमा ७७ रनमै समेटिएपछि क्वालालम्पुर भारी अन्तरले विजयी बनेको हो।

जारी प्रतियोगितामा सागरको यो दोस्रो शतक हो। उनले यसअघि सेलाङ्गोरविरुद्ध नै भएको समूहगत चरणको खेलमा पनि एक सय रनको शतकीय पाली खेलेका थिए। सागर प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन्। सागरले प्रतियोगिताको नौ खेलबाट आठ पाली खेल्दै चार सय ४२ रन जोडेका छन्। जसमा दुई शतक र एक अर्धशतक समावेश छन्। अल राउन्ड प्रदर्शन गरेका सागरले बलिङतर्फ पनि नौ विकेट लिएका छन्।

मलेसियामा सागर चम्किरहेका बेला वेस्टइन्डिजमा पनि यसै साताबाट सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा बलर सन्दीप लामिछानेले पनि पहिलो खेलबाटै आफ्ने प्रभाव देखाउन थालेका छन्। सन्दीप र उनको टोली सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएलमा पहिलो खेल खेल्दा सन्दीपले प्रभावशाली प्रदर्शन गर्दै दुई महत्वपूर्ण विकेट लिए। उनको सशक्त प्रदर्शनका बाबजुद सन्दीपको टोली सेन्ट किट्स जित हात पार्न असफल भएको छ।

सन्दीपको टोली सेन्ट किट्स गुएना अमेजोन वारियर्ससँग ६ विकेटले पराजित हुन पुग्यो। पहिले ब्याटिङ गरेको सेन्ट किट्सले क्रिस गेलको ८६ रनको मद्दतमा निर्धारित पाँच ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४६ को योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा आएको गुएनालाई सन्दीपले दुई विकेट लिए पनि जितबाट रोक्न सकेन। गुएनाले १५.३ ओभरमा मात्रै चार विकेट गुमाएर जित भेट्टाएको हो।

सन्दीपले गुएनाका प्रारम्भिक ब्याट्सम्यान चादविक वाल्टनलाई नौ रन तथा जासोन मोहम्मदलाई १६ रनमा आउट गराएका थिए। उनको बलिङ निक्कै किफायती देखियो। आफ्नो भागको पूरै चार ओभर बलिङ गरेका उनले मात्रै १२ रन खर्चिएर दुई विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *