२०८१ वैशाख ६ गते | 18th of April 2024

नेपाल स्रष्टा समाजद्वारा विभिन्न सम्मानहरूको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ५ गते १४:३१

पुष्पा खनाल, काठमाडौँ, भाद्र ५ गते । नेपाल स्रष्टा समाजले तीनवटा सम्मानहरू आगामी भाद्र ३० गते समाजको साधारण सभा सम्पन्न हुने दिन मै एक बेग्लै र विशेष समारोहका बीच प्रदान गर्ने निर्णय गरेको छ ।  सुभद्रा–विश्वराज स्रष्टा सम्मान यस वर्ष शास्त्रीय शैलीमा साहित्य रचना गर्ने तथा पर्याप्त मात्रामा साहित्य साधना भए तापनि अपेक्षित रूपमा ओझेलमा परेका साहित्यकार स्व. नारायणदत्त शास्त्रीलाई मरणोपरान्त प्रदान गरिने छ ।

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान लामो समयसम्म साहित्य र सञ्चारका क्षेत्रमा सक्रिय रहनुभएकी श्री सिर्जना शर्मालाई प्रदान गरिने छ । यसैगरी प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान समकालीन पुस्ताका प्रखर युवा कवि श्री रमेश शुभेच्छुलाई प्रदान गरिने छ ।  प्रत्येक वर्ष प्रदान गरिने यी तीनवटै सम्मानहरू सम्मानपत्रसहित नगद रू. ११,१११÷– (एघार हजार एक सय एघार) राशिका छन् ।

सुभद्रा–विश्वराज स्रष्टा सम्मान गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो भने दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान यस वर्षबाट प्रदान गर्न लागिएको हो । सोही समारोहमा केही कृतिहरूको लोकार्पणसमेत गरिने समाजले बताएको छ ।

नेपाल स्रष्टा समाजले स्थापना गरेका योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान गत साउन सात गते क्रमशः नीलम कार्की निहारिका र ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । नेपाल स्रष्टा समाजले आफ्नो स्थापनाको दशौँ वर्ष यसै वर्ष सम्पन्न गरेको छ । 

हाल समाजमा देशभित्र र बाहिर गरी एक सय साठी जना विभिन्न प्रकारका सदस्यहरू रहेका छन् । आगामी भाद्र ३० गते हुने साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचनसमेत हुने समाजका अध्यक्ष पवन आलोकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *