२०८१ वैशाख ७ गते | 19th of April 2024

गायिका ममता दिपविमको सांगितिक पुनरागमन (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ९ गते २१:१९

पढाईको शिलसिलामा गायिका ममता दिपविम अमेरिकामा आएर यतै बस्न थालेको १८ वर्ष भएछ । सुरिलो रुख सल्लाई हो…, तारा गन्दै टोलाईरहे…., तिमै यादमा कल्पि कल्पि…., जस्ता लोकप्रिय गीत गाएर चर्चित बनेकी ममता अमेरिकाको बसाईसँगै गुमनाम भईन्। सन १९९९ मा पढाईको लागि यहाँ आएपछि उनको संगीतयात्रामा ब्रेक लाग्यो।

सन् २०१० तिरको कुरा हो। उनको फेसवुकमा एउटा म्यासेज आयो। म तपाईको फ्यान हुँ। तपाईँको स्वर मिठो छ। तपाईँ गीत संगीतमा फर्किनुपर्छ। तपाईँको नाममा मैले फेसवुक चलाएको छु। यसको आईडी पासपोर्ट दिन्छु अब तपाईँ आफैं यसलाई चलाउनुस्। एक जना अन्जान व्यक्तिले यसरी म्यासेज गर्दा उनी शुरुमा त्यति गम्भीर भईनन्। तर जब यो आग्रह दोहोरिएपछि उनले त्यो फेसबुक पेजमा गएर सयर गरिन्। उनको नाममा खोलिएको फेसवुक पेज उनका सम्पूर्ण गीत र उनका फ्यानहरुले दिएका सल्लाह सुझावले भरिएको पाईन्। उनी एक्कासी हराएकोमा उनका फ्यान निकै दुःखी भएका विभिन्न प्रतिक्रिया थिए।

 

स्वर मिठो भएकोले पुनः फर्किन आग्रह गर्दे भरिएका कमेन्ट थिए पेजमा। आफ्नो संगीत जीवनका कुराले भरिएको फेसवुक पेजलाई देखेपछि उनी गम्भीर भएर सोच्न थालिन्। यसरी सोच्दासोच्दै एकदिन उनै अन्जान शुभचिन्तकले गरेको अनुरोध र उक्त फेसवुक पेजले उनलाई उनको गीत संगीतको फ्ल्यासव्याक देखायो र सोच्न बाध्य बनायो।

उनको फल्यास व्याक र उनले सेतोपाटीसँग गरेको कुराकानी अनुसार ५ वर्षको उमेरमा गीत गाउन थालेकी रहिछिन्। विभिन्न बाल गीत प्रतियोगितामा भाग लिएर सुरिलो आवाज दिन्थिन्। विसं २०४८ सालतिरको कुरा हो। उनी ७ कक्षामा पढ्थिन्। त्यति वेलाको रेडियो नेपालको बाल गीत प्रतियोगितामा प्रथम भएको सम्झदै भन्छिन्, सानै उमेरमा नाच्न गाउन मन पथ्र्यो, बुबाले मलाई गाउन प्रोत्साहन गर्नुभयो। उनले गीत संगीतमा साधना गर्ने क्रममा संगितकार शिला बहादुर मोक्तान र गायिका एवम् संगीत क्षेत्रकै प्राध्यापक संगीता प्रधान आफ्नो गुरू भएको र गीत संगीत सिक्ने मौका पाएको बताउँदै उनीहरुलाई सम्झन्छिन्।

उनका बुबा मदन दिव्विम जो लोकप्रिय संगीतकार नै हुन जसले उनलाई यो क्षेत्रमा आउन सहयोग पुग्यो। माथि उल्लेखित तीन वटै गीतमा उनैको संगीत छ। तर, ममताको स्वर आफैंमा जन्मजात जादु थियो र ती गीतहरु लोकप्रिय छन्। उनको स्वरको जादुले बि.सं. २०५० मा टिभीमा गाउने मौका सँगै दर्शकमाझ थप चिनिन थालिन्। अहिलेसम्म ६० भन्दा बढी गीतमा स्वर दिईसकेकी ममताले विसं २०५१ सालमा छिन्नलता पुरस्कार प्राप्त गर्न सफल भईन्।

१८ वर्षकै उमेरमा उनले हङकङ, लण्डन, जापानलगायतका ठाउँमा गएर आफ्नो गीतको कला प्रस्तुत गरेर व्यवसायिक बनिसकेकी थिइन्। उनले यो पेशालाई मुख्य पेशा नबनाएर बिजनेस पढिरहेको र परिवारबाट पनि संगीतमा लागेर जीवन चलाउन गाह्रो हुने भएको बताउँदै राम्रोको लागि अर्कै पेशा रोज्नुपर्ने सल्लाह भएपछि उनले विजनेसकै पढाईको लागि विदेशिने योजना बनाउन थालिन्।

शुरूमा लण्डनमा पढाईको लागि प्रयास गरिन्। अमेरिकामा पनि प्रयास गरिरहेकी उनलाई अमेरिकाबाट विद्यार्थी भिसाको लागि आईट्वाइन्टी शुरूमा आएपछि अमेरिका हानिइन्। क्यालिफोर्नियाको सिटी कलेज अफ सान्फान्सिस्कोबाट पाँच वर्ष लगाएर इन्फरमेसन सिष्टममा अन्डरग्रायाजुएट सिध्याईन्।

पढाई र अमेरिका बसाईका कारण सोखले गरेको उनको गीत संगीतको यात्रालाई साँच्किै ब्रेक लगायो १८ वर्षसम्म। शुरूवातको बसाईमा उनले अमेरिकाका विभिन्न राज्यहरू क्यालिफोर्नियादेखि न्युयोर्कसम्म आफ्नो प्रस्तुति नदेखाएकी होइनन् तर अमेरिकी व्यस्त जीवनशैली र पढ्न भनेर यता आएकाले उनलाई गीतसंगीतमा समय खर्चन त्यति सजिलो भएन। र विस्तारै विस्तारै कम गर्दै हराउन थलिन् गीतसंगीत पेशाबाट।

अमेरिकामा भेटिएका लोकप्रीय गायक दिपेश किशोर भट्टराई उनले पछिल्लो समयमा गीत संगीतमै फर्काउने अर्का प्रेरणाका स्रोत हुन्। क्यानडाको एउटा कार्यक्रममा उनीसँगै भेट भएपछि दिपेशले उनलाई हौसला दिँदै एउटा गीतको लागि संगीत समेत भरिदिएको सेतोपाटीसँगको कुराकानीको क्रममा बताईन्। गायक भट्टराई आफैंमा गतिलै स्वर भएका गायकमध्ये पर्छन्। संगीत कम्पोज गर्ने कलासमेत भएका उनले ममताको पछिल्लो सांगीतिक जीवनमा दिएको साथले कति परिवर्तन गर्नेछ त्यो त हेर्न बाँकी नै छ तर, ममताको लागि त्यो अमूल्य भएको बताईन्। गायक भट्टराईसँगको कम्पोजिसनमा उनले मनको कुरा नामक गीत गाएर भिडियोसमेत भर्खरै सार्वजानिक गरेकी छिन्। उक्त गीतका गीतकार भूपेन्द्र महत हुन् ।

गीतसंगीतमा निरन्तर जम्ने उद्धेश्यले उनी चर्चित गीतकार दुर्गालाल श्रेष्ठ र संगीतकार न्य्हुँ बज्राचार्यसँग काम गरिरहेको बताईन्। हेर न हेर मायालु…. र हिजो म… जस्ता गीतहरुको रेकर्डिडमा अहिले व्यस्त छिन्। उनी भन्छिन् अब गीत रेकर्डिङको लागि नेपाल पनि जानुपर्दैन। गीतको ट्याक इमेल गरेर यता मगाउन सकिन्छ। यसअघि यो सम्भव थिएन। तीन महिना छुट्टयाएर नेपाल जानु पर्थ्यो। प्रविधिको विकासले पनि धेरै सजिलो बनाईथियो।

फेसवुक, यूट्यूव जस्ता मिडियाहरुले अब संसारको जुनै कुनामा बसे पनि आफ्नो कला देखाउन सकिन्छ। यसै अनुकुलताले म पुनः गीतसंगीतमा फर्किने निर्णय लिएकी हुँ, ‘वर्षमा कम्तिमा एक दुइटा गीत रेकर्डिङ गर्नेछु।’

हुनत उनको परिवारले संगीत पेशामा लाग्नै हुँदैन भनेको होइन उनी सम्झन्छिन्, संगीतमा जिविकोपार्जन सजिलो नभएको मेरो बुबा स्वयम् मेरो अगाडि हुनुन्थ्यो त्यसैले मैले पनि यसलाई छोडेर अर्को पेशा रोजेको हुँ।

अमेरिकाकै बसाईमा उनले विवाह गरिन्। विदेशी जस्तो नाम भएका तर नेपाली उनका श्रीमान थिलिन व्लन पनि नेपालमा मोडलिङ क्षेत्रमा थिए। ‘श्रीमानले पनि संगीतमा लाग्न निकै पुस गर्नुभयो तर धेरै समयसम्म सम्भव भएन। अब लाग्नुपर्ने उहाँको बल छ,’ उनी भन्छिन्।

परिवारको साथ त छदैछ तर सवैभन्दा बढी उनको फ्यानले खोलेको उनको फेसवुक पेजले उनलाई गीत संगीतमा फर्किन ठूलो प्रेरणा दिएको बताउँछिन्।

मेरो फेसवुक पेज बनाउने अन्जान फ्यानलाई उनले नाम बताईदिन भनिन् तर जवाफ आएन। उनी उसलाई कदर गर्न चाहन्थिन्। आफ्नो नाम नबताएरै उक्त फेसवुक पेज जिम्मा लगाएर गायव भयो ऊ।

त्यो पेजमा थुप्रैले आफ्नो बारेमा कमेन्ट गरेको भेटिनँ। मिठो स्वर भएर पनि किन गीत गाउन छोडेको भनेर थुप्रै फ्यानहरुले सोधिरहेका रहेछन्। मेरो बारेमा यति धेरै प्रेरणा दिने उसलाई धन्यवाद दिन चाहन्थेँ तर ऊ आफ्नो नाम समेत नभनेर हारायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *