२०८१ वैशाख १३ गते | 25th of April 2024

म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कार्वाही गर्न महासंघको माग

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ३० गते २:०५

काठमाडौं – म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवखोला नजिक अज्ञात समुहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बी.एन. कन्स्ट्रक्शन प्रा.लि.का प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो । देश निर्माणमा होमिएका व्यवसायीहरुलाई आतंकित पारी पेशाबाटै पलायन गर्ने कुचेष्टाका साथ भएको आगजनीको घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा ल्याई आवश्यक कार्वाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । “व्यवसायी र तिनका उपकरणको सुरक्षाको सवालमा महासंघले राज्यका सरोकारवाला निकाय सबैको पटकपटक ध्यानाकर्षण गराइरहेको सन्दर्भमा त्यस्ता घटनामा कमी नआउनु ठूलो चिन्ताको विषय हो” महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभरका निर्माण व्यवसायीहरु वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को नारालाई साकार रुप दिन विभिन्न प्रतिकूलताका बीच अहोरात्र विकास निर्माणको लागि आफ्नो कार्य क्षेत्रमा खटिएको विज्ञप्तिमा उल्लेख छ । पूर्ण व्यवसायी मैत्री कानून तथा निर्माण सामाग्रीको अभाव, महंगी, चन्दा आतंक, सरकारी निकायबीचको समन्वयमा कठिनाई लगायतका समस्यासँग जुध्दै देशभरका व्यवसायीहरु कार्य क्षेत्रमा खटिएको अवस्थामा व्यवसायी र उनीहरुको उपकरणको सुरक्षामा चरम लापरवाही देखिएको महासंघले जनाएको छ । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । भविष्यमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि महासंघले सरकार समक्ष अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *