२०८१ वैशाख ६ गते | 18th of April 2024

विकासकर्मीहरूका लागि भिडियो डकुमेन्ट्री निर्माणसम्बन्धी अभिमुखीकरण

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १७ गते १२:१८

काठमाडौं – नेपाली विकास अनुभवका कथाहरू विश्वभरका विकासकर्मी तथा सरोकारवालामाझ कसरी पु¥याउने ? यो अहिलेको सरोकार र चासोको विषय हो । यही चासो, सरोकार र आवश्यकता पूरा गर्नेतर्फको सानो पहलस्वरूप नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आइतवार काठमाडौंमा एक दिने भिडियो डकुमेन्ट्री तयारीसम्बन्धी एक अभिमुखीकरण कार्यक्रम चलायो । कार्यक्रममा नेपान सदस्यहरूलगायत विभिन्न संस्थामा आबद्ध रहेका करिब दुई दर्जन व्यक्तिहरू सहभागी भए ।

नेपानको १३० औँ मासिक सेयरिङ छलफल कार्यक्रमअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्माण विशेषज्ञ रमेशकुमार खड्काले विकास कथा तयारी र मोबाइल क्यामरा ह्यान्डलिङका बारेमा प्राविधिक ज्ञान प्रदान गर्नुभएको थियो । सामान्य मोबाइल क्यामराबाट पनि भिडियो कथा तयार पार्न सकिन्छ भन्ने कुरा पनि विभिन्न उदाहरणहरू प्रस्तुत गर्दै उहाँले सहभागीका जिज्ञासा समाधान गरिदिनुभएको थियो । ‘अहिलेको समयमा युट्युबमा विश्वका अधिकांश व्यक्तिहरू आबद्ध भइसकेकोले नेपानजस्ता संस्था वा विकासका सवालमा चासो राख्ने कुनै पनि व्यक्तिले समेत विकास अनुभव र सफलता÷असफलताका कथा राखेर विश्वको ध्यान तान्न सक्ने, अनुभव बाँड्न सक्ने र दर्शक बढी भएमा नियमित आर्थिक कमाइसमेत गर्न सक्ने अवसर छ’, उहाँको भनाइ थियो ।

अभिमुखीकरणका क्रममा नै सहभागीहरुले तत्काल केही भिडियो निर्माण गरी प्रस्तुत गरेका थिए । तयारी भिडियोमा पृष्ठपोषणसमेत प्रदान गरिएको थियो । ‘कार्यक्रमबाट आफू निकै लाभान्वित भएको महसुस भयो,’ सहभागीहरूमध्येका गोविन्द पौडेल (तनहूँ) ले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो । ‘हामीले भिडियो खिच्दा सानातिना कुरामा पनि ख्याल गर्दा रहेनछौं, आज धेरै कुरा थाहा भयो’ कैलालीकी रेखा पाण्डेले बताउनुभयो । ‘आफूसँग थुप्रै कथा छन्, अब ती कथालाई छोटाछोटा भिडियोमा परिणत गरी अरुसँग सेयर गर्नुपर्ने महसुस आजको कार्यक्रमबाट भयो’, अर्का सहभागी विष्णु न्यौपाने (गुल्मी) ले बताउनुभयो ।

छलफल कार्यक्रमको उद्धेश्य प्रकाश पार्दै सम्पूर्ण सहभागीलार्ई स्वागत गर्ने काम नेपानका अध्यक्ष चेतनाथ कणेलले गर्नुभएको थियो भने सहजीकरण नेपान कार्यसमिति सदस्य तथा सञ्चारविद् श्रीराम केसीले गर्नुभएको थियो । नेपानका निमित्त कार्यकारी निर्देशक आशिष पाठकले कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपानसँग आबद्ध सञ्चारविद्हरूको समन्वयात्मक कार्यबाट केही समयभित्रै नेपानको आधिकारिक युट्युब च्यानल खोली उक्त साइटमा नेपालको सहभागीमूलक विकास पद्धति र प्रक्रियाबारेका विभिन्न भिडियो सामग्रीहरू राखिने प्रतिबद्धतासमेत उक्त कार्यक्रममा जनाइएको थियो । विकास नेटवर्किङमा विगत २५ वर्षदेखि क्रियाशील नेपानले विकासकर्मीहरूलाई लक्ष्यित गरी हरेक महिना यसखालका उपयोगी विषयमा निःशुल्क छलफल कार्यक्रमहरू चलाउँदै आएको छ । हाल यस संस्थासँग देशभर फैलिएका करिब ३०० जना विकासकर्मी सदस्य रहेका छन् । सदस्यहरूकै सहयोगबाट नेपानले कोटेश्वरमा एउटा आफ्नै कार्यालय घर पनि बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *