२०८१ वैशाख १३ गते | 25th of April 2024

मुग्लिनमा नेपालकै दोस्रो ‘आर्क ब्रिज’, वैशाख १ गते सञ्चालनमा आउने

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २१ गते १९:३१

काठमाडौं – मुग्लिनमा त्रिशूली नदीमाथि नेपालकै दोस्रो ‘आर्क ब्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ । यसअघि फागुनमै सञ्चालन हुने बताइए पनि दुई महिना ढिला भएको हो ।

विश्व वैकको १२ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गर्न लागिएको हो । २०७१ सालबाट निर्माण सुरु गरिएको १६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ । चीनमा पढेर आएका नेपाली इन्जिनियरहरुले डिजाइन गरेको दोस्रो आर्क ब्रिज हो ।

पहिलो ‘आर्क ब्रिज’ चोभारमा ट्रायलका रुपमा निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि नेपाली इन्जिनियरहरुले पनि आर्क ब्रिज डिजाइन गरेर निर्माण गर्न सक्छन् भन्ने सावित हुनेछ । आर्क ब्रिज सामान्य पुलभन्दा तुलनात्मक रुपमा बलियो र टिकाउ मानिन्छ भने लागत समेत कम लाग्छ । आर्क ब्रिजमा सवारीसाधनले उत्पन्न गर्ने कम्पन शून्य बराबर हुन्छ ।

पुल महाशाखा प्रमुख दिपक भट्टराईका अनुसार चैत मसान्तसम्म संरचना निर्माण सक्ने र वैशाख १ गतेबाट सञ्चालन ल्याउने तयारी रहेको छ । पृथ्वी राजमार्गअन्तर्गत गण्डकी प्रदेश प्रवेश गर्ने उक्त आर्क ब्रिजको अधिकांश संरचना तयार भइसकेको र अहिले ब्रिजमा ढलानको काम भइरहेको छ ।

ढलान सकिएपछि रेलिङ हाल्ने, एप्रोच रोड बनाउनेलगायतका काम सुरु गरिने छ । यो पुल अप्ठेरा ठाउँहरुमा सहजै निर्माण गर्न सकिने प्रकृतिको हुन्छ । पहाडका अप्ठेरा ठाउँहरुमा निर्माण गर्न सामान्य पुलको तुलनामा सहज हुने भएकाले यो डिजाइन र प्रविधि नेपालमा उपयोगी मानिएको छ । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसीसी मोटरेबल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमनमा सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *