२०८१ वैशाख ८ गते | 20th of April 2024

विकास एवम् द्वन्द्वविज्ञ डा. उप्रेतीलाई प्रसिद्ध लेखन सम्मान

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ २० गते ११:३४

काठमाडौं, भदौ २० गते ।
नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आउनुभएका डा. विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित १० हजार रुपैयाँ राशिको उक्त सम्मान प्राप्त गर्ने उहाँ दोस्रो व्यक्ति हुनुहुन्छ । गतवर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त सम्मान प्राप्त गर्नुभएको थियो ।

द्वन्द्व व्यवस्थापन, ग्रामीण विकास एवम् सहभागितात्मक विकास प्रक्रियाका बारेमा नियमितरूपमा कलम चलाई थुप्रै पुस्तक प्रकाशन तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा समेत उल्लेख्य संख्यामा लेख लेखेर राष्ट्रोत्थानमा गहन भूमिका खेलेबापत डा. उप्रेतीलाई उक्त सम्मान अर्पण गर्न लागिएको कुरा पुरस्कार व्यवस्थापक संस्था नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले जनाएको छ । उक्त पुरस्कारका लागि नेपानका अध्यक्ष चेतनाथ कणेलले आफ्ना स्वर्गीय प्रथम सुपुत्र प्रसिद्धको स्मृतिमा रु. १ लाखको अक्षयकोष २०७४ चैत महिनामा नेपानमा स्थापना गरिदिनुभएको छ । उक्त कोषबाट प्राप्त हुने ब्याज रकमबाट हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।

नेपानको २५ औं वार्षिक साधारणसभाका अवसरमा आउँदो भदौ २१ गते शनिवार एक विशेष समारोहबीच उक्त सम्मान अर्पण गरिने कुरा नेपानले जनाएको छ । नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब ३०० जना विकासकर्मीहरू सदस्य रहेका छन् ।

नेपालमा सहभागीमूलक विकास पद्धति प्रवद्र्धनमा नेपानले विगत २५ वर्षदेखि तालिम, गोष्ठी, अनुसन्धान, प्रकाशन, नीति परिवर्तनका लागि पैरवी, नेटवर्किङ, स्रोतकेन्द्र व्यवस्थापनजस्ता कार्यहरू आफ्ना सदस्यहरूमार्फत् स्वयम्सेवी तवरबाट गर्दै आएको छ । सदस्यहरूकै योगदानबाट कोटेश्वर क्षेत्रमा ‘नेपान–घर’ समेत बनिसकेको छ । सहभागीमूलक पद्धति प्रवद्र्धन गर्ने सञ्जालीकृत संस्थाको रूपमा नेपानलाई नेपालमा मात्र होइन विश्वकै एक अग्रणी संस्था मानिन्छ । ‘सहभागिता’ नामक नेपाली म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट नियमितरूपमा प्रकाशन हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *