२०८१ वैशाख १३ गते | 25th of April 2024

निवन्धकार शंकर लामिछानेको स्मृतिमा युवा अन्तर्कृया कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १२ गते ११:३१

काठमाडौँ  –  शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४३औँ स्मृति सभा सम्पन्न भएको छ । इतिहासविद् डा. सुरेन्द्र के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार शंकर लामिछानेको बहुआयामिक व्यक्तित्व र साहित्यिक योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्यााम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासविद् डा. सुरेन्द्र के.सी तथा कथाकार पद्मावति सिंहले शंकर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा युवाका हेराइमा शंकर लामिछाने शीर्षकमा अन्तरक्रियाको पनि आयोजना गरिएको थियो । नेपाली निवन्ध लेखनमा लामिछानेले स्थापित गर्नुभएको चेतनप्रवाहशैली र उहाँको लेखनमा देखिएको शुन्यवाद र विसङ्गतिवादका विषयमा पनि चर्चा गरिएको थियो । निवन्धकार युवराज नयाँघरे, समालोचक डा. ज्ञानु अधिकारी, साहित्यकार रामप्रसाद पन्त र पवन आलोकले शंकर लामिछानेको लेखन कलाबारे चर्चा गर्नुभएको थियो ।

अल्पायुमै दिवंगत हुनुले नेपाली साहित्यलाई अपुरणीय क्षति भएको स्मरण गर्दै छोटो समयमा भएपनि कालजयी रचना पस्किएर नेपाली साहित्य आकाशलाई फराकिलो पार्न उहाँले खेल्नुभएको भूमिका अतुलनीय रहेको सबै वक्ताहरूले बताउनुभयो । युवा पुस्तामाझ शंकर लामिछाने सँधै बाँचिरहने बताउँदै उहाँको साहित्यिक कृतिको उपलव्धता र चर्चा परिचर्चालाई भने नेपाली साहित्यलाई माया गर्नेहरूले निरन्तर गरिरहनु पर्ने वक्ताहरूले बताउनुभयो । अन्तरक्रियामा डा. शान्ति गिरी, जयदेव भट्टराई, किशोर पहाडी, विमल भौकाजीलगायतले पनि नेपाली निबन्ध र साहित्यमा शंकरको उँचो परिचय रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *