२०८१ वैशाख १३ गते | 25th of April 2024

महाकालीको दुःखमा मेचीको मल्हम

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १२ गते १५:१८

काठमाडौं, जेठ १२ गते । नेपाल स्रष्टा समाजले मेची अञ्चलका साहित्यकारहरूसँग आज रचनावाचनसहित साहित्यिक साक्षात्कार गरेको छ ।

मेचीका गुञ्जन नाम दिइएको यस कार्यक्रममा वर्तमान परिवेशमा देशले भोगेका दुःखहरूलाई कविता, गजल, गीतका माध्यमबाट प्रस्तुत गरियो । कार्यक्रममा मानवीय संवेदना, राष्ट्रभक्ति, मातृवियोग, प्रेम र वात्सल्यताका पोकाहरू खुले र गुञ्जिए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको इलाम भावभूमि भएको कविता अंशबाट सुरु भएकोे कार्यक्रममा कविहरू खगीन्द्रा खुशी, केशव आचार्य, शिशिर भट्टराई, शिव रेग्मी ‘प्रणत’, मधु केरूङ, लीला अनमोल, विवेक निशानी, सन्देश सुब्बा, टङ्क विकल्प, प्रेम ओझा, मुनाराज सेर्मा, प्रकाश बुढाथोकी, गणेश निरौला, विमल वैद्य, पुष्पा खनाल, र पुण्य खरेलले आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

नेपाली साहित्यमा पूर्वाञ्चल क्षेत्रको प्रभाव र त्यहाँका कविले प्रयोग गर्ने विम्बका प्रभावशालीपनका विषयमा दीपक लोहनीबाट चर्चा भयो । समालोचक पुण्य खरेलले वाचित रचनाहरूमाथि समीक्षात्मक विचार राख्दै कविताहरूमा भएका राष्ट्रिय भाव, श्रृङ्गारिकता, समसामयिक जीवनका उतारचढाव, लैङ्गिक तथा जातीय असंवेदनशीलता आदि उल्लेख हुनुले तिनले वर्तमानको युग बोलेका बताउनुभयो । महाकाली दुखेका बेला मेचीका गुञ्जनहरूको राष्ट्रिय प्रभाव भएको औँल्याइएको थियो ।

नेपाल स्रष्टा समाजले बन्दाबन्दीको यस समयमा साहित्यकारहरूलाई इन्टरनेटका माध्यमबाट आपसमा जोडिने वातावरणको सिर्जना गर्न समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *