२०८१ वैशाख ८ गते | 20th of April 2024

जिरो-विन्ध्यवासिनी सडक १५ दिनमै कोलेपत्रे

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते १:४९

पोखरा, २४ जेठ ।
पोखराको व्यस्त जिरो किमीदेखि विन्ध्यवासिनीसम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम धमाधम भैरहेको छ । आईतबारदेखि थालिएको काम दुईसाता भित्रै सम्पन्न गरिसक्ने तयारी छ । १५ दिनसम्म सवारी आवागमन रोकेर कालोपत्रे थालिएको हो ।
सडक डिभिजन कार्यालय कास्कीका अनुसार उक्त सडक ४ लेनको बनाउन २०७१ साउनदेखि निर्माण थालिएको थियो । एक वर्षभित्र अर्थात २०७२ असार मसान्तमा सक्ने लक्ष्य राखेपनि दुई वर्ष ढिला गरी सडक निर्माण सम्पन्न हुन लागेको हो ।
सडक निर्माण गर्न भ्याटबाहेक १३ करोड ३९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर नवराज बास्तोलाले जानकारी दिए ।
सडक निर्माणको जिम्मा पाएको ‘रमान मृत सञ्जीवनी जेभी’का निर्माण व्यवसायी गौरीप्रसाद उप्रेतीले २०७२ को वैशाखमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीले सडक निर्माणमा ढिलाइ भएको जानकारी दिए । उनले भने, ‘भूकम्प र नाकाबन्दीले एक वर्ष काम गर्न पाइएन, अहिले पूरा गर्दैछौं ।’
सडकको ठेक्काको समयमा भने निर्माण व्यवसायी उप्रेतीको कागजात देखाएर स्थानीय राजेन्द्र भण्डारीले काम थालेका थिए । तर, सडक निर्माणकार्य सुचारु नगरेको र जरिवानामा पर्न सक्ने देखेपछि उप्रेतीले उक्त जिम्मा आफै लिएका थिए । समयमा सडक निर्माण गर्न निरन्तर अनुगमन र ताकेता गरेको इन्जिनियर बास्तोलाले बताए ।
सडक छिटो कालोपत्रे गर्न माग गर्दै स्थानीयबासीले दिनहुँ दबाब दिँदै आएका थिए । सडक निर्माणका क्रममा सवारीले उडाउने धुलोका कारण उक्त क्षेत्रका जनजीवन नै प्रभावित भएको थियो ।
सवारी आवागमन रोकेर सडक कालोपत्रे गर्दा धुलो उँड्ने सम्भावना नरहने र छिटो काम सकिने निर्माण व्यवसायी उप्रेतीले बताए । उक्त सडकको धुलो मार्न दिनहुँ दुई वटा ट्यांकरबाट सडकमा पानी हाँलिँदै आएको छ ।
सडक कालोपत्रेको काम विहानको समयमा गर्न आग्रह गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । साँझपख दिनहुँ पानी पर्ने भएकाले विहान कालोपत्र गर्न लगाइएको हो । कालोपत्रे गरिएको सडक उपयुक्त तापक्रममा नसुक्दै पानी प¥यो भने पिच उक्कने वा गुणस्तर कायम नहुने इञ्जििनियर बाँस्तोला बताउँछन् ।
बाग्लुङ, म्याग्दी, पर्वत लगायत जिल्लाबाट आउने सवारी पोखरा लगायत अन्य ठाउँमा जानसोही सडक प्रयोग हुन्छ । पोखरा–बाग्लुङ मोटरबाटोमा पर्ने उक्त सडक कालोपत्रे भएपछि पोखराको बजार समेत विस्तार हुनेछ ।
हाल न्युरोड र नयाँबजारमा केन्द्रित बजार सडक कालोपत्रे भएपछि जिरो किमी–विन्ध्यवासिनीमा समेत फैलने अपेक्षा स्थानीयबासीको छ । पर्यटकीय क्षेत्र लेकसाइड लागयत ठाउँबाट छुट्ने सवारी सोही सडक भएर महेन्द्रपुल पुग्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *