२०८१ वैशाख ७ गते | 19th of April 2024

अमेरिकामा रोकिएका नेपालीहरु जुन २३ र २५ मा नेपाल जानसक्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २ गते ६:१९

अमेरिका –  कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान आगामी जुन २३ र २५ मा चारवटा उडानहरु हुने भएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुशार उडानहरु न्युयोर्क, शिकागो, वासिंटन डिसी र डायलसबाट हुनेछन् ।

जुन २३ मा न्युयोर्कबाट टर्किश एयरलाइन्स नेपालका लागि प्रस्थान गर्नेछ भने सोही मितिमा वासिंटन डिसीबाट कतार एयरवेज नेपालका लागि प्रस्थान गर्नेछ । त्यस्तै जुन २५ मा शिकागोबाट टर्किश एयरलाइन्स नेपालका लागि प्रस्थान गर्नेछ भने सोही मितिमा डायलसबाट कतार एयरवेज नेपालका लागि प्रस्थान गर्नेछ ।

दूतावासमा नेपाल फर्कनका लागि अनलाइनमार्फत भर्म भरेकाहरुको प्राथमिकता क्रम सुची सम्बन्धित हवाई संस्थालाई उपलब्ध गराइने दूतावासले जनाएको छ ।

आफू अनुकुल हुने उडानका लागि सम्बन्धित हवाई संस्थाले तोकेका आधिकारिक एजेन्सीको नम्बरमा सम्पर्क गर्न दूतावासले सुझाव दिएको छ । यसबारे विस्तारमा बुझ्न टर्किस एयरलाइन्सको काठमाडौंमा रहेको ४४३८३६३ ल्याण्डलाइन नम्बर र कतार एयरवेजको काठमाडौंमा रहेको ल्याण्डलाइन नम्बर ४४४०४६७ मा सम्पर्क गर्न सकिनेछ ।

हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी गरिएको यात्रा अनुमतिपत्र अनिवार्यरुपमा साथमा हुनुपर्नेछ । यात्रुहरुको पीसीआर वा आरडीटी टेस्ट नेगेटिभ वा कोभिड १९ को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको प्रमाणको रुपमा पेश गर्नुपर्नेछ ।

यात्रुहरुले नेपाल पुगेपछि नेपाल सरकारले तोके अनुशार क्वारेन्टीनमा रहनुपर्नेछ । टर्किस एयरलाइन्सको भाडादर अमेरिकी डलर १५३७ र कतार एयरवेजको भाडादर अमेरिकी डलर १६ सय रहेको छ । उक्त भाडादर सबै कर जोडेर निर्धारण गरिएको हो ।

टर्किस एयरलाइन्समार्फत नेपाल जान चाहनेहरुले काठमाडौंमा रहेको सी लिंक्स ट्राभल एण्ड टुर्समा सम्पर्क गरेर टिकट लिनुपर्नेछ ।

कतार एयरवेजको हवाई टिकट लिनका लागि विस्तृत विवरण पछि उपलब्ध गराउने दूतावासले जनाएको छ ।

साभार : खसोखास

Leave a Reply

Your email address will not be published. Required fields are marked *