२०८१ वैशाख ६ गते | 18th of April 2024

कोरोना संक्रमण सतर्कताका लागि जनसम्पर्क समितिको पहलमा सामुदायिक कानुनी र स्वास्थ्य सेवाको शुरुवात

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १२ गते १७:१२

न्यूयोर्क – नेपाली जनसम्पर्क समिति,अमेरिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका विरुद्ध सामुदायिक सतर्कता र समन्वयका लागि एक समिति गठन गरेको छ ।
यसैगरी अमेरिकामा रहेका नेपाली कांग्रेस निकट चिकित्सकहरुको सहभागितामा सहयोग र परामर्श समिति, भाइरस संक्रमणको सम्भावित खतराका कारण बेरोजगार भएका नेपाली समुदायका सदस्यहरुले यस कठीन घडीमा प्राप्त गर्न सक्ने सरकारी सहयोगका लागि नि:शुल्क परामर्शका लागि कानुनी सहायता समिति,राज्यस्तरीय तहमा स्थानीय संघ,संस्था र सरकारी निकायसंग समन्वय गर्न स्थानीय समुदाय समन्वय समिति र समितिका तर्फबाट गर्नसक्ने सहयोगका लागि आर्थिक समिति समेत गठन गरेको छ ।

पछिल्लो समय अमेरिकामा यसको संक्रमण तीव्र रुपमा फैलदै गएको अवस्थामा समितिको सोमवार बसेको केन्द्रीय समिति र च्याप्टर समितिको आकस्मिक संयुक्त बैठकले यस्तो समितिहरु गठन गर्ने र आवश्यक सतर्कताका लागि समुदायका सबै सदस्यलाई अपील गर्दै सचेतता अपनाउन सबैले पहल गर्ने निर्णय गरेको छ । समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न कन्फरेन्स बैठकले सामुदायिक सतर्कता र समन्वयका लागि सभापति विष्टको संयोजकत्वमा केन्द्रीय समितिका सबै पदाधिकारीसहित सदस्यहरुसहित सबै च्याप्टरका सभापति सदस्य रहने गरी एक समिति गठन गर्ने निर्णय गरेको छ । साथै स्थानीय तहमा यसको संक्रमण विरुद्ध जनचेतना जगाउन र सतर्कता अपनाउन समितिको तर्फबाट पहल गर्न सबै च्याप्टरका सभापतिहरुले आ आफ्नो संयोजनमा स्थानीय समन्वय समिति गठन गर्नेछन् ।

यसैगरी समितिका सल्लाहकार डाक्टर विनोद शाह, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल, डाक्टर रितेश भण्डारी, डाक्टर शृष्टि घिमिरे, डाक्टर रुद्र घिमिरे, डाक्टर चिरन्जीवी भट्टराई, डाक्टर अनुप श्रीवास्तव, डाक्टर सन्तोष घिमिरे र डाक्टर रबिन्द्र शाहसम्मिलित कोरोना प्रकोपको संक्रमणबाट जोगिन र आवश्यक सतर्कता अपनाउन के गर्नुपर्छ भन्ने बारे नि:शुल्क परामर्शका लागि नौ सदस्यीय चिकित्सकहरुको परामर्श समिति गठन गरिएको छ ।
समितिका कानुनी सल्लाहकार एवं पूर्व संयोजक खगेन्द्र जीसीको संयोजकत्वमा समितिका सदस्य पिताम्बर भुषाल र अधिवक्ता बासु फुलारा सदस्य रहेको कानुनी सहायता समिति गठन गरिएको छ । समितिले यो प्रकोपको संकटका कारण बेरोजगार भएका समुदायका सदस्यहरुले प्राप्त गर्नसक्ने सुविधा लिने कानुनी आधारहरुका बारे आवश्यक सहयोग गर्नेछ । समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गको संयोजकत्वमा कोरोना संक्रमित समुदायका सदस्यहरुलाई सरकारी निकायबाट प्राप्त हुने सहयोग र श्रोत परिचालनका लागि अर्को एक समिति गठन गरिएको छ । समितिका उपसभापति केशब बराललाई संक्रमित समुदायका सदस्यलाई समितिले गर्न सक्ने आर्थिक सहयोगको श्रोत परिचालन र समन्वयका लागि जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी समितिका प्रचार विभाग प्रमूख गौतम दाहाललाई यसको बढ्दो संक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सतर्कताका लागि आवश्यक प्रचार प्रसारका लागि समन्वय गर्न समेत बैठकले जिम्मेवारी दिएको छ । बैठकमा विशेष आमन्त्रितको रुपमा सहभागी हुनु भएका कानुनविद खगेन्द्र जीसी र चिकित्सकद्वय विनोद शाह र केशव पौडेलले कोरोना प्रकोपको यो आपतकालीन अवस्थामा आफुहरु नेपाली समुदायको लागि आफ्नो तर्फबाट नि:शुल्क सेवा र सहयोग गर्न तयार रहेको भन्दै जनसम्पर्क समितिले गरेको पहलको सह्राहना गर्नुभएको थियो । समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले संचालन गरेको बैठकमा सभापति विष्टले समिति समुदायको हितका लागि सधैं क्रियाशील रहेको भन्दै संकटको यस घडीमा सबैलाई आवश्यक समन्वय र पहलका लागि अनुरोध गर्नुभएको थियो, न्यूयोर्कबाट प्रकाशित हुने नेपालयन्युजले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *