२०८१ वैशाख ७ गते | 19th of April 2024

‘नो इन्भेष्टिगेसन सर्कुलर’पछि प्रचण्ड आश्वस्त, मुद्धाका हल्ला अफवाह मात्र

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ५ गते २१:४८

अमेरिका – श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न भनिएको छ ।

जनयुद्धपछि पक्राउ पर्ने डरले पटक पटक अमेरिका जान डराएका प्रचण्ड यस पटक भने निश्चिन्त भएर श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका आएका छन । उनी अमेरिका टेकेकै दिन अमेरिकाको गुप्तचर संस्थामा उनी विरुद्ध उजुरी परेको थियो । उजुरीमा प्रचण्डलाई ‘परिचित आतंकवादी’ समेत भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ ।

यस्तो उजुरी परेपनि अमेरिकामा उनी पक्राउ पर्ने सम्भावना भने कम छ । सामान्य अवस्थामा थियो भने प्रचण्ड पक्राउ पर्ने सम्भावना थियो । तर, प्रचण्डले यस पटक भने नेपाल स्थित अमेरिकी दूतावासबाट पूरा विश्वास लिएर गएकोले उनी यस पटक अमेरिकामा पक्राउ पर्ने सम्भावना कम रहेको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले ‘नो इन्भेष्टिगेसन सर्कुलर’ जारी गरेपछि अमेरिकामा पक्राउ पर्ने सम्भावना नहुने स्पष्ट पारेका थिए । सोही वार्तापछि प्रचण्डकालागि राजदूतावासले सो सर्कुलर जारी गरेको थियो । सोही सर्कुलर पछि मात्रै प्रचण्ड अमेरिका उडेका हुन् ।

सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोत बताउंछ ।

अहिले अमेरिकामा प्रचन्ड विरुद्ध ‘पक्राउ हस्ताक्षर अभियान’, उजुरी र कालो झन्डाका प्रसंग ब्याप्त रहे पनि ‘निश्चित अवधीका लागि अमेरिका आएका’ उनी विरुद्ध कुनै कदम अमेरिकाले चाल्ने छांट छैन । हल्लाहरु अफवाह मात्रै हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *