२०८१ वैशाख ८ गते | 20th of April 2024

जनसंपर्क समितिको अधिवेशनको माग गर्दै लस एन्जलस च्याप्टर सभापती मदन पाठकद्दारा राजिनामा

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २९ गते ३:५०

लस एन्जलस – नेपाली जनसम्पर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाठकले आफ्नो पदबाट रजिनामा दिएका छन । पछील्लो एकताको अधिवेशनको पदावधी सकिएर पनि बिभिन्न वाहानामा पार्टीको पत्रले जनसंपर्क समितिका हरेक गतिबिधी रोकिएको जनाउंदै नेपाली जनसंपर्क समितिको अधिवेशनको माग गर्दै अध्यक्ष पाठकले राजिनामा दिएको बताएका छन ।

यसअघि नेजस फोर्ट ओर्थ च्याप्टर, डालसका सभापती हरिबोल भन्डारीले पनि आफ्नो पदबाट राजिनामा दिईसकेका छन । निर्वाचित समिती, आ-आफ्ना गुटहरु, विभागहरुको निस्कृयता, दुईटा नेविसंघ, नेजसको समानन्तर देखिने तरुण दल लगायत मजबुत बनाउने भन्दा संस्थाको शक्ती क्षीण हुने समिती र विभागहरुको भारी बोकेर बसेको जनसंपर्क समिती, अमेरिकामा यो दुई प्रभावकारी च्याप्टर सभापतीहरुको रजिनामाले पार्टीको ‘आधिकारीक भनिने; पत्रलाई चुनौती दिंदै अधिवेशनको बाटो तताउन जगाएको छ ।

लस एन्जलस च्याप्टर सभापती पाठकको राजिनामा पत्र :

श्रीमान सभापतीज्यू,
नेपाली जनसम्पर्क समिती, अमेरिका
केन्द्रिय समिती, अमेरिका ।

बिषय : राजिनामा पेश गरेको जानकारीका सम्बन्धमा ।

महोदय,
उपरोक्त सम्बन्धमा नेपाल जनसंपर्क समिति, अमेरिका, साउदर्न क्यालिफोर्नियाको सभापतीको पदबाट आजैका मितिदेखी राजिनामा दिएको जनाउंदै नेजस केन्द्रिय समितिका सभापती, तपाईं आनन्द बिष्ट समक्ष राजिनामा पेश गरेको छु ।

सभापतीज्यू, यो जीवनले मगजमा चेतना बुझ्ने भएदेखी आफ्नै गाउंठाउंको हरियाली रुखहरुमा जोवन हुर्कायो । झापादेखी रगतमा पसेको कांग्रेस दार्जिलिङ्ग पुग्दा पनि उच्च शिक्षा भन्दा नेविसंघ र कांग्रेसको गतिविधीमा समय खर्चियो । ‘ठुलो मान्छे बनोस, मेरो छोरा’ भन्ने माता पिताको चाहना ‘कलम र मशाल’ अंकित झन्डाको शानमा गएर अड्किन्थ्यो । रक्तरंजित चारतारे झन्डाले जीवनमा घोकन्ते विद्धार्थी होईन, सु-विचारित राजनैतीक संस्कारको असल मान्छे बनुम भन्ने लाग्थ्यो ।

कोठाका भित्ताहरुमा जननायक बिपी कोईरालाका फोटा राख्दा कुलदेवताको भन्दा पवित्र फोटो झुन्डाएको गर्व हुन्थ्यो । गणेशमान, कृष्णप्रसाद, सुवर्ण र गिरिजाप्रसादका भित्तामा मैले झुन्डाएका फोटाहरुले दशैंमा सपरिवार खिचिएका फोटाका महत्व घटाईदिन्थे । परेवाको गुंडदेखी गोठको पालीसम्म हामीले टांग्ने ‘रुख र चारताराका’ तोरणले दिपावलीमा टांगिने तोरणको महत्व कम लाग्थ्यो ।

सभापतिज्यू, जीवन परदेशियो । दार्जिलिङ्ग, युरोप हुंदै करिब ११ बर्षदेखी सबैको सपनाको यो मुलुक अमेरिकामा पाईला टेकेदेखी सभापतिज्यू, नेपाली जनसम्पर्कमा लागेर कांग्रेसको राजनीति गर्ने अन्य दाजुभाई तथा दिदी बहिनीहरुजस्तै म पनि सकेको सकृय हुंडै आएं । लाग्थ्यो झापामा उसबखत विश्वप्रकाश शर्मासंग ‘हामीले भोली बेहोर्ने कांग्रेस, समाजवादी समाज र समुन्नत देश’ को सपनामा आ-आफ्नो तर्फबाट गर्न सकिने योगदानको लागि’ हामी जुट्नुपर्छ । त्यसै अभिलाषामा लागियो र बनियो, नेजस लस एन्जलस च्याप्टर र पून: संशोधित साउदर्न क्यालिफोर्निया च्याप्टरको सभापती बनेर ।

म भन्दा अगाडीका अग्रजहरुले एकताको बलमै यो च्याप्टर हांक्नुभयो । पहिले र अहिले स्थानिय या केन्द्रमा देखिनेजस्तो गुट हाम्रा गाउंमा देखिएन । अग्रजहरुको त्यो बाटो र सल्लाह अंगिकार गर्दै आजसम्म पनि जुन हविगत केन्द्रमा छ, त्यो हविगतको एक रत्ती पनि हाम्रो गाउं लस एन्जलसमा छैन । यो राजिनामा दिएर आफ्नो जिम्मेवारीबाट निस्कदैं गर्दा दावाका साथ भन्छु, लस एन्जलस मात्रा सभापतिज्यूले गर्व गर्न लायक च्याप्टर हो, जहाँ कुनै गुट उपगुट र विवाद छैन । यदाकदा केही प्रयास देखिए होलान, तर एकताको शक्तिसंग त्यो प्रयास आजका मितिसम्म असफल छ । मान्छेहरु निर्विवाद ठाउँंमा गुट बनाउने अभिप्रायले राजनीतिको खोल ओडेर समाजसेवामा लागेको ‘कोट’ देखाउंछन, तर म सभापतिज्यू र नेजस केन्द्रिय समितिलाई एउटा निर्विवादित शक्ती(च्याप्टर) दिएर जांदैछु ।

कान्लामा लुकेर विद्रोहीको गोली छलेको वा हाक्का हाक्की तत्कालिन विद्रोही पक्षसंग लडेको धमासे खोल ओडेर नेजसको नाममा नेताका कलश समाउनेहरु धेरै छन । भाउजुलाई घिउ र मह उपहार दिएको नाताले शक्तिका धमास लगाउने धेरै छन । जीवनभर चाकरी र हुक्के भएर सधैंं पद प्राप्तीका लागि गुत निर्माण गर्ने, छक्का पन्जा गर्ने, कहिले एनआरएन भड्काउने त कहिले गुलामीको हुलाकी भएर पद लिई नेपाल गएर आफ्नै मित्रहरुलाई ‘बलको फुर्ती’ लगाउनेहरु पनि धेरै छन, तपाईं हाम्रो वरपर ।

सभापतीज्यू, संगठन निर्माणमा जिरो भएका जिरेहरु हिरो बन्दा आज अमेरिकामा सबैभन्दा शक्तिशाली संगठन किन दिनानुदिन भांसिंदै छ, किन मांसिदैं छ ? हामी संगठनप्रती कत्तिको ईमान्दार छौं भन्ने कुरो एकताको अधिवेशन भनिने डालसमा भएको सम्मेलनमा यो ज्यानले झगडा छुट्टाएको उदाहरण स्मरण गराउन चाहन्छु । हामी विश्वप्रकाशहरुले त्यो जमानामा देखेको बलियो कांग्रेसको बाटोमा छौं या छैनौं भन्ने कुरो आज अमेरिकामा सकृय तरुण दल, दुईवटा नेबिसंघ, अपुरो नेजस केन्द्रिय समितिको बैठक, बैठकमा कोरमको धौ-धौ, निस्कृय विभागहरु, छरपस्ट तथानामका ब्यक्तिगत बक्तब्यहरुले जनाउछन, जनसमपर्क समिती अमेरिका कहाँं छ !

धुपौरेहरुको जगजगी, असली कार्यकर्ताहरु वेवास्ता, संस्थामा हुर्केका ब्यक्तिगत होडबाजी र अनेकन लान्छानाहरुले गांजेको यो दुरावस्थामा पार्टीले पठाएको पत्रको हलो अड्काएर अवधी सकिंएको यो लामो समयसम्म पनि अधिबेशन नहुनु वा त्यसतर्फ ध्यान नजानु दुर्भाग्य हो । सामुदायिक सेवाका लागि खोलिएको जनसंपर्कको दिशा निर्दिस्ट नहुनु बढो दु:खदायी छ ।

सभापतिज्यू, संस्था हो, बैमनश्यताहरु जन्मछन । तर जब ब्यक्ती नै बैमनश्यको पक्षधर हुन्छ र सदैव चाकरीको धुपौरो समाएर समाजसेवा गर्न अघि बढ्छ भने त्यो संस्था कहिल्यै उंभो लाग्दैन, जुन आज हामीले भोगेका छौं । म सम्झन्छु त्यो दिन, विश्वप्रकाशहरुले त्यो बेला देखेका सपना तिनकै भाई चेला भएर प्रवासमा हामीले साकारका लागि के कदम चालेका छौं ? केही स्वार्थीहरुले संगठनको नाममा पदको बलले नेपालस्सम्म चाकरीका लागि न्वारानदेखीको बल लगाए होला, तर ईमान्दार कांग्रेसीहरुले शत्रु बाहेक केही कमाएनन ।

म आफुले अमेरिका आएर आफ्नो काम गर्दा पसिनाको दु:ख र तलब थापेको दिन खुशीको चिया पिउने साथीहरु पाउंथे । परिस्थितिले जनसम्पर्कसम्म ल्याउंदा अबिर घस्नेहरु आज बाटो ढुकेर हातमा कालो मोसो लिएर बसेका छन । हिजो बधाई दिनेहरु आज छुरा ताक्छन । यो सब किन, अब्यब्स्थित जनसंपर्कको अनैतिक साथले । कांग्रेस भनेको यस्तो पार्टी हो, जो प्रतिपक्षसंग विचारको राजनिती गर्न होईन, हिजोका दु:खका साथीहरुलाई घातको बन्चरो हान्न उद्दत हुन्छ । मैले त्यही पाएं, जनसम्पर्कमा लागेर क देखी ज्ञ सम्मका साथीहरु शत्रु बनाएं, शत्रु बने । एनआरएन लगायतका बिभिन्न सामाजिक संस्थाहरुमा कांग्रेसी साथीका कारणले शत्रु बनें, शत्रु कमाए । अंग्रेजी मुलुकमा आएर A देखी  Z बाट नाम शुरुहुने सबै मित्रहरुको नजरमा शत्रु बनें । परिस्थिती र जनसंपर्कले शत्रु बाहेक मलाई केही फाईदा तुल्याएन ।

एउटा च्याप्टर चलाऊन महानगरपालिका चलाएजस्तो शक्ती चाहिने रहेछ । यहाँं त नेताको भक्ती गाएर समाजसेवी बन्ने ढोंग रहेछ । झापाको पानी र विश्वप्रकाशहरुको संगतले मलाई अनैतिकता सिकाएन ।

सभापतिज्यू, मेरो यो आक्रोश होईन, न त राजिनामा धम्की र प्रचार हो । विचार पोख्ने धेरै ठाउंहरु छन । तर आफ्नो सभापती समक्ष वास्तविकताहरु पोख्दा अर्थ लाग्ने सम्झेर यो राजिनामा पत्रले पुराणको रुप लिएको मात्र हो । यो पत्र कसैलाई पढ्ने जांगर चल्यो भने घैंटामा घाम लागोस, कृपया बिपिका नाम बेचेर आफु-आफु शत्रु नबनौं ।

सभापतीज्यू, अन्तमा, हिजो लस एन्जलस च्याप्टर रहंदा र बिधानले साउदर्न क्यालिफोर्निया च्याप्टर बनाएर त्यो कार्यकल सकिएर त्यो बेलामा निर्वाचित कोही भएको भए अब अर्को कार्यकाल आउने बखत हुंदासम्म ‘पार्टीको पत्र’को हलोले दुई कार्यकालको साथमा थप लगभग आधा अर्को कार्यकाल ओगट्दासम्म संस्थाभित्रै जन्मिएका शत्रुहरुको चंगुलले अनिश्चित नेपाली जनसम्पर्क समितिको अधिवेशनको अनिश्चिचितता चिर्दै अबिलम्ब अधिबेशनको मागका साथमा यो राजिनामा पेश गरेको छु ।

आगामी दिनमा नेजस अमेरिका सफलअतातिर लम्कियोस । खुराफात, गुलाम र ब्यक्तिगत होडबाजीले प्रश्रय नपाउन भन्ने शुभकामना दिंदै छिट्टै अधिवेशन आयोजना गरेर यी दुरावस्थाका निराकरण होउन भन्दै सभापतीसमक्ष आजैका मितिदेखी राजिनामा पेश गरेको छु ।
जय नेपाल ।

मदन पाठक
सभापती नेपाली जनसंपर्क समिती, अमेरिका
साउदर्न क्यालिफोर्निया च्याप्टर
लस एन्जलस, क्यालिफोर्निया, अमेरिका ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *