२०८१ वैशाख ७ गते | 19th of April 2024

राजनीतिक स्थायित्वसंगै नेपाल अब आर्थिक समृद्धिको यात्रामा – महासंघ अध्यक्ष सिंह

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १ गते १७:१५

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताउनु भएको छ । मलेसियाको क्वालालामपुरमा एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नेपालको अबको लक्ष्य आर्थिक समृद्धि नै हो भन्नुभयो ।

नेपाल सरकार समेत समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणा सहित अघि बढिरहेको जानकारी दिँदै सिंहले समृद्ध नेपाल बनाउन निर्माण उद्योगको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । भौतिक पूर्वाधारको विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा राजनीतिक दलहरुको पनि पूर्ण साथ रहेको सिंहको भनाइ थियो । भौतिक पूर्वाधारको क्षेत्रमा विकास गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आय स्तर भएको मुलुक बनाउने तयारीमा सरकार लागेको उहाँले जानकारी दिनुभयो । आफ्नो लक्ष्यप्राप्तिका लागि सरकारले सार्वजनिक नीजि साझेदारीको अवधारणालाई प्राथमिकता दिएको अध्यक्ष सिंहले बताउनभुयो । यसैबीच सम्मेलनबाट इफाप्काको प्रथम उपाध्यक्षमा रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन हुनु भएको छ ।

महासंघका पूर्व अध्यक्ष रहिसक्नु भएका शर्मा र लामिछाने दुवै हाल महासंघका सल्लाहकार हुनुहुन्छ । त्यस्तै इफाप्काको बोर्ड सदस्यमा विरेन्द्रराज पाण्डे चयन हुनु भएको छ । सम्मेलनमा सहभागी हुन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार मलेसिया गएको थियो । सम्मेलनमा सहभागी भएपछि नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ । (इफाप्का) को ४६ औं सम्मेलन नेपालमा आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *