२०८१ वैशाख १३ गते | 25th of April 2024

मोविल इन्टरनेशनल फेस्टिभलको भव्य तयारी

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २७ गते २३:२९

अलबमा – अमेरिकाको अलबमा राज्यको मोबिल शहरमा मोबिल इन्टरनेशनल फेष्टिभल (Mobile International Festival) आउँदो नोभेम्बरको १५, १६ र १७ तारिखमा भव्यताकासाथ कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको छ ।

विगत ३५ वर्षदेखि हरेक वर्ष नियमितरुपमा सम्पन हुँदै आएको यो फेष्टिभलमा सन् २०१० बाट उक्त फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्न थालेका युवा व्यवसायी सलामसिह लामाले नेपाल र नेपालीको कला, संस्कृतिलाई अझ बढी प्रचारप्रसार गरिने बताए ।

उनले भने, ‘शुरुमा यस क्षेत्रका अमेरिकीहरुलाई नेपालमा सगरमाथा छ, बुद्ध नेपालमा जन्मेका हुन् र नेपाल पनि एउटा स्वतन्त्र देश हो भन्ने कुराको पनि सामान्य ज्ञान र जानकारी थिएन । हामीले यो फेस्टिभलको माध्यमबाट नेपाललाई चिनाउन सफल भयौं । यसको मुख्य उपलब्धी पनि नेपालमा सगरमाथा छ, बुद्ध नेपालमा जन्मिएका हुन भन्ने जानकारी दिन सफल भएका छौं । पछिल्लो समयमा भने नेपाली कलाकारलाई आफ्नै खर्चमा ल्याएर नेपाली गीत संगीतको माध्यमबाट नेपाल चिनाउने काम गर्दै आएको छु ।’

सन् २०१२ देखि नेपाली कलाकार फेस्टिभलमा ल्याउँदै आएका उनले नलिना चित्रकारलाई ३ पटक, प्रणय राणालाई २ पटक लगेर उक्त फेष्टिभलमा नेपाललाई चिनाउने गीतसंगीतको प्रस्तुति गदै आएका छन् । यसरी कलाकारको माध्यमबाट सांस्कृतिक प्रर्दशन गर्दा नेपाल देश चिनाएर पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

लगातार फेष्टिभलमा जोडिएर सहयोग गर्दै आएका लामाले नेपाली खानाको परिकारको स्टल पनि राख्दै आएका छन् । फेस्टिभलका बोर्ड मेम्बरसमेत रहेका लामाले नेपाल चिनाउने काम गरिरहे पनि नेपाल सरकारकोतर्फबाट कुनै सहयोग पाएका छैनन् । अमेरिकास्थित नेपाली राजदुतावासदेखि नेपाल पर्यटन बोर्डसम्म गुर्हादा पनि कुनै सहयोग नभएको उनले गुनासो गरे ।

यो फेस्टिभेलमा विगत ३ वर्षदेखि नेपाली गीत संगीतबाट नेपाल र सिंगो नेपालीको प्रचारप्रसार गर्न अत्यन्तै महत्वपूर्ण योगदान दिदै आएका कलाकार प्रणय राणाले विदेशमा रहेर नेपालको प्रचारप्रसार गर्न पाउँदा निकै खुसी लागेको बताए । राष्ट्रिय पोशाक दौरा, सुरुवालको सथामा राष्टिय झण्डामा नेपाली राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउँदै आएको उनले बताए । यस पटकको फेस्भिलमा अझ फरकढंगले हिन्दु, बौद्धधर्म र योगालाई समिश्रण गर्दै नयाँढंगले कलाकार अदविती सुब्बाकासाथ संयुक्तरुपमा बेजोड प्रस्तुति गरिने उनले बताए ।

३ दिनसम्म हुने फेस्टिभलमा लगभग २५ हजार भन्दा बढी अमेरिकीले भ्रमण गर्नेछ भने ७० भन्दा बढी देशबाट प्रतिनिधित्व गरिन्छ । बिहिबारको दिन स्कुले विद्यार्थीले फेस्टिभलको भ्रमण गर्दछन् । शुक्रबार कलेजका विद्यार्थी र शनिबार पब्लिकले फेस्टिभल्सको भ्रमण गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *