२०८१ वैशाख १३ गते | 25th of April 2024

वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने, बिद्धालय खोल्ने निर्णय भएको छैन

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १९ गते १५:००

काठमाडौँ – शिक्षा मन्त्रालयले लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने जनाएको छ।कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेको हो।त्यसका लागि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ आइतबार स्वीकृत गरेको छ।

विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ।‘असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध छ,’ मन्त्रालयले सूचना निकालेर भनेको छ।विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ। ‘विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा अनुरोध गर्दै कोरोना महामारीको अवस्था र परिस्थिति हेरी सरकार, मन्त्रिपरिषदबाट प्राप्त हुने निर्देशनअनुसार पछि जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ।१२ पृष्ठ लामो निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ। इन्टरनेट, रेडियो, टिभी, अनलाइन/अफलाइनबाट पठनपाठन गर्न सकिन्छ।मन्त्रालयले जारी गरेको निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले प्रयोग गर्नुपर्नेछ।

निर्देशिकामा तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षकलगायतका भूमिका समावेश गरिएका छन्।शिक्षकले सिक्ने र सिकाउने कुरालाई सहजीकरण गर्नुपर्नेछ। आफूले पढाउनेबाहेकका विद्यालयका विद्यार्थीको सूचीसमेत शिक्षकले तयार पार्नुपर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *