२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा ९९ प्रतिशत कोरोनाभाइरसका बिरामी लक्षणविहीन

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २३ गते १४:४७

काठमाडौँ – नेपालमा ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् । नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको   नियमित  मिडिया  ब्रिफिंगमा  सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले    हालसम्म दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेको जनाएको छ ।  निर्देशक डा.  पाण्डेले लक्षण भएका सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा पनि कम रहेको खुलाउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १२ हजार सङ्क्रमितको परीक्षण प्रतिवेदन अध्ययन गरेको छ । डा. पाण्डेले अध्ययन गरिएको प्रतिवेदनमध्ये दशमलब पाँच प्रतिशत मात्रै लक्षण भएको बिरामी फेला परेको बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा हालसम्म २५९ जना सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो । उहाँले काठमाडौंमा १७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो ।
काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन् । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशबाट आउनेलाई अनिवार्य आरटी पीसीआर परीक्षण गरेर विमानमा बस्न दिने निर्देशिका तयार गरियो तर काठमाडौँ विमानस्थलमा उत्रिदा आरडीटी मात्रै गरेको, कुनै परीक्षण नै नगरी कोरोनामुक्त भएको चिठीसहित आइपुगेको देख्यौँ ।”
सरकारी अग्रसरतामा करिब १७ हजार नेपाली विदेशबाट नेपाल आएका छन् । मन्त्रालयका अनुसार १७ हजार नेपाल फर्केकोमा ३५ प्रतिशत आगन्तुकले मात्रै आरटी पीसीआर परीक्षण गरी विमान चढेका छन् । अर्को ३५ प्रतिशत आरडीटी मात्रै गराएका छन् । त्रिभुवन विमानस्थलमा उत्रिदा लक्षण देखिएको र परीक्षण गर्दा सङ्क्रमण पाइएका व्यक्ति पनि फेला परेको डा. पाण्डेले बताउनुभयो । डा. पाण्डेले आगामी दिनमा विदेशबाट उद्धार गर्दा परीक्षणलाई अझै कडाइ गर्नुपर्ने सुझाव दिनुभयो ।
काठमाडौँसहित देशभरि समुदायमा कोरोना सङ्क्रमणको उपस्थिति नरहेको बताउनुभयो । डा. पाण्डेले समुदायमा कोरोना सङक्रमण नरहेको दाबीलाई केही प्रारम्भिक अध्ययनले पनि बल पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “८७ प्रतिशत सङ्क्रमित पुरुष छन्, समुदायमा फैलेको भए श्रीमतीसहित परिवारका अन्य सदस्यमा पनि सङक्रमण हुनुपर्थ्याे ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमै १३ स्थानबाट नमूना सङ्कलन गरेकोमा तीनकुने र नक्खीपाेटका २६८ जनामध्ये एक जनामा पनि सङ्क्रमण पाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *