२०८१ वैशाख ८ गते | 20th of April 2024

फर्काइदै छ विदेशमा अलपत्र परेका नेपालीलाई, उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २३ गते ११:१५

काठमाडौँ-   सरकारले आज देखि  कोरोना भाईरसको संक्रमण   बाट विदेशमा अलपत्र परेका र स्वदेश फर्कनै पर्ने आफ्ना नागरिकलाई नेपाल फर्काउने भएको छ । कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय ५६ नेपालीलाई स्वदेश ल्याउन सकिने भाडासहितको विस्तृत प्रस्ताव बिहीबार पर्यटन मन्त्रालयमा पेस गरेका छन् । पहिलो चरणमा शुक्रबार  विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ ।

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ र भक्तपुरमा एक÷एक हजार क्षमताका बनाइएको छ भने ललितपुरमा ९०० क्षमताका छन् ।सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । काठमाडौँको यती पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।  भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ ।

सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक रुपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ । विदेशमा रहेका नेपाली मध्ये पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) को सारजहाबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको छ । श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका, विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ । ४० हजार हाराहारीका नागरिकले स्वदेश आउन चाहना राखेका छन् ।

विदेशबाट आएका नागरिकलाई सम्बन्धित प्रदेशसम्म पु¥याउनका लागि आवश्यक समन्वय गर्न सरकारले सात मन्त्रीलाई जिम्मेवारी तोकिसकेको छ । जसअनुसार प्रदश नं १ को जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं २ को जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई तोकिएको छ ।

वाग्मती प्रदेशको जिम्मेवारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रदेश नं ५ को जिम्मेवारी ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णाली प्रदेशको जिम्मेवारी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी खानेपानीमन्त्री बीना मगरलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *