२०८१ वैशाख ८ गते | 20th of April 2024

नेम्बाङको सम्झनामा गाँउपालिकाद्वारा स्रष्टा सम्मान पुरस्कारको स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २८ गते ३:१९

पाँचथर – फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका अभियन्ता स्वर्गीय अमर नेम्बाङ लिम्बूको जन्म जयन्तीको अवसर पारेर फाल्गुनन्द गाँउपालिकाले स्थापना गरेको “एकलाख धनराशिको” ‘स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मान ’ मार्फत तीनजना साहित्यकार सम्मान सहित पुरस्कृत भएका छन ।

यही साउन २३ गते स्व.नेम्बाङको ७९ औं जन्म जयन्तीको अवसर पारेर वितरण थालिएको  ‘स्वर्गीय अमर नेम्बाङ
स्रष्टा सम्मान २०७७ ’ बाट ५० हजार नगद र ताम्रपत्र सहित सुनसरी निवासी प्राध्यापक डा. भीम खतिवडा, अमर नेम्बाङ युवा स्रष्टा पुरस्कार २०७७ को नगद ४० हजार र सम्मान पत्र सहित पाँचथर फिदिम १० का मधुराज केरुङ तथा अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार २०७७ मार्फत नगद १० हजार र प्रशंसा पत्र सहित पाँचथर फाल्गुनन्द २ की मञ्जु नेम्बाङ पुरस्कृत  भएका छन्।

पुरस्कृत स्रष्टाहरुलाइ, प्रमूख अतिथि लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुनबाबु माबोहाङ, विशेष अतिथि पूर्व राज्य मन्त्री तथा संविधानसभा सदस्य  श्री प्रसाद जबेगू, फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष वीरवहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे, नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ,साहित्यकार प्रकाश थाम्सुहाङ, प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्री, लगायतले बधाई एवं पुरस्कार,सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुका साथै, स्व नेम्बाङका जीवनीका बारेमा चर्चा गरेका थिए । सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केहेरसि. चेम्जोङ, जनता समाजवादी पार्टी पाँचथरका अध्यक्ष लक्ष्मण लावती, सन्देश सुब्बा, देवेन्द्र सत्याम, गजलकार महेन्द्र विरही, युगल सुनुवार, समदर्शी काइला, सुरेन्द्र लामिछाने, गायक खड्ग बोहोरा लगायतका सर्जकहरुले रचना वाचन, स्व.नेम्वाङको चर्चा तथा सम्मानित व्यक्तिहरुलाई बधाई समेत दिएका थिए । उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि आम सर्वसाधरणका साथै तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका साहित्यकर्मी लगायत सर्जकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा इको राइटर स्व. अमर नेम्बाङ लिम्बूको सम्झनामा स्थापित स्रष्टा सम्मान कार्यक्रमको थालनि गरेकोमा फाल्गुनन्द गाँउकार्यपालिकालाई सबै बक्ताहरूले धन्यवाद व्यक्त गर्दै, निरन्तरताको कामना समेत गरेको कुरा कार्यक्रमका सह-आयोजक नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरका महासचिव प्रेम ओझाले वताए । आयोजक सहोनाम्लाङ साहित्य समाजका अध्यक्ष क्षितिज बिरहीको अध्यक्षतामा भएको उक्त स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रमको अवसरमा अतिथिहरुलाई आयोजक संस्थाहरू द्वारा मायाको चिनो समेत प्रदान गरेको थियो ।

उनको स्मृतिमा स्थापित अमर नेम्बाङ ट्रष्टले पनि विविध सामाजिक कार्यको लागि र छुट्टै साहित्यिक पुरस्कार स्थापना गरी गत वर्षदेखि वितरण शुरुवात गरेको छ ।

राजनीतिज्ञ तथा साहित्यकार एवं समाजसेवी स्व. नेम्बाङले तीनै क्षेत्रमा पुर्याएको योगदानलाइ जीवन्त राख्न दिवंगत जनप्रतिनिधि तथा स्रष्टाका नाममा यत्तिका राशीको पुरस्कार वितरण गर्ने गाँउपालिकाको निर्णयलाई सबै स्रष्टाहरु र फाल्गुनन्दवासीले सराहनीय भनेका छन ।

को हुन् अमर नेम्बाङ ?
अमर नेम्बाङ नेपाली साहित्यका एक बिशिष्ट स्रष्टा हुन् । उनी इको राइटिङका अभियन्ता थिए ।उनको संस्मरणात्मक निबन्धहरुको संगालो ‘सम्झनाका तरेलीहरु’ मा इको राइटिङको उत्कृष्ठ प्रयोग पाइन्छ । उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवशान’ कविता कृति प्रकाशित छन् । उनका दर्जनौं लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् । पाश्चात्य साहित्यको गहीरो अध्ययन गरेका स्व.नेम्बाङको लेखन उच्च कोटिको मानिन्छ।

स्व.अमर कुमार नेम्बाङको जन्म वि.सं.१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बावु स्व.नयेन्द्रराज ( नरबिर) नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो । आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन शुरू गरेका स्व. नेम्बाङले St. Robert’s Higher Secondary School Darjeeling , West Bengal बाट 1961 मा हाइस्कुल पास गरेका थिए र St.Joseph’s College North Point Darjeeling बाट 1966 मा Bachelor of Arts सकेका थिए। (1969) २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति हुन् ।

आफ्नो मात्र प्रगतिले गाउँ,समाज र गाउँलेको जीवनमा कुनै परिवर्तन ल्याउन सक्दैन भन्ने मान्यता बोकेका नेम्बाङले जीवनका उर्जाशील जवानीहरू लोकतान्त्रिक व्यवस्था प्राप्तिसंगै गाउँ र गाउँलेको उन्नति र प्रगतिको निमित्त गाउँमै समर्पित गरेका थिए । त्यसैले केहि समय अमेरिकामा बसोबास गरेका बाहेक उनको जीवनको ठूलो भाग भने गाउँकै सेवामा बितेको थियो । वि.सं.२०३३ सालमा जनपक्षीय उमेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका स्व. नेम्बाङ पटक–पटक तत्कालीन पौवासारतापमा नेकाको तर्फबाट गाविस अध्यक्ष निर्बाचित भएका थिए । उनी वि.सं.२०७४ सालको स्थानीय तह निर्बाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष निर्बाचित भई जनताको सेवामा सक्रिय थिए ।

अमर नेम्बाङको परिचय त्यो थियो, जो बौद्धिक मात्र होइन, आफ्ना उमेरका हरेक क्षण राजनीतिसँग जोडिएर गाउँबाट कहिल्यै टाढा बस्न मन नगर्ने व्यक्तित्व । जनप्रतिनिधिविहिन द्वन्द्वकालका केही बर्ष बाहेक राजनीतिक जिम्मेवारीबाट कहिल्यै पाखा बस्नु नपर्ने गरी स्थानीय नागरिकबाट अनुमोदित व्यक्ति । जीवनका उत्तरार्धमा वातावरणीय साहित्यमा गहन पदार्पण गरेका प्रकृतिप्रेमी साहित्यकार ।
जसले सधैं साना वालवालिका देखि वृद्धासम्मलाई एकै व्यवहार र सम्मान दिने गर्थे ।

उनी अथवा निवर्तमान गाउँपालिका प्रमुख स्व. अमर कुमार नेम्बाङले ७५३ वटै स्थानीय तहको सरकार मध्ये फाल्गुनन्द गाउँपालिकामा मात्र पहिलो पटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा संचालन गरेकाले देशभर चर्चामा रहेका थिए ।

स्व.नेम्बाङको फाल्गुनन्द गाउँपालिका ५ नं. वडा कार्यालयले २०७५ साल माघ २६ गते आयोजना गरेको सार्वजनिक कार्यक्रममा आफ्नो मन्तब्य सकेर ड्यासमा फर्कने क्रममा अचानक बेहोस भइ केहि बेरमै उनको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *