२०८१ वैशाख ११ गते | 23rd of April 2024

९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १४ गते १४:४७

काठमाडौँ –  नेपालमा ९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ। अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा पाँच लाख आठ हजार २ सय २० जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको पाइएको छ।आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ। सन् २०१५ सम्ममा १५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेकामा अहिलेसम्म २१ प्रतिशत नागरिकमा पहुँच पुगेको छ। यो अवधिमा २१ शहरी तथा अर्धशहरी खानेपानी आयोजना सम्पन्न भएका छन्। यसबाट दुई लाख ६२ हजार ६८१ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवा पुगेको छ। सबै नागरिकलाई यस किसिमको खानेपानी पुर्‍याउनु अझै चुनौतीका रूपमा रहेको सर्वेक्षणले देखाएको छ।

विसं २०७२ को भूकम्पका कारण एक हजार ३०० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेकामा गत फागुनसम्ममा ५०८ आयोजनाको पुनःनिर्माण र पुनःस्थापना सम्पन्न भएको छ।यसबाट दुई लाख १३ हजार ९४२ जनसङ्ख्या लाभान्वित भएको पनि सर्वेक्षणले देखाएको छ। फागुनसम्ममा नै वाग्मती, गण्डकी र प्रदेश नं ५ मा ९२ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच पुगेको पाइएको छ।

त्यस्तै कणार्ली प्रदेशमा ८७ प्रतिशतमा मात्रै आधारभूत खानेपानीको पहुँच पुगेको छ। गत आवको अन्त्यसम्ममा आधारभूत खानेपानीको पहुँच पुग्ने जनसङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा बढी र कणार्ली प्रदेशमा सबैभन्दा कम थियो।

गत असार मसान्तसम्ममा गण्डकी प्रदेशमा ९० दशमलव नौ प्रतिशतमा र कणार्ली देशमा ८७ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको थियो।सुक्खा र पहाडी बस्तीमा खानेपानी सुविधा उपलब्ध गराउन एक हजार मिटरमाथिसम्म पानी पम्प गर्ने दुई ‘मल्टिस्टेज लिफ्ट’ प्रणालीका आयोजना सम्पन्न भएका छन्।यी आयोजनबाट १८ हजार ५६१ जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको विस्तार भएको छ। यो अवधिमा नयाँ खानेपानी आयोजना ६४ र सेवा पुनःस्थापना भएका १३ आयोजना सम्पन्न हुँदा यसबाट ५७ हजार २३७ जनसङ्ख्या लाभान्वित भएका छन्।उच्च र मध्यमस्तरका १० आयोजना सम्पन्न भएको छ। यसले गर्दा एक लाख ७० हजार ४२४ जनसङ्ख्या लाभान्वित भएका छन्।

गत फागुनसम्ममा नै काठमाडौँ उपत्यकाभित्र १५ दशमलव ६१ थोक वितरण प्रणाली र १५५ किमी वितरण प्रणालीको काम सम्पन्न भएको छ।थोक वितरण प्रणाली कूल ७७ किमी र खानेपानी वितरण प्रणाली एक हजार १५० किमी रहेको छ।

आब २०६६/६७ मा नेपालमा आधारभूत खानेपानीको पहुँच ८० दशमलव चार प्रतिशत र आधारभूत सरसफाइमा पहुँच ४६ दशमलव एक प्रतिशत जनसङ्ख्यामा थियो। त्यसयताका वर्षहरुमा खानेपानी र सरसफाइ दुवैमा पहुँच विस्तार भइरहेको छ। विसं २०७२/७३ मा आधारभूत खानेपानीको पहुँच ८७ प्रतिशतमा र आधारभूत सरसफाइको पहुँच ८७ दशमलव एक प्रतिशतमा पुगेको थियो। चालू आवमा आइपुग्दा आधारभूत सरसफाइ शतप्रतिशत र आधारभूत खानेपानीको पहुँच ९० प्रतिशतमा पुगेको हो।

गुहेश्वरीस्थित फोहर पानी प्रशोधन केन्द्रको स्तरोन्नतिको काम ९२ दशमलव छ प्रतिशत सम्पन्न भएको छ । गोकर्णबाट गुहेश्वरीसम्म वाग्मती नदीमा मिसिएको फोहर पानी प्रशोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको सो केन्द्र आंशिकरूपमा सञ्चालनमा थियो।देशलाई आधारभूत सरसफाइको पहुँच विस्तार गर्दै गत असोज १३ मा मुलुक खुला दिसामुक्त राष्ट्र घोषणा भएको थियो।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९४ दशमलव एक प्रतिशत पुगेको छ।मेलम्ची दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट पथान्तरण गरी मेलम्चीमा मिसाउने गरी आयोजनाको विस्तृत इञ्जीनियरिङ डिजाइनको काम भइरहेको छ।यी खोलाको पानीसमेत गरी दैनिक ३४ करोड लिटर पानी थप हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *