२०८१ वैशाख ७ गते | 19th of April 2024

गोरखाका जनप्रतिनिधि कामविहीन

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १८ गते ६:०४

गोरखा, १८ जेठ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित गोरखाका जनप्रतिनिधिहरु अहिले कामविहीन भएका छन् । आफ्ना अधिकारबारे प्रष्ट नीति नआउँदा काममा अन्यौल भएको उनीहरुको गुनासो छ ।
नगरपालिकाका प्रमुखदेखि गाउँपालिकाका प्रमुखसम्मले कार्यालयको नियमित काम गर्न सकेका छैनन् । उनीहरु निर्देशिकाको पर्खाइमा छन् । आफ्नो काम, कर्तव्य र अधिकार बारे अन्यौल हुँदा समस्या भएको उनीहरुको गुनासो छ ।
नियमित र प्रभावकारी काम गर्न निर्देशिका नआएको बताउने गोरखाका जनप्रतिनिधिहरु अहिले के गर्दैछन् त ?


गोरखा नगरपालिकाको मेयरमा निर्वाचित भएका राजनराज पन्त अहिले कार्यालय व्यवस्थापानमा व्यस्त छन् । अघिल्ला वर्षहरुमा छनौट भएका योजनाहरु कार्यान्वयन गराउन उनी लागिपरेका छन् ।
‘भद्रगोल भएका कार्यालयका कामहरु व्यवस्थापन गर्न व्यस्त छु,’ गोरखा नगरपालिकाका प्रमुख पन्तले भने । काम कर्तव्य र क्षेत्राधिकार बारे प्रष्ट नीति नआउँदा काम गर्न अन्यौलता भएको उनले बताए । जसका कारण कार्यपालिकाको बोर्ड बैठक सम्म बस्न नसकेको उनको भनाई छ । जगेडा कोषको योजना कार्यान्वयनमा समेत समस्या भएको पन्तले जानकारी दिए ।
मेयरमा निर्वाचित भएदेखि स्वागत र सम्मान कार्यक्रममा व्यस्त रहेका पन्तलाइ अहिले पनि भ्याई नभ्याई छ । निर्वाचित भएदेखि नै उनलाइ बिभिन्न महिला समूहदेखि संघसंस्थाहरुले स्वागत कार्यक्रम गरिरहेका छन् ।
‘अहिले पनि दिनको ५र६ ठाउँबाट निम्तो आउँछ तर कार्यालय समय वाहेक बिहान वेलुकीको समय पारेर जाने गरेको छु,’ पन्तले भने ।
पालुङटार नगरपालिकाका मेयर दिपक कँडेल पनि कार्यालय व्यवस्थापनमै लागेका छन् । गत बर्ष परेका योजनाहरु फरफारक र अनुगमनमा उनी व्यस्त रहेको उनले बताए ।
निर्देशिका नआइसकेका कारण समस्या भएको र नियमित काम केही गर्न नसकेको उनको गुनासो छ ।
‘बिकासमा खर्च गर्ने कामको अधिकार पाइसकेको छैन, त्यसैले अहिले नयाँ काम शुरु गर्न अन्यौल छ,’ कँडेलले भने । अहिले नाम छुटेका भूकम्प पीडितलाइ कसरी राहत उपलब्ध गराउने भन्ने बारे योजना बनाइरहेको उनले बताए ।
स्वागत कार्यक्रमका लागी धेरै निम्तो आउने गरेपनि आफू नगएको उनले बताए । धेरै काम गर्न नसकेपनि केही राम्रो काम गरेर देखाउने उनको लक्ष्य छ ।
यता सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ पन निर्देशिकाकै पर्खाइमा छन् । आफ्नो काम र अधिकार बारे आधिकारीक निर्देशिका नआउँदा काममा अन्यौलता भएको उनले बताए । उनले पदभारसमेत ग्रहण गरेका छैनन् । निर्देशिकाको अभावमा गाउँकार्यपालिकाको बार्ड बैठक पनि बस्न नसकेको उनको भनाई छ ।
निर्वाचित भएको एक हप्ता सम्म वडा-वडा पुगेका गुरुङ आजभोलि भने फुर्सदिला देखिएका छन् । ‘कार्यकारी अधिकृत र जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार के के हो भन्ने नै प्रष्ट छैन कसरी काम गर्ने,’ उनले प्रतिप्रश्न गरे ।
शहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा भने आफूलाई जिताउने मतदातालाई धन्याबाद दिन व्यस्त छन् । वडा कार्यालयमा वडाध्यक्षहरुलाई पदभार गराउने तयारी भइरहेको उनले बताए । ‘टोल टोलमा स्वागत गर्न भन्दै निम्तो आउछ, त्यतै व्यस्त छु, काम गरौ भने निर्देशिका आएको छैन,’ थापाले भने ।
धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको अवस्था पनि उस्तै छ । निर्देशिका नआएका कारण नियमित काम गर्न सकेका छैनन् । फुर्सदिलो समयमा उनले गाउँपालिका कार्यालय सार्ने योजना सुरु गरेका छन् ।
गुम्दामा कार्यालय तोकिएपनि जनताले अपायक भएको भन्दै माछाखोला या लापुवेसीमा सार्न सुझाव दिएपछि त्यसको प्रक्रिया सुरु गर्न उनी काठमाडौं गएका छन् ।
प्रष्ट निर्देशिकाको अभावमा कार्यालयको खाता खोल्नसमेत नसकेको उनले दुखेसो गरे । निर्वाचित भएसँगै स्वागतका लागी निम्तो आउने गरेपनि उनी भने जान नभ्याएको बताउँछन् ।
भिमसेन गाउँपालिकाका प्रमुख इश्वर पाण्डे गाउँपालिकामा रहेको प्रत्येक वडाको जानकारी लिन व्यस्त छन् । तर स्पष्ट निर्देशिक ऐन नआउदा काममा अन्यौलता भएको उनले बताए ।
‘निर्वाचन अघि संबिधानलाइ टेकेर अलिअलि निर्देश भए अनुसार काम गर्नै प्रयत्न गरेका छौं तर स्पष्ट नीति नहुँदा समस्या भने भएको छ,’ उनले भने ।
उनी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नै बिभिन्न संघसंस्था तथा टोलहरुले आयोजना गरेको स्वागत कार्यक्रममा व्यस्त हुने गरेका छन् । त्यस्तै बिहीवार हुने गाउँकार्यपालिकाको चुनावको तयारीमा आफू लागेको उनले बताए ।
सुलिकोट गाउँपालिका प्रमुख बिष्णु भट्ट निर्देशिका नआउदा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्छन् । के काम गर्ने, कति अधिकार पाउने भन्ने बारे अझै अन्यौल रहेको उनले बताए ।
अहिले भूकम्प पीडितको समस्या समाधानमा लागि परेको उनको भनाई छ । गाउँपालिकाको प्रमुखमा निर्वाचित भएसँगै मतदाता भेटघाटमा व्यस्त रहेका उनी अहिले पनि बिभिन्न ठाउँमा भएको स्वागत कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
गण्डकी गाउँपालिकाका प्रमुख होम बहादुर रानाले निर्देशिका नहुँदा के काम गर्ने भन्ने बारे प्रष्ट नभएको उनले बताए ।
गाउँपालिकाले पाउने अधिकार थाहा नहुदा काम हुन नसकेको उनको भनाइ छ । निर्देशिकाको पर्खाइमा रहेको उनले बताए । त्यस्तै बिहीवार हुने गाउँकार्यपालिकाको चुनावको तयारीमा जुटेको उनले जानकारी दिए ।
आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल पनि निर्देशिकाको पर्खाइमा छन् । सरकारले निर्देशिका सार्वजनिक नगर्दा काम गर्न अन्यौल भएको उनले बताए । ‘निर्देशिका नआएसम्म के काम गर्ने केही थाहा छैन, अन्दधुन्द छ,’ उनले भने ।
वडा कार्यालयमा पदवहाली गरेका जनप्रतिनिधीहरुलाइ निर्देशिका जारी नभएसम्म भूकम्प पीडितको बारेमा अध्ययन गर्न निर्देशन गरेको उनले बताए । तर निर्देशिकाको अभावमा काम भने गर्न नसकेको उनको भनाइ छ ।
अजिरकोट गाउँपालिकाका प्रमुख फणिन्ऽ धितालको समस्या पनि उही छ । ‘निर्देशिका नआइ के आधारमा काम गर्ने, कसरी गर्ने,’ उनले प्रतिप्रश्न गरे । उनले अहिले सम्म पदभार ग्रहण गरेका छैनन् । निर्देशिका नआइ केही काम गर्न नसक्ने उनले बताए । अहिले उनी मतदाता भेटघाटमै व्यस्त छन् ।
चुमनुव्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङसँग भने सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *