२०८१ वैशाख ८ गते | 20th of April 2024

दुई चरणमा भर्चुअल कविगोष्ठी, नेपाल र अमेरिका एकै स्क्रीनमा

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख १९ गते २१:००

काठमाडौँ, वैशाख १९ गते । नेपाल श्रष्टा समाजको आयोजनामा काठमाडौँमा प्रविधिमैत्री (भर्चुअल) रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण गत वर्ष चैत्र ११ देखि मुलुक बन्दाबन्दी अवस्थामा रहेकाले सर्जकहरूलाई सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम गरिएको समाजका अध्यक्ष कवि विधान आचार्यले बताउनुभयो । कवि आचार्यले आगामी दिन बन्दाबन्दी लम्बिए वा नलम्बिए पनि नेपाली साहित्यलाई विभिन्न माध्यमबाट सार्वजनिक गर्न सकिने विश्वासका साथ हाल उपलब्ध ‘जुम’ सुविधामार्फत् यस्तो रचना वाचन कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

आ–आफ्नै निवासमा रहनु भएका स्रष्टालाई आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्य साधक तथा अभिव्यक्ति द्वौमासिकका संस्थापक सम्पादक, प्रकाशक नगेन्द्रराज शर्माले यस्तो प्रविधि र सुविधाबारे आफूले कल्पना नै नगरेको बताउँदै काठमाडौँबाट बाहिर र बाहिरबाट यहाँ पैसा तथा समय खर्च गरेर कविता वाचन गर्न जाने प्रवृत्तिलाई प्रविधिमैत्री रचना वाचन कार्यक्रमले विस्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । आफूले जीवनमा ठूला राजनीतिक परिवर्तन भोगेको, सात दिनको हिडाइपछि घर (रामेछाप) बाट काठमाडौँ आएको, अमेरिकामा टेक्सीभित्रै फोन देखेर रोमाञ्चित भएको घटना सुनाउँदै प्रमुख अतिथि शर्माले भन्नुभयो–‘प्रविधिमैत्री (भर्चुअल) रचना वाचन कार्यक्रममा पहिलोपटक प्रमुख अतिथि बन्न पाउनु आफ्ना लागि नयाँ अनुभव र गौरव हो ।’ दुई सत्रमा भएको कार्यक्रमको पहिलो सत्रमा १८ जना साहित्यकारले कविता, गीत, मुक्तक, गजल र लघुकथा वाचन गरेका थिए ।

आख्यानकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, पूर्व प्रशासक तथा लेखक पुष्पप्रसाद लुइँटेल, जरा मूर्तिकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठ, विधान आचार्य, नियात्राकार तथा कवि पवन आलोक, तथा सर्जकहरू काशीराज आचार्य, देविका तिमिल्सिना, विजयध्वज थापा, ललिता दोषी, चेतनाथ कणेल, सीता भण्डारी कणेल, त्रिभुवनचन्द्र वाग्ले, रञ्जना निरौला गोकुल अधिकारी, देवा अधिकारी, शशी थापा पण्डित, सुशीला खड्का हसिना, सुमन थापा सङ्गमले रचना वाचन गर्नुभएको थियो । दोस्रो सत्रमा गरिएको रचना वाचनमा नेपालबाट विधान आचार्य (ललितपुर), पवन आलोक, काशीराज आचार्य, राजेन्द्र शलभ, मोमिला, राधिका कल्पित, सुमन थापा (काठमाडौँ) प्रकट पगेनी शिव (पोखरा), धनराज गिरी (चितवन), राधा भट्टराई (इटहरी) र अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आउनु भएका कविहरू गोपाल रेग्मी, प्रेम सङ्ग्रौला, नीरा शर्मा, अमृता नेपाललगायतले रचना वाचन गनुभएको थियो ।

दोस्रो चरणः नेपाल र अमेरिकाका कविको गुणात्मक वाचन  

यसै गरी लगत्तै अर्को चरणमा गिरएको काव्य पाठमा नेपालबाट विधान आचार्य (ललितपुर), पवन आलोक, काशीराज आचार्य, राजेन्द्र शलभ, मोमिला, राधिका कल्पित, सुमन थापा, (काठमाडोँ), प्रकट पगेनी शिव (पोखरा), धनराज गिरी (चितवन), राधा भट्टराई (इटहरी) तथा नेपालबाट गई हाल अमेरिकाका विभिन्न राज्यका सहरमा बसोबास गरी अएका कविहरू सर्वश्री गेपाल रेग्मी, प्रेम सङ्ग्रौला, नीरा शर्मा, अमृता नेपाल अदिको उपस्थिति थियो ।

यस श्रृङ्खलामा कविहरूले मानवका अन्तर्वैयक्तिक सम्बन्ध, मानवीय व्यवहारमा देखा पर्ने श्रृङ्गारिकता, लैङ्गिक विषमता, प्रकृति, समसामयिक राजनीतिक र सामाजिक विषय आदिका सुन्दर कविताहरू वाचन गरेका थिए । यस गोष्ठीका लागि स्थानीय समयको अनुकूलता नभए पनि कविहरू इच्छुक प्रतिनिधि कविहरूको जमघटले कार्यक्रम उच्चकोटिको भएको थियो ।

अमेरिकाबाट संयोजनमा सघाउने कवि श्री रेग्मीले यस्ता गोषठीबाट विदेशमा रहेर नेपाली साहित्यको श्रीवृद्धिका लागि लागिपरेका साहित्यकार र नेपाली भूमिमै बसी लेखिरहेका साहित्यकाबारका बीचमा अन्तर्क्रिया भई दुवै पक्षलाई लाभ हुने बताउनु भयो । साथै सो अवसरका यस्ता भर्चुअल गोष्ठीहरू एक नियमित अन्तरालमा गरिरहनुपर्ने आवश्यकता औँल्याइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *