२०८१ वैशाख १३ गते | 25th of April 2024

क्रिकेटमा सम्भावना खुल्दै नेपालको भाग्य

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २८ गते १०:२८

काठमान्डौं – नेपाली खेलकुदले वर्षौंदेखि देखेको सपना अन्तत: पूरा भएको छ र त्यो हो, अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने । औपचारिक रूपमा एकदिवसीय टिमको मान्यता प्राप्त भएपछि नेपालले पहिलो पटक गत साता नेदरल्यान्ड्सको भ्रमणसमेत सम्पन्न गरेको छ । त्यस क्रममा दुई खेल भए, नतिजा सबैका अगाडि छ । पहिलो खेलमा नेपाल पराजित भयो भने दोस्रोमा विजयी । यस्तोमा दुई खेलको शृङ्खला १–१ को बराबरीमा टुंगियो । धेरै नेपाली क्रिकेटप्रेमीले दोस्रो खेललाई लामो समयसम्म सम्झने छन् ।

पहिलो खेलमा पनि नेपाल जितको सँघारमा रहेर हार सामना गर्न बाध्य भएको थियो, तर दोस्रो खेलमा भने नेपाल हारको सँघारमा पुगेर जित निकाल्न सफल भयो । एम्स्टर्डममा भएको दोस्रो खेलको अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि दुई रन चाहिएकोमा नेपाल त्यसलाई रोक्न सफल भएको थियो । नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सम्झना गरिने उक्त खेलको अन्तिम ओभरको जिम्मेवारी कप्तान पारस खड्का स्वयंले उठाएका थिए र उनी त्यसमा खह्रो उत्रिए ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले यसरी नै अन्तिम ओभरमा जित निकालिरहेको छ । यस्तोमा प्रशंसकहरूले ख्यालख्यालमै सही, प्रश्न पनि गर्न थालेका छन्, आखिर नेपालले जितका लागि किन यति संघर्ष गर्छ र समर्थकलाई किन यति धेरै रोमाञ्चित हुन बाध्य तुल्याउँछ ? खासमा क्रिकेटको मज्जा पनि यही हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार अबको चार वर्षसम्म नेपालसँग एकदिवसीय टिमको मान्यता हुनेछ । आईसीसीले एकदिवसीय टिमको वरियतामा नेपाली टिमलाई प्रवेश पनि गराइसकेको छ । त्यसैले अब योजनाअनुसार अघि बढ्ने हो भने नेपालले आफ्नो घरेलु मैदानमा खेल्नेछ र सम्भवत: त्यसमा नेदरल्यान्ड्स नै प्रतिद्वन्द्वी हुनेछ । जति बेला एम्स्टर्डममा खेल भैरहेको थियो, सबैले याद गरेको हुनुपर्छ, दर्शकको संख्या निकै कम थियो ।

जति थिए, ती पनि त्यहाँ रहेका नेपालीहरू नै थिए । यही खेल नेपालमा भएको भए, दर्शकको कुनै कमी हुने थिएन । अन्तर्राष्ट्रिय स्तरको एक मात्र खेल मैदान त्रिभुवन विश्वविद्यालयको मैदानमा दर्शकको अपार भिड लाग्ने थियो र दर्शकले खेल हेर्न मरिहत्ते गर्ने थिए । नेपाली क्रिकेटको सबैभन्दा ठूलो विशेषता नै यही हो र यसैले विदेशी टिमलाई समेत लोभ्याउन गरेको छ । भारत, इंग्ल्यान्ड तथा अस्ट्ेरलिया जस्ता केही देशलाई छाडेर टेस्ट मान्यता प्राप्त देशमा पनि नेपालको जति दर्शक हुँदैनन् ।

वास्तवमै शृङ्खला कस्तो रह्यो त ? यसको सटिक विश्लेषण अरू कोही होइन, प्रशिक्षक जगत टमाटाले गरेका छन् । उनको विश्लेषण छ, ‘नेपाली खेलाडीले क्षेत्ररक्षण र बलिङमा राम्रो प्रदर्शन गरेका छन् । ब्याटिङमा पनि केही सुधार आएको छ । यस्तै शृङ्खला खेल्न पाउने हो भने नेपाली क्रिकेटको स्तर अझ बढ्नेछ । हामीले अझ धेरै मौका पाउने हो भने विश्व क्रिकेटका ठूला टिमविरुद्ध पनि उत्तिकै राम्रो खेल्न सक्छौं भन्ने कुरा यो शृङ्खलाले प्रमाणित गरेको छ ।

पारसले पनि यस्तै–यस्तै प्रतिक्रिया दिएका छन् । उनको भनाइ थियो, ‘हाम्रा लागि युरोपको भ्रमण फलदायी रह्यो । हामीले त्यहाँ उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्‍यौं । पहिलो खेलमा हामीले राम्रो सुरुवात त लियौं, तर हाम्रो मध्यक्रमको ब्याटिङ चल्न सकेन, त्यसैले पराजित भयौं । हामीले राम्रो खेलेर पनि पहिलो खेल गुमायौं । दोस्रो खेलमा भने हामीले ऐतिहासिक सफलता आत्मसात् गर्‍यौं ।’ नेदरल्यान्ड्स जानुअघि नेपालले इंग्ल्यान्डमा केही अभ्यास खेल खेलेको थियो, सँगै लर्डसमा दुईवटा ट्वान्टी–२० खेल पनि ।

नेदरल्यान्ड्सबाट फर्किएपछि नेपाली क्रिकेट टिमले काठमाडौंमा फेरि एकपटक उस्तै ठूलो स्वागत पाएको छ । त्यसक्रममा कप्तान पारसले भने— यो शृङ्खलासँगै नेपाली क्रिकेटका लागि सम्भावनाका थुप्रै ढोका खुलेका छन् । अबको काम त्यही सम्भावनाबाट फाइदा उठाउनु हो । नेपालले अबको चार वर्षमा राम्रो गर्न सकेन भने एकदिवसीय क्रिकेटको मान्यता खोसिन सक्छ र त्यस्तो भएको उदाहरण प्रशस्तै छन् ।

अहिले तत्काल भने नेपाली क्रिकेटको नजर एसिया कप छनौटतर्फ मोडिएको छ र नेपालको एक मात्र लक्ष्य हुनेछ, एसिया कपमा छनौट हुने । पारसकै भाषामा, ‘एसिया कप हाम्रा लागि ठूलो अवसरका रूपमा अगाडि छ । हाम्रो योजना भनेको अब एसिया कपमा छनौट हुने हो र यसका लागि हामी योजना बुनिरहेका छौं ।’ एसिया कप छनौट भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ र त्यसमा सहभागी हुनेछन्, नेपालसँगै यूएई, हङकङ, सिंगापुर, मलेसिया तथा ओमान ।

प्रतियोगिताको विजताले मात्र एसिया कपमा प्रवेश पाउनेछ र त्यससँगै पाउनेछ, भारत, पाकिस्तान र श्रीलंका जस्ता टिमसँग खेल्ने अवसर । एसिया कप भदौ ३० देखि युएईमा हुँदैछ । यस्तोमा अब कल्पना गरौं न, नेपालले भारतविरुद्ध खेल्दा कस्तो हुँदो हो ? एकातर्फ पारस र अन्य खेलाडी हुनेछन् भने अर्कातर्फ विराट कोहली र भारतीय खेलाडी । पाकिस्तान र श्रीलंका मात्र होइन, बंगलादेश र अफगानिस्तान पनि एकदिवसीय क्रिकेटमा उत्तिकै बलिया छन् ।

नेपालले उनीहरूसँग पनि खेल्ने अवसर पाउने छ, तर त्यसका लागि सबैभन्दा पहिले छनौट चरणबाट गुज्रिनुपर्नेछ । एकदिवसीय टिमको मान्यता पाएपछि नेपाली क्रिकेटले देख्न सपना पनि ठूलो भएको छ । अब नेपालले देख्न थालेको छ, टेस्ट क्रिकेट खेल्ने सपना । प्रशिक्षक टमाटाले दाबी गरिसकेका छन्— अबको १० वर्षमा नेपालले टेस्ट क्रिकेट पनि खेल्नेछ र त्यसका लागि हामीले निकै मेहनत गर्नुपर्नेछ, जुन कठिन हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *