२०८१ वैशाख १३ गते | 25th of April 2024

रुकुम पश्चिम घटनामा संसदीय छानबिन समिति गठन गर्न माग, गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १३ गते १४:३३

काठमाडौँ  – गृहमन्त्री रामबहादुर थापाले सरकारले रुकुम पश्चिमको चौरजाहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।प्रतिनिधिसभाको   मंगलबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै गृहमन्त्री थापाले यही जेठ १० गते रुकुम पश्चिमको चौरजाहारी वडा नम्बर ८ भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले रुकुम पश्चिमको चौरजाहरीमा अन्तरजातीय प्रेम सम्बन्धपछि विवाह गर्न जाजरकोटबाट आएका केटा पक्षका १९ जनाको समूह र केटी पक्षबिच भएको झडपपछि तीन जनाको शव भेरी नदीमा भेटिएको र तीन जना बेपत्ता रहेको जानकारी गराउँदै बाँकी अन्यलाई भने परिवारमा जिम्मा लगाइएको जानकारी दिनुभयो ।
गृहमन्त्री थापाले बेपत्ता रहेकाहरूको खोजी गोताखोरमार्फत भइरहेको पनि जानकारी गराउनुभयो ।गृहमन्त्री थापाले सामाजिक कुरीति र चिन्तनको अन्त्यका लागि विभिन्न कानुनहरू निर्माण भएको र कानुन अनुसार दोषीलाई कारर्वाही हुने बताउनुहुँदै घटनाको छनवीनमा राज्यको तर्फबाट कुनै पनि प्रकारको राजनीतिकरण नहुने स्पष्ट समेत पर्नुभयो ।

उहाँले घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको जानकारी गराउनुभयो ।यसअघि, बैठकमा समय माग गर्दै सांसदहरू मीनबहादुर विश्वकर्मा, पार्वती विसुंखे र रेणुका गुरुङले मुलुकमा नै सबैभन्दा ठुलो जातीय घटनाका विषयमा सरकारको जवाफ माग गर्नु भएको थियो ।उहाँहरूले चौरजाहारी घटनामा मारिएका तीन जनाको लास भेटिएको र तीन जना अझै बेपत्ता रहेको भन्दै मुद्दा तोडमोड नगरी बेपत्ताको खोजवीन गर्न, मृतकको परिवारलाई राहत उपलब्ध गराउन, घाइतेको उपचार गर्न र दोषीलाई कारबाही गर्न माग समेत गर्नुभयो ।

बैठकमा सांसद जनार्दन शर्माले रुकुम पश्चिमा भएको घटना अध्ययन गर्न जाजरकोट र रुकुमको प्रशासन लागेको र दोषीमाथि कारबाही गर्न आफूहरूले सहयोग गरिरहेको र छानबिन हुने बताउनुभयो ।उक्त क्षेत्रको जनप्रतिनिधि समेत रहनु भएको सांसद शर्माले घटनापछि तीन जनाको लास भेरी नदी किनारमा भेटिएको र तीन जनाका बेपत्ता रहेको भन्दै समिति बनाएर भए पनि घटना छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।रुकुम पश्चिमको चौरजाहारी घटना इतिहासकै निर्मम जातीय घटना भएको भन्दै यसलाई राजनीतिक करण नगर्न र छिटो छानबिन गरी दोषीलाई कारबाही हुनु पर्नेमा सांसदहरूले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *