२०८१ वैशाख ७ गते | 19th of April 2024

फ्रान्सलाई विश्वकप जिताउने प्रशिक्षक डेसच्याम्पसको नाममा रंगशाला

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ३१ गते १६:२२

मोनाको – विश्वकप विजेता फ्रान्सको चर्चा जति चुलिएको छ, फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशिक्षक डिडियर डेसच्याम्पसको चर्चा पनि उत्तिकै छ। संयोगवश दुई पटक विश्वकपको उपाधि उचालेको फ्रान्सको उपाधि यात्रामा उनै डेसच्याम्पस नायक बने। फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा टोलीका कप्तान रहेको डेसच्याम्पस रुस विश्वकपको उपाधि यात्रामा मुख्य प्रशिक्षक थिए।

त्यसैले त डेसच्याम्पस अहिले फ्रान्सको वास्तविक हिरो भएका छन्। उनै हिरोको सम्मानका लागि फ्रान्स सरकारले उनको सम्मानका एउटा रंगशालाको नाम नै ‘डेसच्याम्पस रंगशाला’ राखिदिएको छ। डेसच्याम्पसको गृहनगर क्याप डेअलमा रहेको ‘बायानी स्टेडियम’ को नाम डेसच्याम्पस स्टेडियम राखिएको हो। सरकारले खेलाडी र प्रशिक्षकका रूपमा देशलाई विश्वकप जिताउने व्यक्ति डेसच्याम्पसको सम्मानमा रंगशालाको नाम परिवर्तन गरिएको जनाएको छ।

उक्त रंगशालाको डेसच्याम्पस र मोनाकोका राजकुमार प्रिन्स अल्ब्रेटले उद्घाटन गरे। उद्घाटनका अवसरमा डेसच्याम्पसकी श्रीमती, छोरा र सयौं समर्थकको उपस्थिति रहेको थियो। रंगशालाको उद्घाटन गर्दै डेसच्याम्पसले गृहनगरमा आफूलाई जोडेर स्टेडियमको नाम राखिनु आफ्नो र परिवारको लागि ठूलो गर्व र सम्मानको क्षण भएको बताए।

‘यसले मेरो परिवारसँगै साना बालबालिका, युवा र अन्य खेलाडीको मुहारमा पनि मुस्कान छरेको छ। फुटबल खेलमा लाग्नेहरूका लागि योभन्दा खुसी अरु केही हुन सक्दैन,’ डेसच्याम्पसले भनेका छन्। उनी सन् २००१ देखि क्याप डेअलमा बस्दै आएका छन्। डेसच्याम्प २० वर्षअघि फ्रान्सले विश्वकपको उपाधि जित्दा खेलाडीका रूपमा नायक थिए। यसपटक डेसच्याम्पसको प्रशिक्षकमा विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *