२०८१ वैशाख १४ गते | 26th of April 2024

पशुपतीले के गल्ती गरे र उनको रोजिरोटी खोसियो ?

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ५ गते १७:००

-विन्दु आचार्य पौडेल

आजकल हाम्रो देशमा घटेका घटनालाइ शुष्म रुपमा नियाल्ने हो भने यो देश एउटा चलचित्र जस्तो लाग्छ । त्यो पनि हिरो बिनाको चलचित्र । अब त हिरो आउला भनेर कुर्यो अन्त्यमा भिलेन कै प्रवेश । यस्तो लाग्छ हाम्रो देशमा अब कहिल्यै हिरोको आगमन हुने छैन ।

हाम्रो देश राम्रो, परिवेश नराम्रो । जनता राम्रा नेता नराम्रा । कहिले काहीँ त अचम्म लाग्छ । सुन्दा भाउन्न हुन्छ, देख्दा उदेक लाग्छ ।

मलाइ राजनीतिमा खासै चासो छैन, तर पनि विहान बेलुका अलि विश्वसनिय केही अनलाइन पत्रिका हेर्ने गर्छु । समाचार पढ्दै गर्दा समाजका कुरिति र सरकारको गैह्र जिम्मेबार कामको बिरुद्दमा बोल्न लेख्न मन लाग्छ तर पनि समालिन्छु । होस, म बबुरीले लेखेर के नै सप्रिने हो जस्तो लाग्छ । तर आज आफ्नो कलमलाइ समाल्न सकिन ।

हिजो युट्युवमा पशुपति शर्माको गीत सुने । सुरु देखि अन्त्य सम्म सुन्दा लाग्यो अहिलेका देशको, सरकारको र समाजको चित्रण रहेछ यो गीतमा। देशको खबर पढ्दा मैले जे सोचेकी थिएँ गीतमा त्यस्तै शब्द पाएँ र गायक शर्मालाइ मनमनै सलाम गरेँ । देशले गतिला नेता नपाए पनि एकदुइ जना कलाकार चाहीँ गतिलै पाएको जस्तो लाग्यो । पशुपति शर्मा मेरो मनपर्ने गायक मध्येका एक पनि हुन् । उनका तीज गीत देखि दोहोरी गीत सम्म वर्तमान समाजको यथार्थ बगेको हुन्छ । सलल । त्यसैले होला म मात्रै होइन, लोक गीतलाइ सुन्नै नचाहने अहिलेको युवा पुस्ताले पनि उनका गीत खोजी खोजी सुन्छन् ।

गणतन्त्र ल्याएम भन्छन् फालेम भन्छन् राजा,
त्यै फालेका राजा जस्ता कयौं निस्के आज,
जनताको मुटु भित्र काँडा कतिकति,
डेढ अर्बको हेलिकप्टर चड्छिन राष्ट्रपति

वा ! क्या शब्द छन । क्या प्रहार छ ।
गीत सुरु देखि अन्त्य सम्म सुनिरहँदा हाम्रो त रगत उम्लिन्छ, उता बालुवाटार, सिंहदरबार, निर्मल निबासमा के भयो होला भन्ने प्रश्न मनमा उब्जिएको थियो । एक मनले यो गीत शाशकले पचाउन सक्दैनन भन्ने पनि नसोचेको होइन । बेलुका युटुबमा गीतको भ्यु चेक गरेर सुतेँ । बिहान उठ्दा त पशुपति शर्माको गीत युटुबबाटै हटाइएछ । अनि अचम्म लाग्यो । धिक्कार लाग्यो ।

हामीले गीत सुनेर धित नमर्दै । दुरदराजका जनताले एक पटक पनि गीत सुन्न नपाउँदै गीतलाइ युटुबबाट हटाउन बाध्य पारिएछ । हुन त उनले नेता विरुद्द गीत गाए । राष्ट्रपतिको कुरिति बिरुद्द बोले । प्रधान मन्त्री बिरुद्द खनिए । एउटा स्वतन्त्र देशको सरकारको र्कायशैली बिरुद्ध गित बनाए । जनताले दुइ तिहाइ दिएको सरकारको बिरुद्ध गीत बनाएर सरकारको बेइज्जत गरे । ५ अर्ब भ्रष्टाचार गर्दा पनि कसैले हल्लाउन नसकेका मन्त्रीको जिन्दगीमा एउटा गीत गाएर भुकम्प ल्याइदिए । देशका कर्मचारी बिरुद्ध बोले । भ्रष्टहरुको गुनगान गाइनु पर्थ्यो, तर शर्माले बिरोध गरे अनि निशाना बने ।

कलाकार देशका गहना हुन । कलाकारले आफ्नो कला प्रस्तुत गरेर सरकारलाइ खबरदारी गर्नु कसरी नाराम्रो हुन सक्ला ? कलाकारीता एउटा कलाकारको पेशा हो । गीत गाएर उस्ले आफ्नो परिवार पाल्नु पर्ने हुन्छ । उसको कलालाइ सरकारले नै निमेट गर्न खोज्नु कति व्यवहारिक होला? सरकारले भ्रष्टाचारीलाई लुकाउन उद्दत हुने, बलात्कारी लुकाउने, आफै भ्रष्टाचार्र गरेर सात पुस्ता पुग्ने गरि सम्पति कुम्ल्याउँने अनि तिनै भ्रष्टाचार विरुद्द खबरदारी गरेको एउटा गीत चाहीँ सुन्न नसक्ने कस्तो सरकार ?

पशुपतिले के गल्ति गरेका छन्? उनले गीत गाएर जनतालाइ सजग गराउनु गल्ति हो? उनले अब गीत गाएर परिवार पाल्न पनि नपाउनु? हिजो पन्चायतमा राजतन्त्रको विपक्षमा बोल्दा कलाकारमाथी दमन गरेको सुनिएको थियो । आज आफ्नै आँखाले देखियो । जनता र कलाकारले आफ्नो आवाज बुलन्द गरेर राजा सँग खोसेर लिएको गणतन्त्रले तिनै कलाकारलाइ सास्ति दिएको छ । एउटा प्रजातान्त्रिक देशमा एउटा कलाकार बोल्न नपाउनु जस्तो बिडम्बना अरु के हुन सक्ला? फेरी पशुपतिकै गीतको शब्द सापटी लिएर भन्छु, त्यै फालेका राजा जस्ता कयौं निस्के आज । अब यि सयौं राजालाइ फाल्नको लागी सबै कलाकार जुट्नु पर्ने देखियो । आफ्नो रोजिरोटी जोगाउनको लागी पनि ।

लुट्न सके लुट [गीतका शब्द जस्ताको तस्तै]
– शब्द-सङ्गीत-स्वरः पशुपती शर्मा

हाम्रा गाउँको एउटा भाई थाई शिक्षकमा लड्यो
थाई शिक्षक हुन्छु भनी पढनुसम्म पढयो
बल्ल-बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ
तेस्कै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गाउँको अर्को भाईले सुब्बामा जागिर खायो
दुई बर्षमै घर ठड्यायो काँ’बार पैसो आयो
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

गणतन्त्र ल्यायेम भन्छम फालेम भन्छन राजा
तै फालेका राजा जस्ता कैयौं निस्के आज
जनताको मुटुभित्र काँडा कति-कति !
डेढ अर्बको हेलिकप्टर चढ्छन राष्ट्रपति
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे
सुनकाण्ड खै कहाँ पुग्यो जेल मै छन कि छुटे
ठूलै नेता भ्रष्टाचारी न डराउँछन्-लुक्छन्
कार्याकर्ता कै बुझ्दैनन्, कुकुर जस्तै भुक्छन्
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

हजुर बा नि यसै मरे बाउ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति बिकास कैले गर्छन्
गर्ने काम केहि हैन ठूला-ठूला भाषन
स्वर्ग जस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन
ट्राफिक पुलिस सिट्टी फुक्छ कोइले सुन्ने हैन
तेति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्छ ?
हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

ठेक्दारले नि टेण्डर पार्छ लिन्छ ठेक्कापट्टा
झनै बिजोक पार्छ, छोड्छ काम भ्याउनुको सट्टा
यता गयो लुटेकैछन लुट्छन उता गयो
सबजनालाई लुट्नै पर्छ भन्ने मात्रै भयो
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

ल्याङलुङ गर्ने हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन भाई नामर्द हो भन्छन
अब गर्न छोड्दे कान्छा आदर्शको खेती
केहि न केहि त बुझिस होला भने पछि यति
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *