२०८१ वैशाख १३ गते | 25th of April 2024

काँग्रेसको १४ औँ महाधिवेशन फागुनमै हुने , कार्यतालिका परिबर्तन

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २३ गते १५:००

काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले आगामी फागुनमै  हुने पार्टीको १४ औँ महाधिवेशनको मुख्य कार्यतालिका यथावत् राखी वडादेखि प्रदेशसम्मको कार्यतालिका फेरबदल गर्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि  महामन्त्री पूर्णबहादुर खड्काले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौँमा हुने गरी तय गरिएको केन्द्रीय महाधिवेशनको कार्यतालिकामा भने कुनै परिवर्तन नगरिएको बताउनुभयो ।
सत्तारुढ दलभित्रको विवादका कारण संघीय संसद्को अधिवेशन अन्त्य गरिएकोमा काँग्रेसले आपत्ति प्रकट गरेको छ । महामन्त्री खड्काले सत्ताको कलहसँग काँग्रेसलाई जोडेर गरिएको प्रचारलाई काँग्रेस बैठकले खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।
यसैगरी, विदेशबाट नेपाली ल्याउँदा यात्रुहरूले महँगो भाडा तिर्नु परेको तिर्नुपरेको र खेती गर्ने बेलामा किसानले मल बिउ नपाएकोमा काँग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम पर्याप्त नभएको भन्दै सरकारको आलोचना पनि गरेको छ ।
सलहबाट पीडित किसानलाई राहत उपलब्ध गराउन माग गर्दै र वर्षात् समयमा हुने विपद् व्यवस्थापनका लागि अहिलेबाटै उच्च सर्तकता अप्नाउन सरकारको ध्यानाकर्षण गराएको छ ।केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले पार्टीमा समायोजनको काम सक्न बाँकी रहेका जिल्लालाई साउन १० गतेभित्र सक्न निर्देशन दिएको छ । यसैगरी, फेरबदल गरिएको कार्यतालिका अनुसार, साउन मसान्तमा जिल्ला सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउनुपर्ने छ ।
केन्द्रमा प्राप्त क्रियाशील सदस्यको अन्तिम विवरण तयारी पार्टी सभापतिले हस्ताक्षर गरेको क्रियाशील सदस्यहरुको सूची निर्वाचन समितिलाई बुझाउने अन्तिम मिति मङ्सिर मसान्तभित्र तोकिएको छ । त्यसपछि निर्वाचन समितिले गाउँ नगर, वडादेखि क्रमशः अधिवेशन गराउँदैजाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *