२०८१ वैशाख १५ गते | 27th of April 2024

‘कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ’ : ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ४ गते १५:२२

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माघसम्ममा नेपालमा कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले दसैं-तिहारले संक्रमण थप बढाउन सक्ने भए पनि माघसम्ममा नियन्त्रणमा आउने दाबी पनि गर्नुभयो । नेपालमा विदेशबाट आउने व्यक्तिहरूबाट संक्रमणको जोखिम रहेको भन्दै साउनको अन्त्यसम्म यो अझै माथि पुग्ने प्रधानमन्त्रीको  भनाइ छ।

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्चका विषयमा सन्देह फैलाउने, सबैलाई भ्रष्ट देखाउने र जसरी पनि चरित्र हत्या गर्नेजस्ता  कार्य भएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिलेको सङ्कटका समयमा देश र जनताप्रति बेइमानी गरेको पाइए कडाभन्दा कडा कारबाही गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारको खर्चको विवरण र हिसाब महालेखापरीक्षक लगायत अन्य विभिन्न निकायले राखिरहेको  भन्दै सन्देह फैलाउने र आलोचना मात्र गर्ने कार्य स्वीकार्य नभएको स्पष्ट पार्नुभयो ।सांसदहरूको जवाफमा प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण बढिरहेकोले स्वाब परीक्षण मेसिन थप गर्ने र क्वारेन्टीनको उचित प्रबन्ध गर्न आवश्यक रहेको बताउनुहुँदै कोरोना सङ्क्रमण रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेर नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले कोरोना रूघाखोकीजस्तै भएको  पनि बताउनुभयो । कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने भन्दै प्रधानमन्त्री ओलीले उच्च मनोबल राख्न पनि आग्रह  गर्नुभयो । कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *