२०८१ वैशाख ७ गते | 19th of April 2024

देश, लोकतन्त्र र कॉंग्रेसका हितका निम्ति पार्टीभित्र निशर्त एकता

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ७ गते १:०९

हेमराज भट्ट
लस एन्जलस, अमेरिका ।

नेपाली कॉंग्रेसका सभापति श्री शेर बहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुनासाथ फेरी कॉंग्रेस भित्रबाट लोभ,स्वार्थ र पदका लागि शुरूको दिन देखिकै बिभिन्न समुह उपसमुह अरू के के उपनामहरूमा कुण्ठाहरू फुलाईदैछ, यसले नेपाली कॉंग्रेस पार्टी र यसका हजारौं हजार ईमान्दार कार्यकर्ताहरू कोही कसैको हित र भलो गर्दैन, यसलाई समयमा नै हामी सबैले आ आफ्नो ठाउँबाट निरूत्साहित गर्दै बॉंकी दुर्घटनाबाट पार्टीलाई जोगाई देशलाई राजनितिक निकास दिंदै बिकास, उन्नति र प्रगतिको बाटो हिडाउनु पर्ने सुनौलो ऐतिहासिक र गहन जिम्मेवारी कॉंग्रेसको कॉंधमा आएको छ, नेपाली जनताहरूको समृद्धिको चाहना पुरा गर्नुपर्ने मुख्य मुध्दालाई ओझेलमा पार्नेगरी कुनैपनि बाहनामा हामी अल्झियौं र आफु आफुमा मात्र जुँगाको लडाई मा सिमित भयौं भने नेपाली कॉंग्रेसका लागि यो नै अन्तिम अबसर हुनसक्छ।

नेतृत्वमा रहनुभएका नेताहरूले आफ्नो क्षमता र ईच्छाशक्ति देखाउने यो उचित समय हो, बिश्व राजनितिको हरेक कठिन कालखण्डमा मात्र असल राजनेताको उदय भएको ईतिहास छ र नेपाल त्यो दिनको ब्यर्ग प्रतिक्षामा रहेको धेरैभयो, देशको सामु बिध्यमान समस्या र चुनौतिलाई एउटा बिशेष अबसरको रूपमा ग्रहणगर्दै आपसी सद्भाब, भाईचारा र मेलमिलापका साथ पार्टी र सरकारमा सफल नेतृत्व दिनसक्दा नेपालले कॉंग्रेसकै पालामा कॉंचुली फेर्नसक्छ र यसको फाईदा चिरकालसम्म हामीले नै लिनसक्छौ। यसका लागि हामीसबै बिना लालच र नि:सर्त एकजुट भई अनिवार्य रूपमा अगाडी बढ्नुपर्ने परिस्थिति छ। २०४६ सालको एेतिहासिक परिवर्तन पश्चात हाल शिर्ष नेतृत्व र त्यसको वरिपरी रहनुभएका तपाईहरू मध्यधरैले लगानीको ब्याज मात्र होईन त्यो भन्दा कयौं गुणा बढी पार्टीको नाममा राज्यबाट पद र सुबिधाहरू लिईसक्नु भएको छ। मैले के पॉंए होईन ? के पाईन त ? अब पाउन बॉंकी के त ? अरू साथीहरूलाई हेरेर होईन आफैले बिगतका दिनमा निर्वाह गरेको भुमिकालाई फर्किएर हेरेर शितल दिमागले सोच्नुभयो भने यसको उत्तर आफै पाउनु हुनेछ। नेपाली कॉंग्रेस पार्टीमा तपाईहरू जस्ता हजारौं हजार अरूपनि यस्ता योध्दाहरू, जिउँदा शहिद र शहिद परिवारहरू छन् जो लोकतन्त्र प्राप्तिका लागि पंचायती ब्यबस्थाको अध्यारो कालखण्ड र त्यसपछिका अन्य राजनितिक घटनाक्रममा घरपरिवार, रोजगार, ब्यापार, शिक्षा आदी केही नसोचि बर्षौ बर्षसम्म खाली चिसोभुईमा न कुनै बिछ्यौना न कुनैखाना दिनरात केहीको पनि प्रबाहनगरी आफ्नो युवापनको जोस जॉंगर जति सबै नयॉंपुस्ता र देशको उज्वल भबिष्यको निमित्त सुम्पने र कुर्वानी गर्नेहरू,यौवनका सुन्दर दिनहरू फासिष्ट निरंकुश ब्यबस्थाका बिरूध्द लडेका कैयौं ति ईतिहासका जिउँदा साक्षीहरू आज नेपाली कॉंग्रेस पार्टीभित्र मेरो कहॉं के अस्तित्व छ भनेर खोज्दैछन्,रूमलिएकाछन् र भौतारिनु पर्ने स्थिती बढ्दै छ,आफुसंगैको समकक्षी तपाई साथीहरू पटकौं पटक सांसद, मन्त्री र अन्य लाभको पदमा निरन्तर बहाल रहँदापनि उहॉंहरू निष्ठा र समर्पणका साथ अटल र अबिचलित रूपमा संदा पार्टी र देशको लागि सकृय रहदै आएका छन्।

लोकतन्त्र र नेपाली कॉंग्रेसलाई जिवन्त राख्नाको लागि जीवनभर लडेका कार्यकर्ताहरूको संरक्षण र ब्यबस्थापन गरी पार्टी र सिंगो देशलाई अगाडी बढाउनुको सट्टा आपसी कलह र पद प्राप्तिका लागि लडाई भएको आभाष सर्बत्र हुन थालेको छ। कुनैपनि मोह र लाभ संग सम्झौता नगरी उनीहरूले आफ्नै जीवनकालमा नै देख्ने र भोग्ने किशिमको एउटा असल, मर्यादित र बिशिष्ट बैज्ञानिक पध्दतीको थालनीका लागि गरेको त्याग र समर्पणको पदमा वहाल हुनेहरू कोही कसैले प्रसंसा गरिदिनु, संझिदिनु र शब्दमा बोलिदिनु त परै जाओस् सुन्न पनि नपरे हुन्थ्यो जस्तो गर्छन् या चाहादै चाहादैनन् जस्तो ब्यवहार गर्दछन्।२०४८ सालको आम चुनावपछि उच्च नेतृत्वमा पुग्न सफल केही नगण्य नेताहरू बाहेक अन्य धेरै जसोको राजनितिक हैसियत र अस्तित्व समान र बराबर थियो र छ तरपनि लाभका निमित्त संगैका साथीभाई लाई पछार्नका लागि जस्तोसुकै कदम,ब्यबहार गर्न र चाकरी गर्नमै तल्लिन भई त्यसको निरन्तर राजनितिक फाईदा लिएका छन्, यसले आम कार्यकर्ताहरूको मनोवल गिर्दछ, यस्तो किशिमको गलत प्रबित्ति र संस्कार नेपाली कॉंग्रेस र सिंगो राजनितिमा हुर्कियो या मौलायो र यसलाई समयमा नै निराकरण र समाधान गर्नेतिर हामी सबैले ध्यान दिन सकिएन भने यसबाट आउने परिणाम भयाबह र डरलाग्दो हुन्छ। यस्ता किशिमका गतिबिधीहरूले नेपाली कॉंग्रेसको स्थापनाकालिन सिध्दान्त र बिचारमा ठुलो क्षयकरण गरेको छ। यो पार्टीको बिशेषता भनेको कार्यकर्ताहरूमा एकआपसमा रहेको भाईचारा, स्नेही स्वभाब र लोकतान्त्रिक संस्कार नै हो, यसलाई जिबित र अक्षुण राख्नको सट्टा सधैं आपसी भागबण्डा र तानातानको स्थिती सृजना गर्दै काठमाण्डौमा नै केन्द्रित रहि कामगर्ने पुरानो परिपाटीलाई समय,परिस्थिती र नेपाली जनतामा आएको राजनितिक चेतनासंगै नेतृत्वमा रहनेहरूले समयानुकुल अगाडी बढाउन सकेन र अगाडी जानका लागि पदिय अंशबण्डाले छेक्यो र पार्टीमा आन्तरिक कलहले प्रसय पाउने अबस्था बन्यो भने यसको प्रत्यक्ष असर नेपाली कॉंग्रेस पार्टी र देशको बिकासमा समेत पर्दछ।

सन्तुष्ट र असन्तुष्टको नाममा हिजो देखि गरिदै आएको मिलीजुली बॉंडीखाने परम्परालाई अन्त्य गर्ने बचनबध्दता १३औं महाधिवेशनको मैदानमा होमिने सम्पुर्ण नेताज्युहरूले एक पटक होईन पटक पटक दोहोर्याउनु भएको थियो, आन्तरिक पार्टीमा झॉंगिएको अस्वभाबिक गतिबिधीलाई यथाशिग्र अन्त्य गर्दै फलानो मेरो र ऊ पराई हो भन्ने सोंच र भावनाले सक्षम, क्षमतावान् र ईमान्दार ब्यक्तिलाई पार्टी भित्र अगाडी बढाउनमा आँच र ठेस् लाग्दछ साथै यस्तो किशिमबाट निर्माणहुने नेतृत्व देश,जनता र पार्टी प्रतिभन्दा पनि ब्यक्तिप्रति बढी बफादार र उत्तरदायी बन्नुपर्ने बाध्यत्मक परिस्थितीले गर्दा नकरात्मक क्रियाकलापहरूले प्रबेश पाउँदछ,यो परिपाटीको समाप्त हुन जरूरी र अपरिहार्य छ, यस्ता बिषयहरूलाई निमिट्यान्न पार्नको निम्ति यो नै नेपाली कॉंग्रेलको लागि उपयुक्त अवसर तथा उत्तम समय हो।

जिल्ला र तल्लो तहहरूमा क्रियासिल नेता तथा कार्यकर्ताहरू समेत जिम्मेवारी र भुमिका पाउनका लागि तडक भडकका साथ टोली बॉंधेर देशका बिभिन्न जिल्लाहरूबाट काठमाण्डौ सम्मको लामोयात्रा तथा नेताहरूको घर घरमा धॉंउदा र त्यहॉं केही नेताका घरमा भएको सचिवालयमा कार्यरत रहने ब्यक्तिबाट हुने अनुत्तरदाही ब्यवहारले कार्यकर्ताहरूको स्वाभिमानमा गहिरो चोट पुगेको महशुष समेत गर्ने गरेको गुनासो छ, साथै जीवनको अमुल्य समय पार्टी र समाजका लागि खर्चियो अनि सेवा गर्ने भुमिका पाउन नेताको नजरमै रहनु र पर्नुपर्ने अबैज्ञानिक,अब्यबाहरिक र अदुरदर्शी वितरण प्रणालीको अन्त्य हुनुपर्दछ। यसले कार्यकर्ताहरूको राजनितिक जिवन समेत अनाबश्यक खर्चिलो भईराखेको छ, महंगो राजनितिले अनियमिता नियन्त्रणमा प्रत्यक्ष रूपमा असर पार्दछ र मितब्ययिता र आर्थिक अनुशासनलाई आत्मासाथ गरिएन भने आर्थिक पहुँच र प्रलोभनका आधारमा पद हत्याउने या दिने दुबै किशिमको वाताबरणले सच्चा कार्यकर्ताहरूको मनोबल गिराउनेछ र पार्टीका सक्षम, लगनशिल,ईमानदार र क्षमता भएका कार्यकर्ताहरूमा राजनिति प्रतिको नै बितृष्णा जन्माउँनेछ, नेपाली कॉंग्रेस पार्टीमा बल,शक्ति र आर्थिक हैसियतका आधारमा नेतृत्वमा पुग्ने प्रबृत्ति र बाताबरण हाबि भएको छ, यसलाई अबिलम्ब सहि हिसाबले संबोधन गर्दै ईतिहास बोकेका, निरन्तर पार्टीमा काम गरेका र लामो समयसम्म कुनैपनि पदमा नपुगेका साथीहरू लाई अगाडी जाने मार्ग प्रसस्त गर्ने जिम्मेवारी यही नेतृत्वको हो, कुनैपनि ब्यक्तिलाई समुह वा गुटका आधारमा अाबश्यक भन्दा धेरै महत्व र जिम्मेवारी दिनु भन्दापनि अबसर पॉंउदा अॉंटका साथ कामगर्न सक्ने र केही गर्न अहिलेनै संम्भब छ भनेर देखाउन कोशिष गरेका उदयमान, आशा र भरोषा जगाएका बिगतमा पार्टी र मुलुकका लागि योगदान गर्दै आएका तथा उज्ज्वल भबिष्यको लागि सुमार्ग देखाउन लागि परेकाहरूलाई सभापतिज्यु र शिर्ष नेतृत्वमा रहनुभएका नेतागण ज्युहरूले पार्टी र सरकारमा भुमिका र जिम्मेवारी दिंदै जॉंदा लोकतन्त्र, नेपाली कॉंग्रेस पार्टी र सिंगो देशको रक्षा र भलो हुन्छ।

अन्त्यमा नेपाली राजनिति र नेताहरूलाई आम नेपाली जनताहरूले बिना कुनै हिच्किचावट सगर्ब सम्मान गर्ने बिश्वसिनिय बाताबरण बनोस् ।

जय नेपाल !

भट्ट नेपाली कांग्रेस महासमिती सदस्य हुनुहुन्छ । – सं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *