२०८१ वैशाख १४ गते | 26th of April 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छ महीनाभित्रै विमान उड्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २० गते १९:५४

काठमाडौँ – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ ।सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महीनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप न्यूनीकरणका लागि केही हदसम्म यो विमानस्थलले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।गौतमबुद्ध विमानस्थलको हाल भौतिकतर्फ ५५ प्रतिशत प्रगति भएको उक्त आयोजना हेर्ने क्यानका निर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । धावनमार्गको काम ६ महीनामा सकिए पनि विमानस्थललाई पूर्णरुपमा सञ्चालनका लागि भने झण्डै एक वर्ष लाग्नेछ । धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानको कामलाई तीव्रता दिइनेछ । सो कार्यका लागि अहिले बोलपत्र आह्वान भइसकेको छ ।

“छ महीनाभित्र धावनमार्गमा विमान उडाउन सकिनेछ, अरु महत्वपूर्ण सञ्चार प्रणाली जडान र भवनको भित्री कामका लागि थप समय लाग्न सक्छ, त्यसैले सिभिल निर्माणसहित सबै प्राविधिक पक्षको काम सकेपछि सन् २०१९ भित्र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउछौँ”, निर्देशक अधिकारीले भन्नुभयो ।

विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने बाँकी काम दुई महीनाभित्र सकिने छ । विमानस्थल परिसरमै रु एक अर्ब लागतको कार्गो भवन निर्माण गरिनेछ, त्यसका लागि प्रक्रिया अघि बढाइएको क्यानले जनाएको छ ।आयोजनाका लागि करीब ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । अहिलेसम्म अधिग्रहण गर्न रु १० अर्ब खर्च भइसकेको छ ।

बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिने अधिकारीले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध विमानस्थलको ६ महीनाभित्रै नयाँ धावनमार्गबाट उडान शुरु गर्ने तथा सन् २०१९ सम्ममा त्यहाँबाट अन्य उडान गरिने बताउनुभयो । उक्त आयोजनासम्बन्धी हालैको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई जानकारी गराउदै मन्त्री अधिकारीले भन्नुभयो, “भैरहवा विमानस्थलको सबै कामलाई सँगसँगै अघि बढाएका छौँ, छ महीनामा अन्तराष्ट्रिय रनवेबाटनै विमान उडाउन सक्र्छौं आपत् पर्दा त्यहा विमान लैजान सक्छौँ ।”

भैरहवा विनमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्रु क्षमता रहेको छ । विमानस्थल निर्माणका लागि रु २३ अर्ब मुआब्जा वितरणमा खर्चनुपर्नेछ । विमानस्थलको पूर्वाधारका लागि मात्रै लागि करीब रु आठ अर्ब लाग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *