२०८१ वैशाख ७ गते | 19th of April 2024

आधा कर्मचारी मात्र काममा , अनुमतिविना आवागमन गर्न नपाईने

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २७ गते १४:३६

काठमाडौ –  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही प्रतिबन्धहरु पनि जारी गरिएको  छ  ।  फेरि लकडाउन हुने चर्चा भए पनि सरकारले देशव्यापीरुपमा बन्दाबन्दी गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ ।  सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र आवागमनमा रोक लगाएको छ ।

उपत्यकाको हकमा तीन जिल्लाबाहेक अन्यत्र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र वा स्थानीय प्रशासनको अनुमतिविना आवागमन गर्न पाइने छैन । अनुमति दिँदा पनि प्रयोजन खुलाई यात्रा गर्ने व्यक्तिको नामसमेत उल्लेख गरेर परिपत्र पत्र दिनुपर्नेछ । काठमाडौं उपत्यका र २०० भन्दा बढी संक्रय संक्रमित भएको जिल्लामा आधा कर्मचारी मात्र कार्यालयमा बोलाउन र आधालाई वर्क फ्रम होम गर्न भनेको  छ । निर्णयअनुसार सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले विद्युतीय माध्यमबाट सेवा दिनुपर्नेछ । यसका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित गराउन र अन्यलाई घरमै सुरक्षित राखेर काम गर्ने प्रवन्ध गर्न भनिएको छ । विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न नसक्ने र बढी जनसम्पर्क हुने कार्यालयको सेवा प्रवाह स्थगित गरिनेछ ।

मन्त्रिपरिषद्को बैठकले नेपालीहरुलाई भारतबाट आउने प्रवेश विन्दुलाई २० बाट घटाएर १० मा झारेको छ । अब झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाका माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुका कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफान्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र नेपालीहरु नेपाल आउन सक्छन् । यसरी आएकाहरुलाइै प्रवेश विन्दु रहेकै जिल्लामा क्वारेन्टिन गर्ने सरकारको निर्णय छ । गैर नेपालीहरुका लागि स्थलमार्गबाट नेपाल प्रवेशमा भदौ ३१ गतेसम्म पूर्ण रोक लगाइएको छ । सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारले अत्यावश्यक बाहेक कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, भेलाजस्ता सामूहिक जमघट नगर्न भनेको छ । साथै धार्मिक स्थलहरमा दैनिक नित्य पूजा बाहेक अरु गतिविधि नगर्न र चाडपर्व घरभित्र मनाउन भनेको छ । होटलहरुमा ‘टेक अवे’ सेवा मात्र दिने पाउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *