२०८१ वैशाख ७ गते | 19th of April 2024

रेड्क्रसद्दारा सिन्धुलीमा दृष्टिविहीनहरूका लागि छात्रावास निर्माण

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १७ गते १७:२६

सिन्धुली – दृष्टिविहीन छात्रछात्राहरूका लागि निर्माण गरिएको आवासगृहको आज एक विशेष कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।  दुधौली नगरपालिका वार्ड नं. ४, खिरियानीस्थित श्री माध्यमिक विद्यालय, लदाभिरका दृष्टिविहीन बालबालिकाका लागि नेपाल रेडक्रस सोसाइटीले सो आवासगृह निर्माण गरेको हो।

हस्तान्तरणपछि आफ्नो मन्तव्यमा अध्यक्ष थापाले भन्नुभयोः “नेपाल रेडक्रस त सहयोगको माध्यममात्र हो, वास्तवमा यसको मुख्य हकदार विद्यालय, समुदाय र स्थानीय निकाय हुन् । विश्वास छ यस आवासगृहले दृष्टिविहीन बालबालिकालाई सानो सहयोग पुग्नेछ ।” विद्यालयले वि.सं. २०६१ सालदेखि दृष्टिविहीन बालबालिकाहरूलाई आवाससहित शिक्षा प्रदान गरिरहेको छ । तर आर्थिक अभावका कारण ती दृष्टिविहीन विद्यार्थीलाई राख्ने सुरक्षित र आवश्यक न्यूनतम सुविधासहितको आवासगृह निर्माण गर्न विद्यालयलाई कठीन भएको बाल जोखिम सर्वेक्षणबाट थाहा पाएपछि नेपाल रेडक्रस सोसाइटीले आवासगृह निर्माण गर्न पहल गरेको हो ।

अपाङ्गतामैत्री शौचालय, भान्साघर तथा अध्ययन र शयनकक्षसहितको एकतले सो भवनको लागत ३१ लाख ४० हजार नौ सय ७० रूपैँया पैसा रहेको छ । नेपाल रेडक्रस सोसाइटीले सो भवन निर्माण गरेपछि दुधौली नगरपालिकाले अर्को तला निर्माण गरिदिने वचन प्रदान गरेको छ । कार्यक्रममा बोल्दै मेयर घनश्याम राउतले भन्नुभयो ः “नगरपालिकाका अन्य धेरै प्राथमिकता रहेता पनि दृष्टिविहीनहरूको हकमा नगरपालिका निकै नै संवेदनशील रहेको र यस्ता कार्यका लागि नेपाल रेडक्रससँग सँधै हातेमालो गरेर अघि बढ्न तयार छ ।” कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि जुजा किमले भन्नुभयोः “यो आवासगृह तपाईँहरूको हो, यसलाई राम्रो उपयोग गर्नुहोला । यसको उपयोगमा अन्य भाइबहिनीहरूले पनि सहयोग गर्नुहोला ।”

अष्ट्रेलियन रेडक्रसका नेपाल प्रतिनिधि मुकेश सिंहले समावेशी शिक्षा सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद दिँदै यस्तो विद्यालयलाई सहयोग गर्न पाउँदा अष्ट्रेलियन रेडक्रस खुशी भएको बताउनुभयो ।  सिन्ुधली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले सिन्धुली जिल्लामा रेडक्रसले गरेका कामहरूको विषयमा जानकारी गराउँदै बाल, लैङ्गिक तथा अपाङ्गतामैत्री संरचनाको निर्माणमा शाखाले जोड दिइरहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका निर्देशक पुजा कोइरालाले विशेष आवश्यकता भएका व्यक्ति र समुदायको पहिचान गरी उनीहरूको आवश्यकताहरूको सम्वोधन गर्न नेपाल रेडक्रस यसरी नै लागिरहने बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार शर्माले विभिन्न कारणले विद्यालयले राम्रो आवासको व्यवस्था गर्न नसकिरहेको अवस्थामा रेडक्रसले आवास निर्माण गरेर ठूलो सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।  सो आवासगृहमा बस्नुहुने दृष्टिविहीन विद्यार्थी वंशदेव मगरले गर्मीमा तातो र जाडोमा चिसो हुने जस्तापाताबाट मुक्त गरिदिने रेडक्रसलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता अरू सहयोग गर्न आग्रह गर्नुभयो ।

वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार अधिकारीले नगरपालिकाको मुख्य स्थानमा रहेर पनि स्थानीय सरकारको समेत ध्यान जान नसकेको विषयमा रेडक्रसले काम गरेर स्थानीय निकायलाई सहज बनाइदिएको बताउनुभयो । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अष्ट्रेलियन रेडक्रसको सहयोगमा भूकम्प प्रतिकार्यमार्फत् नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रममार्फत् सो आवासगृह निर्माण गरिएको हो । कार्यक्रममा नगरपालिका, स्थानीय निकाय तथा विद्यार्थी र रेडक्रसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *