२०८१ वैशाख १३ गते | 25th of April 2024

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २७ गते १५:१०

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो । नेपालस्थित सङ्गठनका प्रतिनिधि डा सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् ।कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले पहिले दैनिक सयमात्र गरिने कोभिड–१९ को परीक्षणलाई हजारको सङ्ख्यामा प्रयोगशालाले पुर्याएको समेत बताउनुभयो ।

मन्त्री ढकालले कोभिड–१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताउनुभयो । उहाँले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताउनुभयो । उहाँले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिक रुपमा एक वर्षअघिदेखि काम गरिएको उल्लेख गर्नुभयो ।प्रमाणपत्र दिनुभन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरुको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए । गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरुले प्रक्रिया शुरु गरेको बताउनुभयो ।

यसअघि कोभिड–१९ का पहिलो सङ्क्रमित युवाको स्बावको नमूना परीक्षण गर्नका लागि हङ्कङ पठाइएको थियो । प्रयोगशालाका निर्देशक डा झाले प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेकाले नयाँ भवन बनाएर व्यवस्थित बनाइने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *